• १२ साउन २०८१, शनिबार

सुदूरपश्चिमको विपत् प्रतिकार्य कार्ययोजना तयार

blog

कैलालीको भजनीमा भएको डुबान। फाइल तस्बिर : नेपाली सेना

अविनाश चौधरी

धनगढी, असार २८ गते। सुदूरपश्चिम प्रदेश सरकारले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना २०८१ तयार पारेको छ।  

वर्षा याममा हुन सक्ने बाढी, कटान, पहिरो, सडक अवरोध, दुर्घटनालगायत विभिन्न प्रकोपलाई दृष्टिगत गरी प्रकोप पूर्व अपनाइने सावधानीका उपायहरु, खोज तथा उद्धार, प्रभावितलाई राहत वितरणका आधारभूत विषयलाई समेटेर प्रदेश मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना  तयार पारिएको हो। 

कार्य योजनामा विपत् पश्चात् गर्न सकिने मानवीय सहयोग एवम् पुनःनिर्माण र पुनस्र्थापनाको क्षेत्रमा गर्न सकिने आधारभूत विषय पनि समावेश गरिएको छ। विपत् प्रतिकार्य कार्ययोजना स्वीकृत भइहसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले जानकारी दिनुभयो। 

मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजनाको मुख्य उद्देश्य यस प्रदेशमा मनसुन अवधिभर हुन सक्ने सम्भावित प्रकोपहरुको आँकलन गरी आवश्यक तयारी तथा प्रतिकार्यका लागि न्यूनतम आधार तयार गर्ने रहेको जनाइएको छ। 

विपत् जोखिम न्यूनीकरण र प्रतिकार्यका सम्पूर्ण क्रियाकलाप प्रभावकारी बनाउने, विपत् जोखिम तथ्याङ्कको आधारमा यसवर्षको सम्भावित जोखिम आँकलन गर्ने, विपतबाछ प्रभावित हुन सक्ने जनसङ्ख्याको पूर्वानुमान र सोको लागि तयारी गर्ने कार्ययोजनाको उद्देश्य छ। सम्बन्धित विषयगत क्षेत्रको मनसुन पूर्व तयारी र प्रतिकार्य कार्ययोजना अद्यावधिक गरी एकीकृत गर्ने र विपत्को क्षति कम गर्न स्थानीय तहको विपत् व्यवस्थापन कार्यमा सहयोग गर्ने जनाइएको छ। 

प्रदेशमा यसवर्ष मनसुनजन्य विपत्तिका घटनाबाट ५३ हजार ३६२ घरधुरीका दुई लाख ३३ हजार १९० जनसङ्ख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ।