कास्की समाचारदाता
कास्की, वैशाख ८ गते । कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक/गायिका गरी तिनै पक्षको नाम भन्नुपर्ने माग सरोकारवालाले गरेका छन् । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत/सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक/गायिकाको भूमिका’ विषयक अन्तर्क्रियामा सो कुरामा जोड दिइएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक संस्थाका प्रतिनिधि, गायक/गायिका, सङ्गीतकार र गीतकारसँग छलफल गरेर अवधारणापत्र तयार पारिएको जानकारी दिनुभयो ।
सात बुँदामा प्रस्तुत गरिएको अवधारणापत्रमा एउटा सुन्दर साङ्गीतिक उत्पादनका लागि सबैको उत्तिकै भूमिका हुने भन्दै जुनसुकै रियालिटी सो, प्रतियोगिता वा साङ्गीतिक कार्यक्रममा गीतकारले रेकर्ड भएका गीत वाचन गर्दा सङ्गीतकार र गायक/गायिकाको नाम उच्चारण गर्ने, गायक/गायिकाले गीतकार र सङ्गीतकारको नाम उच्चारण गर्ने र सङ्गीतकारले गीतकार र गायक/गायिकाको नाम उच्चारण गर्ने परम्परा अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । नृत्य प्रस्तुत गर्दासमेत उद्घोषक वा आयोजकका तर्फबाट गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम उद्घोष गर्नुपर्ने माग गरिएको छ ।
गीतको समीक्षा गर्दा गीतकारको भावना बुझी गीतका शब्द र मर्म अनुरूप गर्न, समाजमा अपाच्य हुने खालका शब्दको प्रयोग गरी गीत गीतकारले नलेख्न, रोयल्टी सम्बन्धित व्यक्तिको बैङ्क खातामा उपलब्ध गराउन, प्रतिलिपि अधिकारको ख्याल गर्न र प्रविधिको सदुपयोग गरी स्रष्टाको अस्तित्व रक्षा गर्न पनि आग्रह गरिएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले विशेष गरी सञ्चार माध्यमलाई स्रष्टाको नाम उच्चारण गर्ने कुरामा सचेत हुन आग्रह गर्नुभयो । स्रष्टाले आफ्नो अस्तित्वको खोजी गरेको बताउँदै सरुभक्तले रोयल्टीलाई व्यवस्थित बनाउने कुरामा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले प्रतिलिपि अधिकारका विषयमा सबै एकजुट र सचेत हुनुपर्नेमा जोड दिनुभयो । आफ्ना गीत अरूकै नाममा रेकर्ड हुने र गीत प्रस्तुत गर्दा नामसमेत उच्चारण नगर्दा दुःख लाग्ने गरेको अनुभव सुनाउँदै कोइरालाले आगामी दिनमा यस्तो अवस्थामा सुधार गर्न सबै पक्ष मिलेर लाग्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’ ले अवधारणापत्रप्रति सहमति जनाउँदै एकले अर्काको अस्तित्व स्विकार्नुपर्ने बताउनुभयो । गायक कर्णदासले देशविदेशमा साङ्गीतिक प्रस्तुति राख्दा गीतसँग सम्बद्ध सबैको नाम उच्चारण गर्नुपर्ने बताउनुभयो ।