• १६ भदौ २०८१, आइतबार

रूसी अदालतद्वारा नाभाल्न्यालाई गिरफ्तारीको आदेश

blog

मस्को (रूस), असार २६ गते । मस्कोको एक अदालतले दिवंगत विपक्षी राजनीतिज्ञ अलेक्सी नाभाल्नीकी पत्नी युलिया नाभाल्न्यालाई उहाँ देशमा नरहेको समयमा पक्राउ आदेश दिएको उहाँका प्रवक्तालाई उद्धृत गर्दै मङ्गलबार सिएनएनले जानकारी गराएको छ ।

मस्कोको बासमनी जिल्ला अदालतले नाभाल्न्यालाई ‘चरमपन्थी सङ्गठनमा संलग्न भएको’ आरोप लगाएको प्रवक्ता किरा यर्मिसले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको हो ।

नाभाल्न्याको नाम पनि अन्तर्राष्ट्रिय ‘वाञ्छित सूची’मा समावेश गरिएको रूसी सञ्चारमाध्यम आरआईए नोभोस्तीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

अदालतले नाभाल्न्यालाई थप हिरासतमा राख्न रूसको अनुसन्धान समितिको अनुरोधलाई अनुमति दिएको छ । विज्ञप्तिमा नजरबन्दको अवधि रूसी क्षेत्रमा सम्भावित उहाँको नजरबन्दबाट गणना गरिनेछ । यद्यपि नाभाल्न्या भने अहिले रूसभन्दा बाहिर बस्दै आउनुभएको छ ।

चरमपन्थी समुदायलाई उक्साएको तथा वित्त पोषण गरेको विभिन्न अपराधमा दोषी ठहर गरेपछि १९ वर्षको सजाय भोगिरहनुभएका नाभाल्नीको साइबेरियाको जेलमा गत फेब्रुअरी १६ मृत्यु भएको थियो ।

उहाँलाईँ पहिले नै अपराध र अन्य अभियोगमा अधिकतम सुरक्षा सुविधामा साढे ११ वर्षको सजाय भएको थियो । उहाँले भने आरोपहरू अस्वीकार गर्नुभएको थियो र यसलाई राजनीतिबाट प्रेरित पनि भनिएको थियो ।

उच्च–प्रोफाइलका रूसका विपक्षी नेता नाभाल्नीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै वर्षौँ बिताउनुभएको थियो । उहाँको मृत्यु मार्च १५ मा सुरु हुने रूसको राष्ट्रपतीय चुनावको केही हप्ता अघि भएको थियो । रासस/एएनआई