जीवछ यादव
लहान, वैशाख ८ गते । लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम निर्माणकार्य सुरु भएको छ। लहानको मुख्य बजारदेखि करिब आठ किलोमिटर उत्तर–पश्चिम, धार्मिक पर्यटकीय स्थल मानिकदह जाने बाटोमा सरे खोलाको दक्षिणी किनारमा रहेको १० कठ्ठा जग्गामा सोमबार धार्मिक विधिपूर्वक भूमिपूजा गरी निर्माणकार्य सुरु गरिएको हो।
वृद्धाश्रम निर्माणस्थलको करिब तीन सय मिटर पश्चिमतर्फ कृष्ण मन्दिर निर्माणकार्य पनि भइरहेको छ। मन्दिर र वृद्धाश्रमको बिचमा पोखरी खनी त्यसमा गोल (जाइठ) राख्ने पूजा समेत गरिएको छ। उक्त कार्यक्रममा वडा नं. २४ का वडाध्यक्ष रासलाल राय, लहान नगरप्रमुख महेशप्रसाद चौधरी तथा वृद्धाश्रम निर्माणका लागि पहल गर्ने महिला मानवअधिकारकर्मी रीता महतोले संयुक्त रूपमा भूमिपूजा गर्नुभयो।
वृद्धाश्रम निर्माणका लागि लहान नगरपालिकाले १० कठ्ठा जग्गा उपलब्ध गराएको छ भने भौतिक पूर्वाधार कार्यालयबाट चालु आर्थिक वर्षमा २५ लाख रुपियाँ विनियोजन गरिएको छ। थप बजेटका लागि वडा कार्यालय, नगरपालिका तथा मधेश प्रदेश सरकारसँग समन्वय गरिने नगरप्रमुख चौधरीले जानकारी दिनुभयो।
लहान–२४ मा रहेको धार्मिक पर्यटकीय स्थल मानिकदहसम्म पुग्न सरे खोलामा पुल निर्माण अन्तिम चरणमा पुगेको छ। सो क्षेत्रमा कृष्ण मन्दिर निर्माण, स्थानीय कृषकको मागअनुसार हाटबजार सञ्चालनको तयारीलगायत गतिविधिले विकासले गति लिएको स्थानीय मानवअधिकारवादी राजकुमार राउतले बताउनुभयो।
वडाध्यक्ष रायका अनुसार सडक, खानेपानी, पर्यटकीय स्थल मानिकदहमा मन्दिर निर्माण, सिँचाइ, अस्पताल तथा विद्यालयजस्ता पूर्वाधार विकासका काम जनचाहनाअनुसार अघि बढिरहेका छन्। पुल निर्माणमा स्वर्गीय पूर्व सांसद प्रदीप गिरीको योगदान, साथै मानवअधिकारकर्मी राजकुमार राउत र रीता महतोको भूमिका सराहनीय रहेको स्थानीयवासीले कार्यक्रममा उल्लेख गरेका थिए।
वृद्धाश्रम र कृष्ण मन्दिर निर्माणस्थलमा केही दिनअघि स्थानीयवासीले श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न गरी सो क्षेत्रको नाम ‘पुलचोक’ राखिएको अर्का स्थानीय बलिराम यादवले जानकारी दिनुभयो।