याङ्गन, असार २९ गते । म्यान्मारका उद्धारकर्ताहरूले व्यावसायिक केन्द्र याङ्गुन नदीमा डुङ्गा दुर्घटनामा परेका १२ वर्षीया बालिकासहित पाँच जनाको शव भेटिएको स्थानीय अग्नि नियन्त्रण सेवाले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमले जानकारी गराएअनुसार उक्त डुङ्गा बुधबार अर्को जहाजसँग ठोक्किएपछि याङ्गुन नदीमा डुबेको थियो ।
“उद्धारकर्ताहरूले नदीबाट पाँच जनाको शव फेला पारेका छन्”, अग्नि नियन्त्रण सेवाले सेवाले शुक्रबार राति फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
तीन जना पुरुष, एक १६ वर्षीय बालक र एक १२ वर्षीया बालिकाको शव याङ्गुन जनरल अस्पतालमा पठाइएको विज्ञप्तिमा जनाइएको छ ।
अल्पविकसित यातायात र कमजोर रूपमा लागू गरिएका सुरक्षा नियमहरूका कारण म्यान्मारमा डुङ्गा दुर्घटनाका घटनाहरू सामान्य छन् । रासस/एएफपी