• २२ असार २०८१, शनिबार

सडकको खाल्डोमा पानी भरिँदा दुर्घटना

blog

काठमाडौँ, असार २० गते । पठाओ चालक विकल शाक्यको मोटरसाइकल नयाँबजारस्थित सोह्रखुट्टे–बालाजु सडकखण्डमा पानीले भरिएको खाल्डोमा दुर्घटना भयो । बुधबार बिहान खाल्डोमा खसेको मोटरसाइकलमा यात्रुसहित दुई जना हुनुहुन्थ्यो । मानवीय क्षति नभए पनि मोटरसाइकल र मोबाइलमा भने क्षति भयो । 

साँझ सडक राम्रै थियो तर बिहान भने सडकमा खाल्डो परेर पानी भरिएको थियो । बाटो नै नदेखिने गरी धमिलो पानी खाल्डोमा भरिएको थियो । दायाँ–बायाँ चर्किएको सडक छलेर बिच बाटोमा मोटरसाइकल लैजाँदा एक्कासि खाल्डोमा परेको थियो । शाक्यले भन्नुभयो, “बायाँ साइडमा राम्रो होला भनेर जान खोजेको, बिचमा ठुलो खाल्डो रैछ । बाइक पनि खस्यो, मेरो मोबाइल पनि खस्यो ।” बिहान करिब ६ बजे खसेको बाइक सशस्त्र प्रहरी र काठमाडौँ महानगरको टोलीले करिब दुई घण्टामा निकालिएको थियो ।

बुधबारको घटना त एउटा उदाहरण मात्र हो । बर्सातको समयमा काठमाडौँ उपत्यकाका सडक धराप जस्तै हुन्छन् । सडक निर्माण, विद्युत्को पोल व्यवस्थापन, मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तार र ढल व्यवस्थापनका लागि सडक खन्ने काम हुन्छ तर बैलेमा सम्पन्न नगर्दा, सूचना प्रवाह र सावधानीबारे सरोकारवाला जवाफदेही नहुँदा यस्ता घटना घट्ने गरेका छन् । 

नेपाल निर्माण व्यवसायी महाङ्घका महासचिव रोशन दाहालले भन्नुभयो, “सडकमुनि बिछ्याइएको पाइप र ढलको सही डिजाइन नहुँदा भासिन्छ । पाइपको जडान नमिलेको वा फुटेको अवस्थामा पानीले माटो बगाएर त्यहाँ खाल्डो पार्छ र सडक भासिन्छ ।” 

सम्बन्धित कार्यालयको जवाफदेही नहुँदा पनि समस्या हुने गरेको चर्चा गर्दै उहाँले भन्नुभयो, “निर्माण कार्यमा विशेष गरी डिजाइनमा ध्यान दिनु प¥यो । काठमाडौँमा ढल निकासको पनि समस्या छ । बाटोमै ढल बगेको देख्छौँ, पानी बगिरहेको देख्छौँ यसमा प्रत्यक्ष सरोकारवाला निकायको भूमिका प्रभावकारी हुनु पर्छ ।”

खाल्डो मात्र होइन, पानी पर्दा सडकमा पानी जमेर काठमाडौँका धेरै सडक ताल जस्तै हुन्छन् । त्यस्तो हुनुमा पनि डिजाइनमा कमजोरी रहेको दाहालको भनाइ छ । सोह्रखुट्टे–बालाजु सडकमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले बिच्छ्याको पाइप चुहिँदा सडकमा क्षति भएको हो । उक्त पाइप सुन्दरीजल खानेपानी आयोजनाको मुख्य पाइपलाइन रहेको केयुकेएलले जनाएको छ । 

केयुकेएलका प्रमुख कार्यकारी अधिकृत अशोककुमार पौडेलले भन्नुभयो, “त्यो सडकमा तीन वर्षअघि पाइप बिच्छ्याइएको थियो । पाइप फुटेको होइन, त्यहाँ ज्वाइनिङ रहेछ, त्यहीँबाट लिकेज भएछ ।” 

पौडेलले उक्त पाइपको पानी चुहावट रोकेर खाल्डो पुर्ने जिम्मा केयुकेएलकै रहेको र त्यसका लागि कर्मचारीह खटाइसकिएको जानकारी दिनुभयो । साथै बर्सातको समय भएकाले सवारीसाधन चलाउँदा वा बाटोमा पैदल यात्रा गर्दा पानी जमेको स्थानमा सडकको अवस्था पहिचान गरेर हिँड्न केयुकेएलले अनुरोध गरेको छ ।