• १२ साउन २०८१, शनिबार

नेपाल भाषाको ‘तिबः दी सपोर्ट’

blog

काठमाडौँ, असार २६ गते । नेपाल भाषाको चलचित्र ‘तिबः दी सपोर्ट’ अहिले हरेक शनिबार प्रदर्शन भइरहेको छ । मुख्यतः ज्येष्ठ नागरिकको कथाव्यथा हो, ‘तिबः दी सपोर्ट’ । अध्ययनका लागि अमेरिका र क्यानडा पुगेका युवाको कथासमेत चलचित्रमा चित्रण गरिएको छ ।

चलचित्रका निर्माता सर्जु रञ्जितका अनुसार विश्वज्योति चलचित्र भवनमा हरेक शनिबार ‘तिबः दी सपोर्ट’ दुई सो भइरहेको छ । उहाँले नेपाल भाषामा स्तरीय चलचित्र बनाउने लक्ष्य अनुसार ‘तिबः दी सपोर्ट’ निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नयाँ पुस्ताले आफ्नो आमा, बुवा तथा परिवार छाडेर विदेश पलायन हुने बाध्यतालाई चलचित्रको माध्यमबाट देखाउन खोजेका छौँ । त्यसरी युवा बिदेसिँदा नेपालमा ज्येष्ठ नागरिकले अनेकन् दुःख पाएको घटनालाई चलचित्रमा उतारिएको छ ।”

नेपाल भाषाका चलचित्रको बजार सानो छ । यद्यपि विदेशमा पनि चलचित्रको छायाङ्कन गरिएको छ । चलचित्रले लगानी मात्र उठाए पनि सो रकमबाट अर्को चलचित्र निर्माण गरेर नेपाल भाषाको चलचित्र क्षेत्रमा योगदान दिने योजना उहाँको छ ।

रवि सायमिले निर्देशन गर्नुभएको सो चलचित्रमा ओमशङ्कर श्रेष्ठ र सुशील राजोपाध्यायले पटकथा लेख्नुभएको छ । राजोपाध्याय आशाकाजी धकूसँगै प्रमुख भूमिकामा हुनुहुन्छ । चलचित्रमा सङ्घरत्न शाक्य, कृष्णभक्त महर्जन, भीमसेन रिजाल, पुष्कर माथेमा, सर्जु रञ्जित, सरस्वती मानन्धर, सुनिता श्रेष्ठ, मैया मुनिकार महर्जन, सुलोचना मानन्धर श्रेष्ठलगायतको अभिनय रहेको छ । चलचित्रको अमेरिकामा भएको छायाङ्कन रोशन श्रेष्ठले गर्नुभएको छ ।