• २० असार २०८१, बिहिबार

विपतबाट चालिस जनाको मृत्यु

blog

कैलालीको एक घरमा लागेको आगो ।

धनगढी समाचारदाता

धनगढी, असार १८ गते । सुदूरपश्चिम प्रदेशमा विपत्का घटनाबाट ४० जनाको ज्यान गएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार साउन १ देखि असार १६ गतेसम्म ४० जनाको ज्यान गएको हो । 

मृत्यु हुनेमा महिला र पुरुषको सङ्ख्या २०/२० रहेको छ । सो अवधिमा ५७५ वटा विपत्का घटना भएको केन्द्रको बुलेटिनमा उल्लेख छ । 

सबैभन्दा बढी २६६ वटा आगलागीका घटना भएका छन् । जसमा चार पुरुष र सात महिला गरी ११ जनाले ज्यान गुमाएका छन् भने २९ जना घाइते भएका छन् । ४४ आंशिक र ३० पूर्ण गरी ७४ घरमा क्षति भएको छ । आगलागीबाट १०५ चौपायासमेत मरेको जनाइएको छ । सर्पदंशका ५३ घटना घटेका छन् । सर्पको टोकाइबाट हालसम्म सात जनाको मृत्यु भएको र ५५ जना घाइते भएका जनाइएको छ ।

सर्पको टोकाइबाट ११७ चौपायाको पनि ज्यान गएको बुलेटिनमा उल्लेख छ । चट्याङबाट तीन पुरुष र चार महिला गरी सात जनाको ज्यान गएको छ । चट्याङ लागेर आठ जना घाइते भएको जनाइएको छ । त्यस्तै हावाहुरीबाट चार जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।  बाढीबाट चार जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । जङ्गली जनावरको आतङ्कबाट तीन जनाको मृत्यु र तीन हजार ३७७ घरपरिवार प्रभावित भएको जनाइएको छ । पहिरोबाट तीन तथा भूकम्प र लेक लागेर एक/एक जनाको ज्यान गएको केन्द्रले जानकारी दिएको छ । 

करिब दस करोडको क्षति

यस प्रदेशमा विपत्का घटनाबाट करिब एक वर्षमा १० करोड ७४ लाख ५७ हजार रुपियाँ बराबरको क्षति भएको छ । सबैभन्दा बढी आगलागीबाट १० करोड १० लाख ४२ हजार सात सय रुपियाँ बराबरको नोक्सान भएको हो । सुक्खायाममा विशेष गरेर वैशाख, जेठमा सबैभन्दा बढी आगलागीको घटना घटेको थियो । सर्पदंशबाट ९५ हजार, हावाहुरीबाट सात लाख ५० हजार रुपियाँ बराबरको नोक्सान भएको छ । बाढीबाट दुई लाख ५० हजार र वन्यजन्तुबाट २० लाख रुपियाँ बराबरको क्षति भएको जनाइएको छ । 

केन्द्रले सम्बन्धित सरोकारवाला निकायलाई विपत्का घटनाबारे दैनिक जानकारी गराउने गरेको छ । हरेक दिन विपत् बुलेटिन प्रकाशित गरेर मन्त्रालयको वेबसाइटमै राखिने गरेको सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताउनुभयो ।