• १२ साउन २०८१, शनिबार

दक्षिण कोरियामा कर्मचारीद्वारा अनिश्चितकालीन हड्तालको घोषणा

blog

सियोल, असार २६ गते । दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्समा कार्यरत दशौँ हजार कामदारको प्रतिनिधित्व गर्ने एक युनियनले व्यवस्थापनलाई वार्तामा ल्याउन बाध्य पार्न आफ्नो हडताललाई अनिश्चितकालका लागि लम्ब्याउने बुधबार घोषणा गरेको छ । युनियनले यसअघि तीन दिने हडतालको घोषणा गरेको थियो ।

यो हडताल समसुङ कम्पनीको इतिहासमा सबैभन्दा ठुलो श्रम अवरोधको काम हो । चिप्स बनाउने विश्वकै केही प्रमुख कम्पनीमध्ये सामसुङ पनि एक हो र हडतालले विश्व बजारमा सामसुङको तर्फबाट आपूर्ति हुने चिप्सको व्यवस्थापनमा दबाब बढाउँछ । कम्पनीले गत हप्ता ठुलो दोस्रो त्रैमासिक सञ्चालन मुनाफा वृद्धिको भविष्यवाणी गरेको थियो ।

नेशनल सामसङ इलेक्ट्रोनिक्स युनियनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “व्यवस्थापन कुरा गर्न इच्छुक नभएपछि हामी जुलाई १० देखि दोस्रो अनिश्चितकालीन आमहडतालको घोषणा गर्छौं ।’’

तलब र सुविधाका लागि लामो समयदेखि चलेको सङ्घर्षको एक हिस्साका रूपमा तीनदिने हडतालका लागि सोमबार पाँच हजारभन्दा बढी सदस्यले हडतालमा सहभागी भई काम गर्न छोडेका छन् ।

युनियनको यो हडताल जूनमा एक दिनको ‘वाकआउट’पछि आएको हो । दशकौंसम्म सङ्घसङ्गठन बिना चलेको कम्पनीमा पहिलो पटक सामूहिक विरोधसहित काममा अवरोध पारिएको छ ।

आन्दोलनरत युनियनमा ३० हजारभन्दा बढी सदस्य छन् जुन कम्पनीको कुल कार्यबलको पाँच भागको एक भागभन्दा बढी हो । सामसुङले बुधबार एएफपीलाई दिएको जानकारीअनुसार हडतालले उत्पादनमा कुनै असर पार्ने छैन ।

“सामसुङ इलेक्ट्रोनिक्सले उत्पादन लाइनमा कुनै अवरोध नआओस् भन्ने सुनिश्चित गर्नेछ,” कम्पनीका प्रवक्ताले एएफपीसँग भन्नुभयो । उहाँले भन्नुभयो, “कम्पनी युनियनसँग असल विश्वासको वार्तामा संलग्न हुन प्रतिबद्ध छ ।”

तर युनियनले उत्पादनमा स्पष्ट व्यवधान आएको दाबी गर्दै हडताल जति लामो समयसम्म जारी रह्यो, त्यति नै व्यवस्थापनलाई असर पर्ने बताएको छ ।

“अन्ततः उनीहरू घुँडा टेकेर वार्ताको टेबलमा आउनेछन् । हामी जितमा पूर्ण आशावादी छौँ,” विज्ञप्तिमा भनिएको छ । युनियनले सामसुङ व्यवस्थापनले हडतालमा अवरोध पुर्‍याएको आरोप लगाउँदै आफूहरू वार्तामा सहभागी हुन इच्छुक नदेखिएको बताएको छ ।

यसले ‘अझै पनि हिचकिचाउन’ थप कर्मचारीसहित कामदारहरूलाई सहभागी हुन आग्रह गरेको छ ।

उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य र विजयलाई अगाडि बढाउन तपाईंको दृढ सङ्कल्प आवश्यक छ । आउनुहोस्, हामी हाम्रा अधिकारहरूको रक्षा गर्न र राम्रो भविष्य निर्माण गर्न हाम्रो शक्तिलाई एकताबद्ध गरौं ।”

युनियनले जनवरीदेखि नै व्यवस्थापनसँग वार्ता गरिरहे पनि दुवै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् ।

युनियनले यसअघि वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनसलगायतका माग राख्दै ५.१ प्रतिशत तलब वृद्धिको प्रस्ताव अस्वीकार गरेको छ ।

काउन्टरप्वाइन्ट रिसर्चका रिसर्च भाइस प्रेसिडेन्ट नील शाहले एएफपीसँग भन्नुभयो, “हडतालको असर हडतालको अवधि, उत्पादन अवरोधका दिन र पुनः प्राप्त गर्ने रणनीतिसहितका विभिन्न कारकमा निर्भर गर्छ ।”

उहाँले थप्नुभयो, “सामसुङ व्यवस्थापनले यो हुन सक्छ भनेर कसरी तयार गरेको छ र पहिले नै यसलाई छिटो समाधान गर्न के गृहकार्य गरेको छ यसले क्षतिको सम्भावना कति हुने कुरा निर्धारण गर्छ ।”

आलोचकहरूका अनुसार, सामसुङ इलेक्ट्रोनिक्सले लगभग ५० वर्षसम्म विश्वको सबैभन्दा ठुलो स्मार्टफोन र सेमिकन्डक्टर निर्माता बन्नको लागि काम गरेका आफ्ना कर्मचारीहरूलाई युनियन खोल्न दिएको थिएन ।

सन् १९८७ मा निधन भएका कम्पनीका संस्थापक ली बियुङ–चुलले युनियनको कडा विरोध गर्दै भन्नुभएको थियो, “जबसम्म मेरो आँखामा कसिङ्गर पर्ने छैन तबसम्म म कहिल्यै पनि युनियन खोल्नलाई अनुमति दिन्नँ ।”

सन् २०१९ मा सामसुङ इलेक्ट्रोनिक्सको पहिलो प्रभावकारी श्रमिक युनियन गठन भएको थियो ।

त्यसको केही समयपछि नै सामसुङ इलेक्ट्रोनिक्सका संस्थापकका नाति तथा वर्तमान अध्यक्ष ली जे–योङले सन् २०२० मा कम्पनीको युनियनविहीन सिद्धान्त अन्त्य भएको घोषणा गर्नुभएको थियो ।

सामसुङका तत्कालीन उपाध्यक्ष लीले सामसुङको श्रम नीतिले बदलिँदो समयको माग पूरा गर्न नसकेको बताउनुभयो ।

यो कम्पनी दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङ समूहको प्रमुख सहायक कम्पनी हो, जुन एसियाको चौथो ठुलो अर्थव्यवस्थामा व्यवसायमा प्रभुत्व जमाउने परिवार–नियन्त्रित समूहहरूमध्ये सबैभन्दा ठुलो हो ।

जेनेरेटर एआईको बढ्दो मागसँगै सामसुङले हालै आफ्नो दोस्रो त्रैमासिक सञ्चालन मुनाफामा १५ गुणाभन्दा बढी वृद्धिको भविष्यवाणी गरेको छ । रासस/एएफपी