गोरखापत्र समाचारदाता
काठमाडौँ, कात्तिक १ गते । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्न जाने पर्यटकले पदयात्राकै क्रममा फोरजी सुविधा उपयोग गर्न सक्ने भएका छन् । चार हजार ३५० मिटरको उचाइमा पर्ने तिलिचो ताल जाने पदयात्रीलक्षित नेपाल टेलिकमले माइक्रोवेब प्रविधिमार्फत टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको हो । तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले तिलिचोमा रहनुभएका टेलिकमका फिल्ड इन्जिनियर निरज गुप्तासँग भिडियोकलमार्फत कुराकानी गर्दै प्रसिद्ध पर्यटकीय क्षेत्र तिलिचोमा फोरजी सेवा सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्नुभयो ।
उक्त सेवा सञ्चालनमा आएसँगै खाङ्सार–श्रीखर्क–तिलिचो आधार शिविर–बाइस घुम्ती हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकलाई सञ्चार सम्पर्क गर्न सहज हुने टेलिकमले जनाएको छ । त्यस्तै पर्यटन, होटेललगायतका व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई डिजिटल भुक्तानी प्रणालीमा आबद्ध हुनसमेत यो सेवाले सहयोग पुग्ने टेलिकमले उल्लेख गरेको छ ।
उच्च उचाइ र धेरै जसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रुलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भइहालेमा पनि आपत्कालीन उद्धारका लागि सहयोग पुग्ने कम्पनीले जनाएको छ ।
यसै गरी दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छोरोल्पा पदयात्राको रुटको अन्तिम अनि ठुलो बस्ती नागाउँमा पनि मङ्गलबारदेखि भिस्याट प्रविधिमार्फत नेपाल टेलिकमको भ्वाइस सेवा सुचारु भएको छ ।
चार हजार १९० मिटरको उचाइमा रहेको यस साइटबाट च्छोरोल्पा रुटको बेदिङ्ना रुट, नागाउँ, च्छोरोल्पा, दुधकुण्ड, यालुङ बेसक्याम्प, टासी–लेप्चा पास बेसक्याम्पसमेतका भागमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा पर्यटकलाई सञ्चार सम्पर्कमा सहयोग पुग्ने टेलिकमले जनाएको छ ।