प्रवीण कुमार शर्मा
रौतहट, पुस ७ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । मधेश भ्रमणको क्रममा आइतबार रौतहट आउनुभएको उहाँले देशलाई निकास दिन र जेनजी पुस्ताको माग सम्बोधनका लागि तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
देशमा स्थायित्व शान्ति कायम र जनताको माग अनुसार सेवा प्रदान गर्न नेपाली कांग्रेस अग्रणी भूमिकामा उत्रिनु पर्ने उहाँको भनाइ रहेको छ । युवा पुस्ताको माग सम्बोधन तथा दीर्घकालीन निकासका लागि हरेक क्षेत्रमा १८ देखि ४० वर्षका युवाको प्रनिधित्व गराइनु पर्नेमा उहाँले जोड दिनु भयो । मधेशमा अहिले पनि महिलाको प्रतिनिधित्व कम रहेकाले महिलालाई अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
जनताले दिएको सुझावलाई ग्रहण गर्नका लागि समुदायस्तरमा आफु मधेश यात्रामा रहेको बताउनुभयो । जेनजीको चाहना, मागलाई आत्मसात् गरेर कमिकमोजरीलाई आत्मालोचना गर्दै कांग्रेस अगाडि बढनुपर्ने उहाँको भनाइ छ ।
कांग्रेस स्पष्ट भिजनका साथ अघि बढनुपर्ने बताउनुहुँदै संग्रौलाले जनताका मुद्दामा कांग्रेसले नबोकेकै कारण कमजोर हुन् गएकोमा दुखेसो पोख्नुभयो । नेपाली कांग्रेसलाई सशक्त बनाउन १५औँ महाधिवेशन निर्धारित मितिमा हुनु पर्नेमा उहाँको जोड रहेको छ ।