• १ कात्तिक २०८२, शनिबार

पर्यटन क्षेत्र पुनरुत्थान कार्यदिशा

blog

नेपालका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र ऐतिहासिक धरोहर विश्वमै अद्वितीय छन् । यी स्रोतहरूकै कारण नेपालमा पर्यटन अझै अपार सम्भावनासहितको क्षेत्र बनेको छ । चुनौती धेरै भए पनि अवसर त्यत्तिकै छन् । पटक पटक आएका विपत्हरूले प्रतिकूल धक्का त दिएको छ तर यसले सुधार र नवीकरणको बाटो पनि खोलिदिएको छ ।

नेपालमा प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदा र साहसिक गतिविधि–यी सबै वर्षभर प्रयोग गर्न सकिने स्रोत हुन् । गर्मीयाममा हिमाली पदयात्रा, जाडोमा सांस्कृतिक भ्रमण, वर्षायाममा आन्तरिक यात्रा जस्ता गतिविधि व्यवस्थित रूपमा प्रचार गर्न सकिन्छ । स्वास्थ्य, शिक्षा, कृषि र सम्मेलन पर्यटनलाई पनि प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याउन सकिन्छ । सानो क्षेत्रफलमा असिमित जैविक विविधताले सम्पन्न स्वर्गको टुक्रा नेपालमा पर्यटकको चाहनाबमोजिम पर्यटनलाई अझ विविधीकरण र लचिलो बनाउनु पर्छ । हरेक मौसममा पर्यटन भन्ने अवधारणा लिई नेपाललाई वर्षभरका गतिविधिका लागि उपयुक्त गन्तव्य बनाउन सकिन्छ ।

नवपुस्ताको आन्दोलनले विशेष गरी पर्यटन क्षेत्रमा यसको प्रभाव गहिरो देखियो । यातायात, होटल, रेस्टुराँ, हस्तकला, कृषिजन्य उत्पादन, सिपमूलक काम, खेलकुद, कला, स्वास्थ्य सेवा र अन्य धेरै क्षेत्र पर्यटनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका थिए । व्यावसायिक क्षेत्रमा आक्रमण र असुरक्षाका कारण पुँजी निष्क्रियता र पुँजी पलायन हुने जोखिम बढेको छ । सुनामी, बाढी, पहिरो, भूकम्प, युद्ध, मन्दी र कोरोना जस्ता प्राकृतिक एवं मानवद्वारा सृजित सङ्कटले पर्यटन क्षेत्रलाई पटक पटक थला पारेको छ ।

सन् २०५० मा प्रजातन्त्रको स्थापनासँगै विश्‍व पर्यटन बजारको ढोका खोलिएको नेपाल सन् १९५३ मे २९ का दिन सर एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले विश्‍वको सर्वोच्च शिखरमा पुगेपछि नेपाल हिमाली राष्ट्र भनी बाह्य जगत्मा प्रचारप्रसार भयो । विगतदेखि नै विपत् झेल्दै आएको नेपालको पर्यटन क्षेत्रले पुनः सङ्कटको सामना गर्नु परेको छ । 

नेपाल सरकारले यस अवधिमा विभिन्न किसिमका रणनीति अघि सारेको छ । उदाहरणका लागि, ‘नेपाल सुरक्षित छ भन्ने सन्देशलाई विश्वभर पु¥याउने, आन्तरिक यात्रुलाई छुट, सहुलियत र अभियानमार्फत आकर्षित गर्ने, ‘ट्रिप एडभाइजर’ लगायत डिजिटल प्लेटफर्ममा नेपालको सकारात्मक छवि बनाउने र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्ने पहल गरिएको छ । यी प्रयासले सङ्कटपछिको पर्यटनलाई बिस्तारै नयाँ रूप दिन सहयोग पुग्ने देखिन्छ ।

नेपालमा पर्यटन क्षेत्रबाट वार्षिक तीन खर्ब रुपियाँ आर्जन हुन्छ, जुन कुल गार्हस्थ उत्पादनको आठ प्रतिशत हो । यसै गरी यस क्षेत्रले करिब १० प्रतिशत रोजगारी प्रदान गरेको छ । नेपालको पर्यटक आगमन हेर्दा सङ्ख्यात्मकमा कोरोनाबाट बिस्तारै लयमा फर्किंदा सन् २०२२ मा ६,१४,८६९ बाह्य पर्यटक आएका थिए । यसै गरी सन् २०२३ मा १० लाख १४ हजार पर्यटक भित्रिए भने सन् २०२४ मा ११ लाख ४७ हजार पर्यटक भित्रिएका थिए भने सन् २०२५ मा विगत असार महिनामा सात लाख ३६ हजार ५६२ पर्यटक आगमन भएको छ । सन् २०२४ को भन्दा १० प्रतिशत बढी लक्ष्य लिए पनि सन् २०२५ मा आएको सङ्कटले पर्यटकको सङ्ख्या ह्‍वात्तै घट्ने देखिन्छ ।

आन्दोलनबाट भएका मुख्य क्षति 

पछिल्लो आन्दोलनमा काठमाडौँ, पोखरा, विराटनगर, बुटवल, धनगढी, दाङ, झापा आदि क्षेत्रमा सञ्‍चालित होटल प्रतिष्ठानमा भएको लुटपाट, तोडफोड र आगजनीबाट करिब २५ अर्ब नोक्सानी भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । ८० प्रतिशतसम्म बाह्य पर्यटकको बुकिङ रद्ध हुनु, हजारौँ रोजगारी कटौती हुनु, कृषकद्वारा उपादित खाद्य पदार्थ, यातायात, हवाई सेवा, आपूर्ति सेवालगायत सेवा प्रदायक क्षेत्रले बहन गर्नुपर्ने नोक्सानी अझ धेरै हुने देखिन्छ । राष्ट्रिय धरोहर अद्वितीय सम्पदाहरू सार्वजनिक तथा निजी सम्पत्तिमाथिको अपुरणीय क्षतिले नेपालको आर्थिक समृद्विको आधार पर्यटन क्षेत्र मर्माहत भएको छ । 

भर्खरै सञ्‍चालित अन्तर्राष्ट्रिय ब्रान्डको हिल्टन होटलदेखि विभिन्न सहरका पर्यटकीय होटल, ऐतिहासिक एवं रणनीतिक स्थल सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति निवासलगायत विभिन्न जिल्लास्थित हजारौँ सरकारी कार्यालय, निजी निवासहरू, बैङ्क तथा वित्तीय संस्थाहरू आंशिक तथा पूर्ण रूपमा ध्वस्त भएका छन् । यसै गरी हजारौँ कैदीबन्दी फरार हुनु नेपालको आन्तरिक सुरक्षामा चुनौती थपिएको छ भने अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश सम्प्रेषण भएको छ । इन्टरनेट, सामाजिक सञ्‍जाल, स्वदेशी एवं विदेशी आमसञ्चारका माध्यममा फैलिएका प्रदर्शनका हिंस्रक र अस्थिर अवस्था देखिने सामाग्री नेपालका पर्यटन क्षेत्र पीडित भएको छ । सामाजिक सञ्जालबाट आयआर्जन गर्ने अस्वस्थ प्रतिस्पर्धाले झन् काल्पनिक सन्देश सञ्चार भएका छन् ।

समाधानका उपाय

वर्तमान घटनाले भूकम्प जस्तो मदमार्ग र सम्पदामा असर पारेको त छैन तर पर्यटन क्षेत्रको महत्वपूर्ण अङ्ग होटल र राष्ट्रिय सम्पदामाथिको अग्निदोहन तथा गाउँ गाउँमा भएका हुलदङ्गाले सबैमा मनोवैज्ञानिक दबाब सिर्जना गरेको छ, जुन सामाजिक तथा मानसिक क्षतिको मापन गर्न कठिन हुन्छ ।

आधुनिक सञ्‍चार, प्रभावकारी व्यवस्थापन, विश्‍वसनीय सुरक्षा प्रणाली र गन्तव्य ब्रान्डिङबाट पर्यटन बजारको दायरा अझै फराकिलो बनाउनु पर्छ । नीतिनिर्माताको स्पष्ट दृष्टिकोण, समय सापेक्ष नीति तथा कार्यक्रम, पर्यटन मन्त्रालय, विभाग, नेपाल पर्यटन बोर्ड, हान, टान, नाटा, निजी क्षेत्र सरोकारवालाबिच सहकार्य तथा स्पष्ट दायित्व एवं सबल नेतृत्वबाट नै सङ्कटपछि पुनर्निर्माण सम्भव हुन्छ । तत्काल नेपालमा नै भएका बाह्य पर्यटकमार्फत नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु पर्छ । नेपाल पर्यटन बोर्डमार्फत अन्तर्राष्ट्रिय साझेदारहरूलाई विश्‍वास दिलाउनु पर्छ । नेपालको ब्रान्डलाई मजबुत बनाउन र विश्व बजारमा आफ्नो उपस्थिति जनाउन डिजिटल मार्केटिङ, सामाजिक सञ्जाल, अनलाइन बुकिङ प्रणाली, अन्तर्राष्ट्रिय पर्यटन पोर्टलमार्फत यी सबै उपायलाई प्रभावकारी रूपमा प्रयोग गर्नु पर्छ । 

आर्थिक समृद्धिका लागि पर्यटन उद्यमशीलता अपरिहार्य भन्ने नयाँ पुस्तालाई सचेत गराउनु पर्छ । अन्तर्राष्ट्रिय जगत्मा नेपालले प्रतिष्पर्धा गर्न सक्ने भनेकै पर्यटन क्षेत्र हो भन्ने बारेमा हरेक युवा जानकार हुनु पर्छ । ‘अतिथि देवो भव’ भन्ने मान्यता बोकेको नेपाली समाजमा जस्तै सङ्कट भए पनि पर्यटकलाई कुनै हानि नोक्सानी पु¥याउँदैनन् भन्ने जेनजी आन्दोलनको बिचबाट पर्यटकलाई गरिएको व्यवहारबाट स्पष्ट हुन्छ । यस्ता सन्देश विश्‍वसनीय माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा प्रवाह गर्नु पर्छ । त्यसै गरी गैरआवासीय नेपाली सङ्घमार्फत विदेशमा रहेका हरेक नेपालीले आफूलाई पर्यटन दूत सम्झेर पर्यटकलाई नेपाल घुम्न जान प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्नु पर्छ ।

पर्यटन क्षेत्र पुनरुत्थान गर्न सरोकारवालाले निम्न लिखित कार्य तथा रणनीति अवलम्बन गर्नु पर्छ । 

विज्ञद्वारा गन्तव्यको अध्ययन गरी सूक्ष्म तथा बृहत् योजना तर्जुमा गर्ने ।

विश्व प्रख्यात सञ्चार माध्यम टा«भल एजेन्सी आदि मार्फत ‘नेपाल झन् बढी सुरक्षित छ’ भन्ने सन्देश सम्प्रेषण गर्ने ।

सुरक्षित लगानी वातावरण सिर्जना गर्ने । निजी क्षेत्रलाई भन्सार छुट तथा सहुलियत ऋणको व्यवस्था गर्ने ।

पर्यटकका लागि औषधी, उद्धार, खानपिन, सुरक्षा बसोबास आदिको उचित प्रवर्धन गर्ने ।

‘ट्रिप एडभाइजर’लाई नयाँ तथा पुराना गन्तव्य स्थलको भम्रण गराउने 

‘इन्टरनेसनल एसोसियसन अफ अन्ट्राटिक टुर अपरेटर’ जस्ता संस्थासँग सहकार्य गर्ने ।

कैयौँ देशले जारी गरेका यात्रा सजगतासम्बन्धी ‘एडभाइजरी’ हटाउन कूटनीतिक प्रयास गर्ने ।

‘एडभेन्चर ट्राभल्स’ कम्पनीहरूलाई नयाँ पद यात्राको जानकारी गराई हिमाली पर्यटनको प्रवर्धन गर्ने ।

भिसा शुल्क पर्यटक शुल्क, हवाई भाडा, होटल सबैमा विशेष छुट प्रदान गर्ने ।

अन्तर्राष्ट्रिय बौद्ध सर्किटको व्यापक प्रचार गर्ने ।

नेपालका पुराना बजार युरोप, जापान, अस्ट्रेलिया तथा नजिकको बजार चीन र भारत केन्द्रित कार्यक्रम गर्ने ।

आमजनसमुदायलाई पर्यटनको महत्वबारे सचेतना प्रदान गर्ने ।

निष्कर्ष

विश्‍व पर्यटन बजार हेर्दा प्रकृतिको वरदान आकर्षक सम्पदाले परिपूर्ण नेपाल यति अस्थिर, विपन्नता र असहिष्णु हुनुपर्ने देश होइन । अति राष्ट्रवादी बन्दै अरूलाई गाली गरेर समृद्ध समाज निर्माण हुँदैन । अर्कातर्फ भ्रष्टाचार नियन्त्रण गर्न विगतमा गरिएका प्रतिबद्धता घोषणापत्रमै सीमित भएकाले आगामी दिन भ्रष्टाचारमा शून्य सहनशीलता हुनु पर्छ । सार्वजनिक खर्च कटौती, चालुभन्दा पुँजीगत खर्च वृद्धि गरी दिगो विकास गर्नु पर्छ । शासकीय चरित्र र शैलीमा आमूल परिवर्तन भई पारदर्शी तथा सुशासन कायम गरिएन भने पर्यटन क्षेत्रले मात्र नभई राष्ट्रले नै पुनः अर्को विद्रोहको सङ्कट सामना गर्नुपर्ने हुन्छ ।