• ८ वैशाख २०८३, मङ्गलबार

फिलिम–लार्केपास पदमार्गमा पाँच दिन खच्चड आवतजावत बन्द

blog

गुणबहादुर रोका
सुलीकोट, वैशाख ८ गते ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावत अस्थायी रूपमा बन्द गरिएको छ। पदमार्ग स्तरोन्नतिको काम तीव्र रूपमा अघि बढिरहेका कारण पाँच दिनका लागि खच्चड ओहोरदोहोर रोकिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेका अनुसार वडा नं. ५ को राना गाउँ क्षेत्रमा पर्ने उक्त पदमार्गमा ढलान तथा रेलिङ निर्माण कार्य भइरहेकोले मंगलबारदेखि निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न खच्चड सञ्चालनमा रोक लगाइएको हो।

वैशाख ८ गतेदेखि १२ गतेसम्म खच्चड आवतजावत पूर्ण रूपमा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिनुभयो। उहाँका अनुसार पदमार्ग स्तरोन्नति सम्पन्न भएलगत्तै स्थानीय, व्यवसायी तथा पर्यटकका लागि पदमार्ग पुनः सहज रूपमा सञ्चालन गरिनेछ।

मनुब्री गाउँपालिका दुर्गम भौगोलिक अवस्थाका कारण अझै सडक सञ्जालसँग पूर्ण रूपमा जोडिन सकेको छैन। यहाँ दैनिक उपभोग्य वस्तु, खाद्यान्न, औषधि तथा निर्माण सामग्री ढुवानीका लागि खच्चड नै प्रमुख साधनका रूपमा प्रयोग हुँदै आएको छ। यस्तो अवस्थामा खच्चड आवतजावतमा अस्थायी रोक लगाउँदा स्थानीय जनजीवनमा केही प्रभाव पर्ने देखिएको स्थानीयवासीले बताएका छन्।

गाउँपालिकाले भने दीर्घकालीन रूपमा सुरक्षित, सहज र गुणस्तरीय पदमार्ग निर्माणका लागि केही दिन धैर्य गर्न आग्रह गरेको छ। साथै खच्चड व्यवसायीलाई निर्धारित अवधिसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा ढुवानी कार्य स्थगित गर्न सूचना जारी गर्दै अनुरोध गरिएको छ।