• ३ असार २०८१, सोमबार

निर्वाचनका बेला बाँकेको जमुनाहा नाका ७२ घण्टा बन्द गरिने

blog

सिराज खान
नेपालगञ्ज, वैशाख १८ गते ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ ।

भारतको कतर्नियामा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकले खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भन्दै ७२ घण्टासम्म सीमा नाका बन्द  गर्ने निर्णय गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीका अनुसार निर्वाचनका बेला नाका सिल गर्नुका साथै दशगजा क्षेत्रमा कडाइ गरिनेछ । त्यस्तै, दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने, ४८ घण्टाअघि दुई देशका सीमाक्षेत्रमा मदिराको बेचविखन र सेवनमा रोक लगाउने निर्णय भएको प्रजिअ खत्रीले बताउनुभयो ।

बैठकमा बाँकेका प्रजिअ खत्री, बर्दियाका प्रजिअ बन्धुप्रसाद बास्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरु र भारततर्फ बहराइच र श्रावस्तीका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखलगायत सीमा सुरक्षा बलका उच्च अधिकारीसहितको सहभागिता थियो ।

यसैगरी, बैठकमा जङ्गली जनावरको अवैध पैठारी, काठ तस्करी, लागूऔषधको कारोवार, मानव बेचविखनलगायतका विषयमा पनि छलफल भएको छ ।