• १६ भदौ २०८१, आइतबार

बाजुरामा ८० प्रतिशत रोपाइँ सम्पन्न

blog

धान रोपाइँ गर्दै बाजुराका स्थानीय । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, असार २६ गते । बाजुरामा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा जेठ पहिलो हप्तादेखि धान रोपाइँ सुरु भए पनि लामो समयसम्म परेको खडेरीका कारण असार तेस्रो हप्तासम्म आइपुग्दा ८० प्रतिशत धान रोपाइँ भएको हो ।

नौ वटै स्थानीय तहको असार २६ गतेसम्म ८० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । खोला किनार जमिनमा जेठ पहिलो साताबाट सुरु भएको रोपाइँ कुलो नलाग्ने ठाउँमा भने साउन दोस्रो हप्तासम्म धान रोपाइँ हुने गरेको जगन्नाथ गाउँपालिका –२ का वडा स्थानीय कृषक बीसु सार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यहाँका अधिकांश जमिनमा सिँचाइको सुविधा छैन । खोला किनारको जमिनमा जेठमै रोपाइँ हुने गरेको भए पनि सिँचाइ सुविधा नभएको ठाउँमा भने आकाशे पानीको भरमा साउन दोस्रो हप्ता रोपाइँ हुन्छ ।”

यतिबेला लामो समयदेखि परेको खडेरीका कारण यहाँका स्थानीयले जेठमा राखेको धानको बीउ बेर्ना सबै सुकेर नष्ट भएपछि रोपाइँ ढिला भएको सार्कीले बताउनुभयो ।

बाजुराको बडिमालिका, बूढीनन्दा, त्रिवेणी, खप्तड छेडेदह, बुढीगङ्गा, गौमुल, स्वामिकार्तिक, जगनाथ, हिमालीलगायतका केही ठाउँमा जेठ दोस्रो हप्ताबाट रोपाइँ सुरु भएको कृषि ज्ञान बाजुराका कार्यालय प्रमुख भूमिराज उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिन छ । यो मध्ये २८ हजार १३५ हेक्टर मात्र खेतीयोग्य जमिन छ ।” बाजुरामा २७ हजार १६० हेक्टर जमिन छ । यसमध्ये बाजुरामा ७ हजार ३०३ हेक्टर जमिनमा मात्र धान रोपाइँ हुने गरेको प्रमुख उपाध्यायले बताउनुभयो ।