• २० असोज २०८१, आइतबार

बर्तौलाको प्रश्न, ‘गोजीको राजीनामा कहाँ पुग्यो’

blog

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौला सदनमा धारणा राख्नुहुँदै ।

गोरखापत्र अनलाइन

काठमाडौं, असार २४ गते । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनेर प्रश्न गर्नुभएको छ । सोमवार प्रतिनिधिसभा बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले सो जिज्ञासा गर्नुभयो । 

सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताउनुभयो । उहाँले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गर्नुभयो । उहाँले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँखाने कथा सुनाएपछि राजीनामा खुत्रुकेमा हालेको टिप्पणी गर्नुभयो । 

उहाँले मन्त्रीलाई आफू पदमा बसुन्जेल कुन–कुन फाइल खोल्नुपर्ने हो खोल्नका लागि चुनौती दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री आज पनि कुर्सीमा आसीन हुनुहुन्छ । केही मन्त्रीहरु हुनुहुन्छ । हिजो सरकार बहुमतमा थियो । सरकार चलिरहेको थियो । केही राजनीतिक पार्टीका मन्त्रीहरु सरकार बहुमतमा भएको बेलामा, सरकार चलिरहेको बेलामा गोजीमा राजीनामा हालेर, बोकेर हिँड्नुहुन्थ्यो । तर सरकार स्पष्ट अल्पमतमा परेको भए पनि साथीहरुको गोजीमा भएको राजीनामा कहाँ पुग्यो ?

’कुन–कुन फाइल कसरी खोल्नुपर्ने हो, तपाईंहरुले धम्की मात्र दिएर पुग्छ ? यो संसद्को हार्डडिस्कमा मात्र सुरक्षित छैन । हाम्रा दिमागमा पनि सुरक्षित छ । तपाईंले आज खोल्छु भनेका फाइल किन खोल्नुभएन ? भोलि राष्ट्रिय सरकार बनेपछि ती सूचना तपाईंले दिनुपर्छ’ उहाँले भन्नुभयो । प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्रीले बालुवाटारमा बसेर सरकार गठनको संवैधानिक प्रावधानलाई बङ्ग्याउन खेतीपाती गरिरहेको बताउनुभयो ।