• १६ भदौ २०८१, आइतबार

युक्रेनलाई आवश्यक रहेसम्म फ्रान्सको सहयोग रहने राष्ट्रपति म्याक्रोँको भनाइ

blog

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ

वासिङ्टन, असार २८ गते । फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सम्मेलनमा छलफल भएका विषयवस्तुमा प्रभावकारीरूपमा प्रस्तुति दिनुभएको र फ्रान्सले युक्रेनलाई दिँदै आएको समर्थनमा आगामी दिनमा पनि कत्ति पनि कमी नआउने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार बताउनुभएको छ ।

म्याक्रोँले भन्नुभयो, “वासिङ्टनमा जारी नाटोको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन ‘जिम्मेवारपूर्ण र सावधानीपूर्वक’ प्रस्तुत हुनुभएको थियो ।” नाटोलाई दिने सहयोगको सम्बन्धमा फ्रान्स आफ्नो अडानबाट पछि नहटेको र समर्थन जारी रहन उहाँले बताउनुभयो ।

म्याक्रोँले पत्रकारसँग भन्नुभयो, “हिजो रात्रिभोजमा राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने मौका मिल्यो । मैले मुद्दाहरूका विषयमा सधैँजसो स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत भएको अमेरिकी राष्ट्रपतिको रूपमा मैले उहाँलाई पाएँ ।” 

फ्रान्सेली राष्ट्रपतिलाई बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी समकक्षी भ्लादिमिर पुटिनको रूपमा परिचय गराउनुभएको बारे पनि प्रश्न गरिएको थियो । म्याक्रोँले भन्नुभयो, “हामी सबै कहिलेकाहीँ चिप्लिन्छौँ । यस्तो अनुधव मसँग पनि छ भोलिका दिनमा फेरि हुन सक्छ ।”

दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि राष्ट्रपति बाइडेनबाट भएको यो गल्तीले उहाँको उमेर र मानसिक तीक्ष्णताको बारेमा डेमोक्र्याटिक पक्षधर नेताहरूबीच थप चिन्ता बढाएको छ ।  सो अवसरमा फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताउनुभएको थियो । रासस/एएफपी