• १ कात्तिक २०८२, शनिबार

बागलुङमा ४४३ बालबालिकालाई खुवाइयो ‘स्वर्णविन्दु प्राशन’ औषधी

blog

बागलुङमा पहिलो पटक बालबालिकाहरुलाई स्वर्णविन्दु प्राशन औषधी खुवाइदै । तस्बिर : नवराज नेपाली

नवराज नेपाली
बागलुङ (गलकोट), असोज ३१ गते ।
  बागलुङमा एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई स्वर्णविन्दु प्राशन खुवाइएको छ । बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न, उनिहरुको सर्वाङ्गिण विकासमा सहयोग पुर्‍याउन, शारिरीक तथा मानसिक विकासमा समेत प्रभावकारी हुने आर्युर्वेद औषधी ‘स्वर्णविन्दु प्राशन खुवाइएको हो ।

धौलागिरी आयुर्वेद औषधालय बागलुङमा पहिलोपटक सञ्चालन गरिएको कार्यक्रमबाट चार सय ६३ बालबालिकाले स्वर्णविन्दु प्राशन खाएका छन् ।

‘स्वर्णविन्दु प्राशन’ कार्यक्रम नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सञ्चालित राष्ट्रिय कार्यक्रम हो । पछिल्लो चार वर्षदेखि दाङका बालबालिकलाई खुवाउँदै आएको भएपनि यसवर्ष २३ जिल्लामा यो कार्यक्रम सञ्चालन गरिएको धौलागिरी आयुर्वेद औषधालय बागलुङका प्रमुख डाक्टर सरद पन्थीले जानकारी दिनुभयो ।गण्डकी प्रदेशका बागलुङ र गडण्डकी आयुर्वेद औषधालय पोखरामा स्वर्णविन्दु प्राशन खुवाइएको छ ।

स्वर्णविन्दु प्राशन आयुर्वेद ग्रन्थ अनुसार यो आयुर्वेद खोप पद्धती हो । यसले बच्चाको पाचन प्रणाली, मानसिक स्वास्थ तथा सोच्न सक्ने क्षमता अभिवृद्धि गर्न मद्दत गर्छ । धार्मिक ग्रन्थ अनुसार वृद्धि विकसको सूचक मानिने पुष्य नक्षत्रमा यो कार्यक्रम सञ्चालन गरिने डा. पन्थले बताउनुभयो । बाल बालिकालाई पुष्य नक्षत्रका दिनबाट स्वर्णविन्दु प्राशन सुरु गरेर हरेक महिनाको पुष्य नक्षत्रका दिनमै अर्को मात्रा खुवाउनु पर्ने उहाँले बताउनु भयो । आयुर्वेद शास्त्रअनुसार बिहानको समयमा खाली पेटमा ‘स्वर्ण प्राशन’ कम्तीमा ३० मात्रा खुवाउँदा हुन्छ । स्वर्ण भष्मलाई प्रशोधन गरि घ्यु र मह मिश्रण गरि बालबालिकालाई खुवाइन्छ ।

धौलागिरी आयुर्वेद औषधालय बागलुङका सूचना अधिकारी डा. कमल पौडेलका अनुसार ‘स्वर्णविन्दु प्राशन’ पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’मा वर्णन गरिएको परम्परागत विधि हो । यो केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार छ । स्वर्ण प्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्त्व हो । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।