• १९ असोज २०८१, शनिबार

राप्तीको बाढी बाघखोर पस्यो, गाउँ जोखिममा

blog

खतराको बिन्दु पार गरेर दक्षिणतर्फ बग्दै गरेको राप्ती नदी । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २२ गते । दुई दिनदेखि निरन्तर भइरहेको अविरल वर्षाले राप्ती नदीमा आएको बाढी बाँकेका गाउँबस्तीमा पसेको छ । राप्ती नदीको पानीले खतराको बिन्दु पार गरेपछि गाउँबस्तीमा बाढी पस्न थालेको हो । 

सो नदीको बाढीले गर्दा कुसुममा रहेका गाउँहरू डुब्न थालेको प्रहरीले जनाएको छ । राप्ती सोनारी गाउँपालिका –१ अन्तर्गत गर्ने कुसुमस्थित बाघखोर गाउँमा बाढी पसेको स्थानीय प्रेम सुनारले बताउनुभयो । 

उहाँले शनिवार दिउँसो बाढी गाउँमा पस्दा स्थानीय खुमलाल रावत, शालिकराम भण्डारी, राजकुमार रावत, गर्भे बिक, रमेश भण्डारी, धर्मबहादुर ओली, चोपा ओली, रोवर ओलीको घर डुबानमा परेको बताउनुभयो । 

राप्तीसोनारी –१ अन्तर्गत पर्ने कुसुमका अन्य विभिन्न गाउँहरू पनि डुबानको उच्च जोखिममा रहेको स्थानीयले बताएका छन् । राप्तीको बाढी खतराको चिन्हभन्दा माथि पुगेको छ । 

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो २ बजेको रेकर्डअनुसार राप्ती नदीमा पानीको सतह ७ मिटर १५ सेन्टिमिटर पुगेको छ । कुसुमस्थित बाढी मापन केन्द्रमा पानीको सतह ७ मिटर पुगेपछि राप्तीको तल्लो तटीय क्षेत्रमा डुबान हुने गर्छ । 

पानीको सतहले खतराको बिन्दु पार गरेपछि अब ५ घण्टामा बाढी राप्तीसोनारी, डुडुवा र नरैनापुरका गाउँहरूमा पुग्ने र त्यहाँ धेरै गाउँ डुबानमा पर्ने खतरा बढेको छ । 

राप्ती नदीको सतहले खतराको चिन्ह पार गरेपछि उद्धारका लागि सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको जनाउँदै तटीय क्षेत्रका बासिन्दालाई सतर्क गरेर सुरक्षित स्थानमा सार्न थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका प्रजिअ रिजालले राप्तीमा पानीको सतह क्रमिक रूपले बढिरहेकाले जिल्लामा ठुलो बाढीको आशङ्का बढेको हुँदा उद्धारमा खटिने सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखेर सबै तयारी पूरा गरिएको बताउनुभयो । 

सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित ब्यारेजका ढोका आवश्यकताअनुसार खोल्न लगाएको पनि उहाँले जानकारी दिनुभयो । राप्तीको बाढी बढेपछि सिक्टा सिँचाइ आयोजनाको ब्यारेजका ढोका पनि क्रमशः खोलिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताउनुभयो । 

सिक्टाको कुल १८ वटा ढोकामध्ये आइतबार दिउँसो २ बजेसम्म १३ वटा ढोका खोलिएको उहाँले जानकारी दिनुभयो । राप्तीको बाढी माथिल्लो क्षेत्रका गाउँमा छिर्न थालेपछि नदीको तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । 

राप्तीको तल्लो तटीय क्षेत्र राप्ती सोनारीको फत्तेपुर, खल्ला झगडिया, नरैनापुरको गङ्गापुर, मटेहिया तथा डुडुवा गाउँपालिकाको कम्दी, बेतहनी, बनकट्टी, होलिया, चौफेरी, पाँझालगायतका गाउँमा बाढी पस्ने भएकाले सो क्षेत्रका स्थानीय त्रासमा  छन् ।