निकै बितेछन् दिन, मास, वर्ष,
चल्दैगयो यो मनमा विमर्श
आयो झझल्को खरका धुरीको,
त्यो राजधानी अलकापुरीको !
सम्झेँ जसै कान्तिपुरी उज्यालो,
झन् झन् उज्यालो, मनको दियालो ।
दौडेर जाऊँ अनि मुस्कुराऊँ,
नयाँ, पुराना कविता सुनाऊँ !
ओर्लें जसै कान्तिपुरी धरामा,
गुन्केसरी देखिनँ खै गह्रामा !
यो वाटिकामा चपला कमै छन्,
न तेजिला ती शुरवीर नै छन् ।
समुद्रपारी सब नौजवान,
रित्तै भएछन् घरका दलान,
जहाज हेर्दै सब लाममा छन्,
सन्तान कुर्दै शव लाममा छन् ।
खाना विदेशी छ लुगा विदेशी,
भाषासँगै संस्कृति झन् विदेशी ।
आफ्नो कलाको जयगान छैन,
आफ्नो अलग्गै पहिचान छैन ।
यो दुर्दशा दिक्क भएर हेरेँ,
र खुइøय गर्दै जब सास फेरेँ,
विषाक्त हावा भरियो गलामा,
निसासिँदै ढुन्मुनिएँ पलामा ।
गर्मी बढ्यो हप्प सुकेछ ओठ,
दही, मही खोज्न कता छ गोठ ?
झलक्क सम्झेँ जल बाग्मतीको,
देखेर तर्सें ढल बाग्मतीको !
न शुद्ध भाषा, न त भेष नै छ
न शुद्ध हावा, परिवेश नै छ !
न श्रापकै मोचन भो सतीको,
के हाल सोधौँ अमरावतीको ?
दुखाउँदै चित्त बसेँ टुसुक्क,
सोध्यो कसैले नजिकै खुसुक्क !
देखेँ असाध्यै विरही, विरक्त,
फर्केर आयौ किन भानुभक्त !
साहित्य–भाषामय बीज रोपेँ,
अनेक पीडा, अपमान खेपेँ,
हुर्कन्छ पक्कैपनि यो बगैँचा,
चिटिक्कको हेर्न बनोस् फलैँचा !
बुढो म माली कति गर्न सक्छु ?
आशा छ सद्भाव त भर्न सक्छु !
नानी ! त्यसैले त झरेँ म आज,
माली कहाँ बिर्सन सक्छ वाग ?