• २२ असार २०८१, शनिबार

विदेशस्थित नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतिकरणसम्बन्धी छलफलमा बोल्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असार १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीहरूको हितरक्षाका निम्ति परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरणसम्बन्धी छलफलमा बोल्नुहुँदै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

बैठकमा प्रधानमन्त्रीले विदशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई आफूले उच्च प्राथमिकता दिएको बताउनुहुँदै त्यसका लागि संस्थागत र संरचनागत क्षमता अभिवृद्धि मुख्य विषय भएको बताउनुभएको हो ।


प्रधानमन्त्रीले भन्नुभयो, “विदेश जाने नेपालीहरूको सङ्ख्या बढ्दैछ । तर हाम्रो परराष्ट्र मन्त्रालय, मातहतका कार्यालय र नियोगहरू आवश्यकताअनुसार बलियो बनाउन सकिएको छैन । दरबन्दी धेरै पुरानो छ । यसलाई बदलेर सङ्गठन र जनशक्ति व्यवस्थापन सुदृढ गरौँ । विदेशमा रहेका नेपालीहरूको हितरक्षा र अधिकारलाई केन्द्रमा राखेर काम गरौँ । सचिवस्तरमा प्राविधिक तयारी गर्नुस् । त्यसपछि हामी छिट्टै एउटा निष्कर्षमा पुग्नेछौँ ।’’

बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार राष्ट्रियताको सवाल कूटनीतिमा अभिव्यक्त भएको बताउँदै नेपालले परराष्ट्र मन्त्रालय र यसअन्तर्गतका निकायहरूको सबलीकरण गर्नुपर्ने बताउनुभयो ।

छलफलमा परराष्ट्रमन्त्री श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, परराष्ट्र सचिव सेवा लम्साल, अर्थसचिव मधुकुमार मरासिनी लगायत प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू उपस्थित हुनुहुन्थ्यो ।