• १२ साउन २०८१, शनिबार

मतदाता सूचीमा नाम नहुँदा अध्यक्ष पदको उम्मेदवारी रद्द

blog

रद्द गरिएको उम्मेदवारको मतदाता परिचयपत्र ।

बोदेबर्साइन समाचारदाता  

बोदेबर्साइन (सप्तरी), वैशाख १९ गते । मतदाता सूचीमा नाम नभएका कारण सप्तरीको रूपनी गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवारको मनोनयन दर्ता रद्द भएको छ ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट जिल्लाको रूपनी गाउँपालिका अध्यक्ष पदमा अरुणकुमार साहले मनोनयन दर्ता गर्नुभएको थियो । निर्वाचन आयोगले बिहीबार साहको मनोनयन रद्द गरेको हो । २०७० को संविधान सभा निर्वाचनमा मतदान गरेको ठाउँमा आफ्नो नाम हटेको विषयमा साह आश्चर्यचकित हुनुभएको छ । 

२०७४ को निर्वाचनमा आफू कैदमा भएका कारण आफ्नो मताधिकार प्रयोग गर्न नसकिएकोले मतदाता परिचयपत्र अद्यावधिक हुन नसकेको साहले बताउनुभयो । जेलबाट  छुटेपछि भुलवश तीन ठाउँबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता हुन पुगेको साहले बताउनुभयो तर दोहोरो मतदाता नामावलीबाट नाम हटाउने क्रममा निर्वाचन आयोगबाट तीनवटै ठाउँको दर्ता हटेको साहले बताउनुभयो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीका अनुसार साहको उम्मेदवारीलाई लिएर बुधबार परेको दाबी विरोधमाथि छानबिन गर्ने क्रममा मतदाता नामावलीमा नाम नै नभेटिएपछि साहको उम्मेदवारी रद्द भएको हो ।

कुनै पनि गाउँपालिका, नगरपालिकाको उम्मेदवार हुन उम्मेदवारको सोही पालिकाको मतदाता नामावलीमा नाम अनिवार्य हुनुपर्ने स्थानीय तह निर्वाचन निर्देशिका २०७३ मा उल्लेख छ । यसरी आयोगले जारी गरेको मतदाता सूचीमा साहको नाम समावेश नभएकाले उम्मेदवारी रद्द गर्न‘परेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताउनुभयो ।

निर्वाचन आयोग मतदाता नामावली सङ्कलन निर्देशिकाले मतदाता सूचीमा परेको दोहोरो, तेहेरो दर्ता हराउने क्रममा एउटा पछिल्लो दर्ता राखेर बाँकी हटाउनुपर्ने सुझाएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश जोशीले जानकारी दिनुभयो । 

“मतदाता अधिकारसम्बन्धी निर्वाचन आयोगले गरिएको पटक–पटकको सूचनाअनुसार आफ्नो मतदाता परिचयपत्रको अद्यावधिक वा समस्या समाधानमा निर्वाचन आयोगसँगै नागरिक स्वयं सचेत हुनुपर्ने हो । यदि एउटै नराखी मिस्टेकले पनि त्यस्तो तीनवटै ठाउँबाट हटाइएको छ भने त्यसको जिम्मेवार निर्वाचन आयोग हुने हो”–प्रमुख जोशीले भन्नुभयो ।