सिराज खान 
नेपालगन्ज, असोज २० गते । बाँकेको कोहलपुरमा एक करोड २५ लाखको लागतमा अत्याधुनिक शवदाह गृहको निर्माण सुरु गरिएको छ । कोहलपुर नगरपालिका—११ स्थित डुडुवा र रोहिनी खोलाको छेउमा निर्माण सुरु गरिएको सो शवदाह गृहको आइतबार कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्य, उपमेयर सङ्गीता सुवेदी लगायतले शिलान्यास गर्नुभयो ।
सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर आचार्यले शवदाह निर्माण भएपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्म गएर शव अन्त्येष्टि गर्नुपर्ने झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने बताउनुभयो । उहाँले थप्नुभयो, ‘कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्येष्टिका लागि राप्तीसोनारीको अगैया र बर्दियाको बबईसम्म समेत लग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो, अव त्यो अवस्थाको अन्त्य हुनेछ ।’
प्रारम्भिक रूपमा करिब एक करोड २५ लाख बढीको बजेटबाट निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको मेयर आचार्यले बताउनुभयो ।
नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले गरिब तथा विपन्न परिवारमा कसैको मृत्यु हुँदा शव अन्त्येष्टि गर्न लैजान नै महँगो पर्ने अवस्थाको कोहलपुर शवदाह गृहले अन्त्य गर्ने बताउनुभयो । तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कोहलपुर शवदाह गृहको शिलान्यास गरिएको शवदाह गृह निर्माण समितिका संयोजक चक्र अधिकारीले जानकारी दिनुभयो ।
सो शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइने छ । त्यहाँ मलामीहरू बस्नका लागि अत्याधुनिक भौतिक संरचना बनाइने छ भने शौचालयको पनि व्यवस्थापन गरिने छ । निर्माण समितिका संयोजक अधिकारीका अनुसार कोहलपुर शवदाह गृह निर्माणका लागि एभरेष्ट बैङ्कले ५० लाख रुपियाँ सहयोग गरिसकेको छ भने ग्लोबल बैङ्क र गोल्छा ग्रुपले पनि सहयोगको प्रतिबद्धता जनाइसकेका छन् ।
शिलान्यास कार्यक्रममा कोहलपुर नगरपालिकाका उपमेयर सङ्गीता सुवेदी, वडा नम्बर ११ का वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, स्थानीय अगुवा बज्जु थारु र सुशीला शाही लगायत कोहलपुर क्षेत्रका विभिन्न राजनीतिक दलका नेताहरू, जनप्रतिनिधिहरू, समाजसेवी, स्थानीयबासी तथा पत्रकारहरूको सहभागिता रहेको निर्माण समितिका सचिव कृष्ण प्रसाद आचार्यले बताउनुभयो ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                