• २० असोज २०८१, आइतबार

कालीगण्डकी कोरिडोर अवरुद्ध

blog

कालीगण्डकी कोरिडोरमा खसेको पहिरो । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, असार २४ गते । कालीगण्डकी कोरिडोर पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण कोरिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डका विभिन्न स्थानहरूमा पहिरो खसेर सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो ।

शुक्रबार सो सडक खण्डको गरगरे, मुल्क, पातीखोला र बरल्वामा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको उहाँको भनाइ छ । निरन्तर रूपमा पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको दर्लामीले बताउनुभयो । सोमबार दिउँसोबाट पानी पर्ने क्रम रोकिएकाले पहिरो पन्छाउने काम भइरहेको उहाँले बताउनुभयो । कोरिडोर अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी साधन भने चल्न सकेका छैनन् ।

निरन्तर परेको वर्षाका कारण रुद्धवेनी वामीटक्सार सडक खण्ड पनि बन्द रहेको प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । यस्तै, तम्घास रिडी सडक खण्डको बिरवासमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।  

साना गाडीहरू जानसक्ने भएपनि ठुला गाडीहरू पार गर्नका लागि समस्या छ । पहिरो पन्छाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । ग्रामीण स्तरका भित्री कच्ची सडकहरू भने अवरुद्ध भएका छन् ।

वर्षायामको समयमा बाढी पहिरो आउन सक्ने भएकाले चनाखो बन्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले गुल्मेलीहरूलाई आग्रह गर्नुभएको छ । यदि कुनै समस्या परेमा  तत्काल नजिकको प्रहरी कार्यालय वा प्रशासनमा खबर गर्नका लागि आग्रह गर्दै विपद्मा उद्धारका लागि सुरक्षाको टोली तयारी अवस्थामा रहेको उहाँको दाबी छ ।