• २० असार २०८१, बिहिबार

शिक्षा सुधार कार्ययोजना

blog

हुम्ला समाचारदाता

हुम्ला, असार १८ गते । शिक्षा क्षेत्रको सुधारका लागि कार्ययोजना निर्माण गरेर लागु गरिने भएको छ । २०८० सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिणाम निराशाजनक आएपछि शिक्षा क्षेत्रमा काम गर्ने निकायबिच आयोजित अन्तर्क्रियामा कार्ययोजना निर्माण गरेर लागु गरिने जनाइएको हो । 

यस जिल्लाबाट यस पटक ४६.१९ प्रतिशत परीक्षार्थी मात्र एसइईमा उत्तीर्ण हुनुमा विद्यार्थीसँगै विद्यालय, अभिभावक, शिक्षा क्षेत्रमा काम गर्ने निकायको कमजोरी रहेको औँल्याइएको छ । 

अब सबै पक्ष मिलेर स्पष्ट कार्ययोजना निर्माण गरी लागु गर्ने निष्कर्षमा पुगिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख योगेश आलेमगरले बताउनुभयो । विद्यालयहरू आआफ्नै किसिमले अगाडि बढिरहेका र यसबाट शिक्षा क्षेत्रमा सुधार आउन नसकेको उहाँले बताउनुभयो ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गुणात्मक शिक्षा प्राप्ति नहुनुमा विद्यालय बढी जिम्मेवार रहेको बताउँदै बजेट दिँदा पनि राम्रा शिक्षक भर्ना नगरिएको आरोप लगाउनुभयो । 

सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले शिक्षा क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्न आआफ्ना क्षेत्रबाट सबै लाग्नुपर्ने धारणा राख्नुभयो । जिल्ला समन्वय समितिकी सदस्य सरिता रावतले विद्यार्थीलाई दण्ड र सजायको व्यवस्था नभएकै कारण समस्या त्यहीनेर रहेको बताउनुभयो । 

नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले पुरानो शिक्षा ऐनले पनि समस्या गरेको बताउँदै शिक्षा सुधारका लागि गाउँपालिकाले केही प्रयास सुरु गरेको र त्यसको प्रतिफल हेर्न बाँकी रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले सरकारी विद्यालयप्रति धेरैको विश्वास नभएका कारण पनि समस्या देखिएको बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख आलेमगरले गत बिहीबार सार्वजनिक भएको एसइईको नतिजा गाउँपालिका र विद्यालयस्तरमा प्रस्तुत गर्नुभएको थियो । 

सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेतले आफ्नो वार्षिक प्रगति र शिक्षा क्षेत्र सुधारका लागि गर्न सकिने विभिन्न प्रयासबारेम जानकारी गराउनुभयो ।