• २० असार २०८१, बिहिबार

वर्षा नहुँदा रोपाइँमा ढिलाइ

blog

तानसेन समाचारदाता

तानसेन, असार १८ गते । आकासे पानी कुर्नुपर्ने बाध्यताले पाल्पाका किसानले समयमै धान रोप्न पाएका छैनन् । अघिल्लो वर्ष असारको पहिलो सातादेखि नै पर्याप्त पानी परेको थियो । गत वर्ष यही समयमा ३० प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष भने हालसम्म नौ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र, पाल्पाले जनाएको छ । 

यो वर्ष मध्यअसारमा पनि पाल्पाका अधिकांश भूभागमा पर्याप्त पानी नपर्दा रोपाइँ गर्न ढिला भएको ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरीले बताउनुभयो । पाल्पामा जेठको पहिलो साता सामान्य पानी परे पनि त्यसपछि पानी पर्न नसकेको र मूल सुकेकाले रोपाइँमा ढिलाइ भएको चौधरीले बताउनुभयो । यस वर्षको रोपाइँ गर्न किसान तयारी अवस्थामा रहे पनि पानी पर्याप्त नहुँदा कतिपय स्थानमा धानको बिउ छिप्पिएको उहाँले बताउनुभयो । 

जिल्लाको अधिकांश स्थानमा सिँचाइको पूर्वाधार बन्न नसक्दा रोपाइँका लागि आकासे पानीको भर पर्नुपर्ने बाध्यता रहेको किसान सुनाउँछन् । आकासे पानी कुर्दा यो वर्ष रोपाइँ गर्न ढिला भएको पाल्पा माडीका किसानले बताए । रोपाइँका लागि आवश्यक पानीको जोहो हुन नसक्दा असारको मध्यसमय बितिसक्दासमेत रोपाइँ गर्न नसकेको माथागढी–१, बाहाखोकका किसान पूर्णबहादुर सारूले बताउनुभयो । “आकाशको पानी आएपछि खेतमा पानीको जोहो हुन्छ, त्यसपछि मात्रै रोपाइँ गर्ने हो,” उहाँले भन्नुभयो । पानी परेपछि खोलानाला बढ्ने अनि मात्रै खेतमा पानी लगाउने र रोपाइँका लागि तयारी गरिने उहाँको भनाइ छ । 

पाल्पाको माडी, रामपुर, झडेवा, कचल, गेझा र अर्गली फाँटका अधिकांश स्थानमा यस वर्ष रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा पुगेका केही स्थानमा जेठको अन्तिम सातादेखि नै रोपाइँ भएको छ तर पाल्पाका अधिकांश फाँट तथा टारी खेतमा धान रोप्न सिँचाइ असुविधा छ । 

पाल्पामा आठ हजार ६२० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । पछिल्लो समय कामदार अभाव, सिँचाइ असुविधाका कारण धान खेती गर्ने क्षेत्रफलसमेत घटेको छ । धान खेती हुने ३५ प्रतिशतमा मात्र सिँचाइ सुविधा छ । बाँकी क्षेत्रमा रोपाइँका लागि आकासे पानी कुर्नुपर्ने बाध्यता रहेको किसानले बताएका छन् ।