• ३ असार २०८१, सोमबार

काठमाडौँ महानगरको मतपत्र छापियो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १९ गते । काठमाडौँ महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र छाप्ने कार्य पूरा भएको छ । निर्वाचन आयोगले छ महानगर र भक्तपुर जिल्लाको मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मात्रै छाप्ने जनाएको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले काठमाडौँ महानगरको तीन लाख र भक्तपुर जिल्लाको एक लाख ५० हजार मतपत्र छापिएको जानकारी दिनुभयो । 

निर्वाचन कार्यक्रमबमोजिम वैशाख १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको थियो । निर्वाचन आयोगले त्यसलगत्तै काठमाडौँ महानगर र भक्तपुर जिल्लाका उम्मेदवारको अन्तिम नामावलीबमोजिम मतपत्र डिजाइन गरी छाप्न निर्देशन दिएको थियो । 

काठमाडौँ महानगरपालिकामा ५६ दलले चुनावमा भाग लिएका छन् । प्रवक्ता पौडेलले भन्नुभयो, “उम्मेदवारी दिएका दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न राखेर मतपत्र छाप्ने कार्य पूरा भएको छ ।” सोमबारदेखि ललितपुर, विराटनगर, वीरगञ्ज, पोखरा र भरतपुर महानगरपालिकाको मतपत्र छापिने आयोगले जनाएको छ । 

६१ जिल्लामा ढुवानी सम्पन्न

निर्वाचन आयोगका अनुसार ६१ जिल्लाको मतपत्र ढुवानी सम्पन्न भएको छ । प्रवक्ता पौडेलले हालसम्म एक करोड २३ लाख मतपत्र ढुवानी भइसकेको जानकारी दिनुभयो । “मधेस र बागमती प्रदेशअन्तर्गत काठमाडौँ वरिपरिका केही जिल्लाको ढुवानी बाँकी छ,” उहाँले प्रस्ट्याउनुभयो । आयोगको अनुमानभन्दा बढी उम्मेदवारी परेको मधेसका केही जिल्लाको मतपत्र पुनः छाप्नुपर्ने आयोगले जनाएको छ । प्रवक्ता पौडेलले करिब आठदेखि १० पालिकाको मतपत्र पुनः छाप्नुपर्ने बताउनुभयो ।