आज उसलाई केही खोज्नु थियो तर के ? यो निक्र्योल भएको थिएन । यसैले त्यही केही कुराको खोजीमा बाहिर निस्कियो ऊ । घरको गेटबाट बाहिर निस्क्यो र एक पटक टक्क अडिएर सोच्यो– अब जाने कहाँ ? एउटा यस्तो ठाउँ; जुन नजिक पनि होस् र जहाँ जे खोज्न पुगिएको हो; त्यो कुरा पनि भेटियोस् । ‘चाबहिल !’ झट्ट दिमागमा ध्वनित भयो । चाबहिल उसको घरबाट नजिकै भए पनि त्यहाँ नगएको धेरै महिना भइसकेको थियो । आज उसलाई त्यतै जान मन लाग्यो र पाइला अगाडि बढायो ।
ऊ १० पाइला जति लम्केको मात्र के थियो; केही भुले जस्तो लाग्यो उसलाई । घर फर्केर जाऊँ– उसले सोच्यो । उसलाई फर्कन भने जाँगर लागेन र त्यसै अगाडि बढूँ भने कतै मूल चुचुरोबाट पानी खसे जस्तो आकाशबाट बिस्तारै झर्दै गएका पानीका थोपाहरूले ऊ रोकिन बाध्य भयो । अनि एकातिर ओत लागेर माथि आकाशतिर ताकेर हेरिरह्यो, मनमा केही कुरा खेलाइरह्यो । अनि उसलाई के लागेर हो, केही क्षण एकोहोरो आकाशमा हेरिसकेपछि लम्कियो चाबहिलतिर छाता नलिईकनै ।
बाटामा विभिन्न आकृतिमा हिँडिरहेका मानव रूपहरू; जसलाई देखेर लाग्थ्यो– तिनीहरू बिनाउद्देश्य नै लखर लखर हिँडिरहेका थिए । भन्ने नै हो भने काम त उसको पनि त्यस्तो केही थिएन; चाबहिल पुग्नुपर्ने त बहाना मात्र थियो । बहाना के भन्ने ? उसले केही खोज्न भनेर निस्कँदा स्थानको निर्धारण चाबहिल नै भनेर गरेको थियो अर्थात् जे कुरो खोजिन जाँदै थियो; त्यो खोजिने कुराको ठाउँ यहीँ भने मानिदिँदा भयो । बरु खोजिएको वस्तु पाउला नपाउला, खोज्नका लागि ठाउँ त पाइयो भन्ने खुसी पनि यहाँनेर लिँदा भयो ।
उसको घर जोरपाटी । केही दिन भयो, ऊसँग समय फालाफाल थियो । आज ऊ ठीक १३ दिनपछि घरबाहिर निस्केको थियो । यहाँ के कुरा स्पष्ट गरिदिऊँ भने वास्तवमा ऊ घरमा कुनै काम भएर वा बिरामी भएर बसेको थिएन । उसले केही दिनअघि नराम्ररी धोका पाएको थियो र त्यही धोकालाई शोक मनाउन घरमा कोचिएर बसेको थियो । धोका भन्नाले प्रेममा धोखा । हो, त्यही धोका पाएपछि धोकाले कतिसम्म पीडा देला; त्यसको अनुभव गर्न घर बसेको थियो ऊ । जसरी मान्छे १३ दिन किरिया बस्ने गर्छन् ।
अब यति बेला ऊ थोत्रा गाडीहरूका प्याँ प्याँ र पँु पँुका आवाजहरूलाई छिचोल्दै पुग्यो ठुलो चोकमा । एकछिन टक्क अडियो त्यहाँ । ठुलो आकासे पुल आँखामा देखा प¥यो उसको । ‘ओहो ! यति चाँडो नै खडा भएछ त यत्रो पुल ?’ मनमनै प्रश्न ग¥यो । प्रश्न लिएर ऊ एक पटक पुल चढ्यो । केही आनन्द भए जस्तो पनि लाग्यो उसलाई यो समय । केही समयभित्रै व्यर्थ पनि लाग्न थाल्यो यही समय ।
पुलबाट ओर्लिएर अलि पर पुग्यो । त्यहाँ ट्राफिक जाम भएको थियो । त्यहाँ पुगेर उसले देख्यो, ट्राफिक पुलिस र एक मोटरसाइकलको विवाद हुँदै थियो ।
“देखिनस्, यत्रो रातो बत्ती बलेको; झुक्याएर
भाग्ने ?” बाटो छेकेर मोटरसाइकलको साँचो खोस्दै थियो ट्राफिक प्रहरी । “सर, हिजोसम्म त यहाँ यो ट्राफिक लाइट नै थिएन ।” पानीले भिजेर कामिरहेको कुकुर जस्तो काम्दै थियो ठिटो । यो सुनेर सँगैको खम्बामा हे¥यो उसले पनि । नभन्दै त्यहाँ कुनै अग्लो–दुब्लो व्यक्तिको निहुरिएको टाउको जस्तो लड्नै लागेको खम्बामा झुन्डिएको बत्ती देख्यो । रातो, पहँेलो र हरियो बत्ती बल्दै गरेको । बर्सौंपछि राखिएको ट्राफिक बत्ती, जसमा कति पटक ऊ पनि झुक्किएको थियो ।
उसले फर्केर त्यतातिर हे¥यो । सायद लेनदेनको कुरा मिलेर होला, त्यो केटो त्यहाँ देखिएन । चोकको बिचमा रहेको पुलमुन्तिर गार्ड जस्तै पाराले उभियो ऊ अब । छेउमै बेच्न राखेको मालभोग केरालाई हेर्दै मस्ँिकदै गए भर्खर उमेरका दुई महिला । नाङ्लो पसलेको ‘केरा लिनुस्, ठुलो र स्वादिलो छ यो’ भन्ने तरिकाले पनि हुन सक्छ; ती दुई मस्किएका । हुन पनि केरा बेच्नेको योे भन्ने तरिका अलिक रसिक नै थियो ।
पुलका सिँढीहरूमा अलपत्र छरिएर भिख माग्न बसिरहेका थिए केही मान्छे । त्यस सिँढीमा ओर्लने र उक्लनेको सङ्ख्या लगभग बराबर जस्तो देखिन्थे । रत्नपार्कमा पनि यस्तै पुल थियो र त्यहाँ हुने गरेका अनेकाँै व्रिmयाकलापबारे एक पटक सम्झियो उसले । के थाहा, यस पुलमा झन् त्यहाँको भन्दा बढी हुन्थ्यो कि गतिविधिहरू । इच्छा रत्नपार्कको पुलमा पुगेपछि मात्र जन्म लिन्छ भन्ने हुन्छ र ! यही सिँढीमाथि केही भेट्टाउन पो ऊ घरबाट निस्केको थियो कि । ऊ बिस्तारै उक्लियो । विभिन्न अनुहारका मानिस; केही समस्याले ग्रसित, केही अभावको खडेरी परे पनि अभ्यस्त हुँदै बाँच्न सिकिसकेका जस्ता । त्यस्ता मान्छे त्यहाँ अटाइ नअटाइ देखिन्थे ।
श्वास नै रोकिएको जस्तो भयो । मान्छेहरूको शरीरबाट निस्केको एक प्रकारको अमिलो गन्धले रन्थनियो एकछिन ऊ त्यहाँ । पुलको छेउमा गएर सहारा लियो र लामो सास फे¥यो उसले । बाटोमा ‘पैसाले खुसी किन्न सकिन्न’ लेखिएको ठुलो होर्डिङ बोर्ड देख्यो; जसमा एक ठुलो व्यापारीले रातो पहिरनमा दुई हात जोडेर बसेको फोटो थियो । लेख्न त त्यहाँ यस्ता आदर्शवादी धेरै कुरा लेखिएका थिए तर उसको आँखा भने ‘पैसा र व्यक्ति’ को फोटोमा मात्र गएर अड्कियो । कारण उक्त व्यक्तिलाई उसले राम्ररी चिन्दथ्यो । ती मान्छे व्यापारीबाट आज सन्न्यासी किन र कसरी भए भन्दा पनि ‘पैसाले खुसी किन्न सकिन्न’ भनेर लेखिएको कुरामा उसको ध्यान गइरहेको थियो । उक्त व्यापारीका मुखबाट यस्ता आदर्शका कुरा निक्लिँदा उक्त प्रवचन सुनेर बस्ने झक्तहरू कति प्रभावित हुँदा हुन्, उसले यो पनि सोच्यो । एक पटक हाँस्यो भित्रैबाट । हाँसो किन त ? लेखिएका शब्दले हँसायो कि रातो पहिरनमा भएको व्यक्तिले हँसायो कि आफँैमाथि ? जे पनि हुन सक्थ्यो तर यी सबै कुरालाई पन्छाएर फेरि एक पटक उसले सोच्यो, किनभने अहिलेलाई उसका लागि मुख्य कुरा भनेकै केही खोज्नु थियो । त्यसैका लागि ऊ आज घरबाट निक्लेर यहाँ आइपुगेको थियो । त्यसैले ऊ यस्ता सामान्य कुरामा आफैँलाई गाँठो पार्न चाहँदैनथ्यो ।
“के हेरे टोलाइरहेको ? अलिक उता गएर उभिऊ त,” हातले धकेल्दै एक अधबैँसे महिलाले भनी ।
ऊ अलि अगाडि सरेर उभियो र ती महिलातिर हेर्न थाल्यो । भड्किलो हिन्दी गीतमा ‘टिकटक’ का लागि आफूलाई तयार पार्दै थिई उक्त महिला । राँैहरूले भरिएका काला खुट्टा । नमिलेको शरीर र पसिनाले लतपतिएर झन् नसुहाउँदो देखिएको अनुहार । उसको दिमागमा ती महिलाको कस्तो कस्तोे छाप बस्न पुग्यो यस बखत ।
“छाती र पछाडिको पार्टलाई बढी फोकस गर है । जसरी पनि एक हजार लाइक ल्याउनु पर्छ” भन्दै नमिलेको शरीर थर्काउन थाली ती महिलाले ।
शालीनता खोजेर, त्यसको अस्तित्व पाइन्छ र यस्तो भिड, यस्तो वातावरणमा !तल बाटोमा ट्राफिकले फुकेको सिट्ठीको कर्कश ध्वनिले उसको ध्यान भङ्ग भयो । कालो चस्मा लगाएर एकहोरो सिट्ठी फुक्दै गरेको ट्राफिक देखेर उसलाई कस्तो कस्तो लाग्यो । यस्तो घाममा अव्यवस्थित यातायातलाई व्यवस्थित पार्न खटिएका प्रहरी जवान । गाह्रो छ गरी खान । यो सोच्दासोच्दै एक पटक फेरि त्यही ठुलो होर्डिङ बोर्डमा लेखिएका शब्दहरूमा उसको नजर पुग्यो ।
त्यो हेरेर ऊ केही कल्पँदै थियो, त्यही बेला उसको बगलबाटै केही संवादको ध्वनि सुनियो ।
“पीडाले झन् झन् बढी दुःख दिइरहेका छन् । कहिले चुनाव आउला जस्तो भइसक्यो,” पहिलो ध्वनि ।
“कस्तो पीडा ? पीडासँग चुनावको के सम्बन्ध ?” दोस्रो ध्वनि ।“खल्ती रित्तोको पीडा । चुनाव र पीडाको सम्बन्ध नङ र मासु जस्तै हुन्छ । चुनाव हुने दिन त पक्का होस् । अनि आफैँ बुझ्नेछस्,” पहिलो ध्वनि ।
“त्यसो हो भने त भगवान्लाई भाकल नै गर्छु । चुनाव चाँडो होस् भनेर,” दोस्रो ध्वनि । बाटोछेउमा थुनिएको फोहोरको डङ्गुरलाई हेर्दै देशका कर्णधार युवा गन्थन गरिरहेको उसले सुन्यो । सामाजिक प्राणीबाट राजनीतिक प्राणी बन्दै गएको हो वा राजनीतिले ग्रसित गरेको समय हो यो; उसले सोच्यो तर निर्णय भने गर्न सकेन । राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, यस्ता कति कति उपमा उसले सोच्यो तर त्यसमा उसले केही पाएन; जुन आज उसले पाउने आशाले यहाँ आइपुगेको थियो ।
त्यही बेला पुलको एक कुना, जहाँ मान्छेहरूको ध्यान त्यति गएको थिएन; त्यता उसको आँखा भने गयो । त्यहाँ एक जोडी चुम्बनमा लिप्त थिए । यो देखेर ऊ एक पल्ट त झुक्कियो । रात परिसकेको थिएन । सूर्यले आफ्नो गति कायम राखेरै उज्यालो छरिराखेको थियो तर लज्जा र सङ्कोचबिना उनीहरू माया साटासाट गरिरहका थिए । उनीहरूलाई अँध्यारो हुन आवश्यक भएन । त्यस बेला अँध्याराको के आवश्यकता ? अँध्याराको सिर्जना मात्र गरिदिए पुगिहाल्यो वा मानिदिए पुग्यो ।
त्यहाँबाट पनि उसको नजर मोडियो । अब उसको नजर त्यतातिर प¥यो, जताबाट गीतको ध्वनि आइरहेको थियो ।‘भेटिनु छुटिनु त के हो र, संसारको रीत हो ।
नदिनु साथ कसैको अब, अन्तै छ मन भने ।’
अरुणा लामाको गीत गाइरहेको एक अन्धो व्यक्ति, जसको अगाडि सहयोगका लागि राखिएको सानो भाँडो । उसले हे¥यो, त्यो भाँडो खाली थियो । थाहा छैन, कति घण्टादेखि यहाँ बसेर गाइरहेको थियो गीत । अवहेलित र पीडित व्यक्ति । उसको बाटो हेरेर कुरिबसेका होलान् घरमा परिवार । दयामाया भन्ने सबैतिर मरिसकेका हुन् त ? आपैmँलाई एक पटक उसले सोध्यो । जवाफ थिएन, बरु अलि पर पुगेर उभियो– साँच्चि, जति आफूलाई तल्लोस्तरमा झार्न सक्यो उति उपल्लो दर्जा पाउने देश हो यो । ऊ भावावेशमा आएर उक्त अन्धो व्यक्तिको हातमा केही नोट थमाएर अगाडि बढ्यो ।
पारिपट्टि रहेको बुद्धको स्तूपाको दुई आँखाले उसलाई हेरिरहेको उसले देख्यो तर ती दुई आँखाले आज कहीँकतैबाट आकर्षण गर्न सकिरहेको हुँदैन । मृत्युपश्चात् सम्झिने यो देश । उसले अघिको आफ्नो प्रश्नमा जवाफ फ्याट्ट यही सोच्यो ।
इमानदार र सोझा व्यक्तिलाई यहाँ बाँच्न गाह्रो । देशभक्तिका नाममा शोषण भइरहेको । यी सबैमा हामी जस्ता कठपुतली भएको जनता । पड्कन नसक्ने खोव्रmा बाँसहरू । ऊ एक्कासि आवेशमा आएर दारा किट्न थाल्यो तर ... ।
अनुमानबिना नै पर्न थालेको पानी देखेर ऊ सचेत भयो । कारण छाता थिएन ऊसँग । वर्षाको समय घाम लाग्नु र पानी पर्नुको कुनै टुङ्गो हुँदैन । एकछिनमा मडारिँदै आएका काला बादलले आफ्नो उग्रचण्डी रूप देखाउन थालिसकेको थियो । अब यस्तो बेला के गर्ने ? घर फर्कने ? या अभैm हिँड्ने ? उसले निर्णय गर्न सकेन किनभने उसले अझै जे कुरा खोज्न आएको हो, त्यो भेटिएको थिएन । एकछिन यताउति गरिरह्यो । त्यसै भौँतारिरह्यो । साँच्चि, उसले फर्कने वा आफ्नो खोजी जारी नै राख्ने हो कि; यो निर्णय लिन सकेको अवस्था थिएन ।
आखिरमा सधैँ झैँ रित्तो हात र रित्तै मन लिएर फर्कन बाध्य भयो ऊ । ऊ जे कुरा खोज्न निस्केको थियो, त्यो एउटा गतिलो विषयवस्तु थियो; जुन उसले लेखिन लागेको कथाका लागि आवश्यक थियो । यसरी रित्तो भएर फर्किए पनि भोलि अवश्य यहाँ आइने छ भनेर उसले एउटा निर्णय भने ग-यो– अब गतिलो विषयवस्तु नभेटिएसम्म कथा भने लेखिन्न ।