अमरराज नहर्की
तनहुँ, पुस ६ गते । आधुनिक समाज, मानव अधिकार र समावेशीकरणका कुरा भइरहँदा तनहुँको व्यास नगरपालिका–८, बर्लाचीमा भने २६ वर्षीय झलक बिक पशुलाई जस्तै दाम्लोले बाँधिएर दिन बिताइरहेका छन् । जन्मजात बहुअपाङ्गता भएका झलक हिँड्डुल गर्न असमर्थ छन् । शारीरिक अवस्था नियन्त्रणमा नहुने, जताततै घिस्रेर हिँड्ने र दिसापिसाब कपडामै हुने अवस्थाले गर्दा उहाँलाई घरकै खामामा बाँधेर राख्नुपरेको उहाँको आमा कालिमाया बिक बताउनुहुन्छ ।
चार वर्षकै उमेरमा श्रीमान् गुमाएकी कालिमाया त्यसयता एक्लैले छोराको स्याहार, उपचार र जीविकोपार्जन गर्दै आउनुभएको छ । “छोरालाई दाम्लोले बाँधेर राख्नु कुनै आमाको रहर होइन, भक्कानिँदै भन्नुभयो “तर खेतबारी र बस्तुभाउको काममा जानुपर्छ, बाटोमा घिस्रँदा दुर्घटनाको जोखिम भएकोले बाध्य भएर बाँध्नुपरेको हो ।”
मान्छेलाई मान्छेझैँ बाँच्न दिन नसक्ने अवस्था देख्दा जोकोहीको मन चिसिन्छ । झलकको शरीर मात्रै होइन, उनको बाल्यकाल, युवा उमेर र भविष्यसमेत दाम्लोले बाँधिएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकाय धाए पनि अहिलेसम्म सहानुभूति र आश्वासनबाहेक ठोस सहयोग नपाएको कालिमायाको गुनासो छ ।
रिसेड तनहुँले उपलब्ध गराएको ह्वीलचेयर झलकको अवस्थाअनुसार उपयुक्त नभएको उहाँले बताउनुभयो । कालिमायाले भन्नुभयो “चढाउन–झार्न सकिँदैन, पल्टिने डर छ, प्रयोग गर्नै मिलेन ।” झलकलाई सुरक्षित रूपमा राख्न बाहिर खेल्न मिल्ने बरान्डा, भित्र सुत्ने कोठा र शौचालयसहितको व्यवस्थित संरचना अत्यावश्यकले तर कमाउने श्रीमान् बितेकाले बनाउन नसकिएको कालिमायाले जानकारी दिनुभयो ।
अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाले अमानवीय जीवनबाट छुट्कारा दिलाउन सरकारी निकायले तत्काल कदम चाल्नु पर्ने बताउनुभयो । बास्तोलाले भन्नुभयो, ‘‘विशेष गरी स्थानीय सरकारले चासो राखेर समाधान गर्न जरुरी छ ।’’
व्यास–८ स्थित अपाङ्गता स्वावलम्बन समूहकी सचिव शोमा लम्साल उहाँको पीडा देखेर आँखाबाट आँसु आउने गरेको बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशकी सदस्य सङ्गीता शर्माले झलकको अवस्थाअनुसार सहयोग जुटाउन आवश्यक रहेकोले सरकारी तथा गैरसरकारी सस्थाहरु मिलेर अमानवीय जीवन जीउने अवस्थाको अन्त्य गरिनु पर्ने बताउनुभयो । सङ्गीताले भन्नुभयो, ‘‘राज्यको उपस्थिति महसुस गर्न नपाएका झलक जस्ता नागरिकका लागि ‘अपाङ्गता भत्ता’ मात्र पर्याप्त छैन, उनलाई सम्मानजनक र दाम्लोमुक्त जीवन जिउने वातावरणको खाँचो छ ।’’