• १२ साउन २०८१, शनिबार

घरदैलो अभियान तीव्र

blog

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, वैशाख १८ गते । सिन्धुली जिल्लामा स्थानीय तहका उम्मेदवारले निर्वाचनमा जित आफ्नो पक्षमा पार्न घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।नौवटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा सत्तरूढ गठबन्धनका दलमध्ये नेपाली काँग्रेस पाँचवटा र नेकपा (माओवादी केन्द्र)ले चारवटा स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरी चुनावी तालमेल गरेका छन् । नेकपा एमाले सबै स्थानीय तहमा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रेको छ । सत्तारूढ गठबन्धनकै नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनभित्र वडास्तरको निर्वाचनमा चुनावी तालमेल गरेको छ ।

सत्तारूढ गठबन्धनभित्रकै जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै स्थानीय तहमा एक्लै उम्मेदवार उठाएर चुनावी प्रतिस्पर्धामा उतारेको छ । दलहरूका उम्मेदवार दैनिक रूपमा घरदैलो कार्यक्रम गरी भोट माग्न आउने क्रम बढेको कमलामाई नगरपालिका–६ निवासी वीरबहादुर भुजेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबैले निर्वाचनका बेला राम्रो कुरा गर्छन्, आश्वासन दिन्छन् । चुनाव जितेपछि गर्ने केही होइनन् । कसको कुरा सुन्नु, कसको नसुन्नु ।” दैनिक रूपमा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायत दलका उम्मेदवार भोट माग्न आइरहेको उहाँले सुनाउनुभयो । निर्वाचनका कारण अहिले ग्रामीण क्षेत्रमा चुनावको चहलपहल बढेको गोलन्जोर गाउँपालिका–५ निवासी शिवबहादुर बस्नेत बताउनुहुन्छ । 

“गाउँघरका चियापसल र चोकमा समेत निर्वाचनकै कुरा हुने गरेको छ । घरदैलो अभियानमा आएका उम्मेदवारका कुरा सुनेर मतदातासमेत कसको कुरा पत्याउने, कसको नपत्याउने भनेर रनभुल्लमा पर्ने गरेका छन्,” उहाँले भन्नुभयो,

घरदैलो अभियानमा उम्मेदवारले स्थानीय विकास निर्माणका मुद्दा उठाएर मतदातालाई आश्वस्त पार्ने, पार्टीले बनाएको निर्वाचनसम्बन्धी गीतमा नाचगान गरी मतदातालाई आकर्षित गर्नेलगायतका गतिविधि सञ्चालन गर्ने गरेको उहाँले सुनाउनुभयो ।