• १ कात्तिक २०८२, शनिबार

अस्थायी भवनमा सञ्चालन गर्ने तयारी

blog

प्रदेश सभा बैठक सञ्चालनका लागि तयार गरिँदै सभा हल ।तस्बिर : अनिल पराजुली

हेटौँडा समाचारदाता 

हेटौँडा, कात्तिक १ गते । हेटौँडा उपमहानगरपालिकाको स्वामित्वमा रहेको सभा हल मर्मतसम्भार गरेर बागमती प्रदेश सभाको बैठक सञ्चालनको तयारी गरिएको छ । 

जेनजी समूहको आन्दोलनका क्रममा आगलागीमा परी बागमती प्रदेश सभाको नवनिर्मित भवन र पुरानो हलसहितको भवन पूर्ण रूपमा काम नलाग्ने अवस्थामा पुगेपछि स्थगित भएको प्रदेश सभाको आगामी बैठक उपमहानगरपालिकाको सभा हलबाट सञ्चालनको तयारी गरिएको हो । 

उपमहानगरपालिकाको क्षति भएको हललाई मर्मतसम्भार गरेर प्रदेश सभाको बैठक बस्ने तयारी गरिएको प्रदेश सभा सचिव राजकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सहरी विकास तथा भवन कार्यालय मकवानपुरले सो सभा हलको प्रारम्भिक चरणको मर्मत, सरसफाइ, विद्युत् जडान र रङरोगनको काम गरिरहेको छ, त्यही हलमा प्रदेश सभाको अस्थायी बैठक बस्ने तयारी भएको छ ।” दलहरूको आन्तरिक तयारी पूरा नहुँदा प्रदेश सभाको बैठक बस्न सकेको छैन । आन्दोलनपछि दसैँमा बैठक बस्ने भनिए पनि दलहरूबिचको आन्तरिक तयारी अझै जुट्न सकेको छैन । 

जेनजी समूहको आन्दोलनपश्चात् बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले उपसभामुख अप्सरा चापागाईंसमक्ष पदबाट राजीनामा दिनुभएको थियो । प्रदेश सभा नियमावली २०७४ को नियम १८४ बमोजिम सभामुखले दिनुभएको राजीनामा प्रदेश सभाको बैठकमार्फत वा सूचनापत्रमार्फत उपसभामुखले जानकारी गराउनुपर्ने प्रावधान रहे पनि सभाको बैठक बस्न नसक्दा कार्य अधुरै रहेको छ । 

अब बस्ने प्रदेश सभाको बैठकमा सभामुखको राजीनामा टुङ्ग्याउने र नयाँ सभामुखको निर्वाचन प्रव्रिmयामा जाने तयारी रहेको छ । सभामुखका लागि कांग्रेस, एमाले र माओवादी केन्द्र तीन वटै दलले दाबी गरेका छन् । बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धन सरकार भए पनि दुवै दलले सभामुखको दाबी गर्दा सहमति जुट्न सकेको छैन । 

प्रदेश सभामा हाल चार विधेयक छलफलका क्रममा रहेका छन् । चिट्ठा विधेयक दुई वर्षअघि प्रदेश सभामा दर्ता भएको थियो । यो अन्तिम चरणमा रहेको छ । प्रदेश चलचित्रसम्बन्धी बनेको विधेयक छलफलको चरणमा रहेको छ ।  

प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा बनेको विधेयक दर्ता भएको प्रदेश सभा सचिव पौडेलले जानकारी दिनुभयो । जेनजी आन्दोलनका व्रmममा आगजनी हुँदा १२ करोड रुपियाँमा निर्मित नयाँ भवन र पुरानो हलसहितको भवन पूर्ण रूपमा क्षति भएको छ । पुरानो हलसहितको भवन २०७२ सालको भूकम्पमा पनि क्षति भएको थियो । आन्दोलनका क्रममा आगलागी हुँदा लेखा, प्रशासन र कार्य व्यवस्थाको कागजात जलेर नष्ट भएको छ । 

यहाँ मात्रै करिब ३३ करोडको क्षति भएको दाबी गरिएको छ । प्रहरी मुचुल्कापश्चात् क्षति भएको सवारीको विवरण र भौतिक पूर्वाधार विकास मन्त्रालयले भवनको अवलोकन र नापजाँचपश्चात् यहाँको क्षतिको विवरण सङ्कलन गरेर लगेको प्रदेश सभा सचिव पौडेलले जानकारी दिनुभयो । काम नलाग्ने भएको भवन र क्षति भएको सवारी हटाउने विषयमा अझै केही छलफल भएको छैन ।