• २२ असार २०८१, शनिबार

नमुना सदरमुकामका तीनवटा भवनका लागि टेण्डर भएर सम्झौतको चरणमा

blog

बोमलाल गिरी

नवलपुर, असरा १९ गते। नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौताको चरणमा पुगेको छ।

अबको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौताको तयारी भइरहेको सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख झपट बहादुर थापाले जानकारी दिनुभयो। तर टेण्डर परेको निर्माण कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन।

कावासोतीमा भएको नमुना सदरमुकाम गुरुयोजना भवन निर्माण सम्बन्धी कार्यक्रममा थापाले दिएको जानकारी अनुसार पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र दुईवटा एकीकृत भवन बन्ने छन्। त्यसका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको २० करोड, अर्थमन्त्रालयले त्यसमा थप गरी सुनिश्चित गरेको ५० करोड र आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको ८० करोड रुपियाँबाट भवन निर्माणको काम अघि बढाउने आयोजनाले जनाएको छ।

नमुना सदरमुकामका लागि छुट्टाइएको १८४ बिगाहा क्षेत्रफलको नापजाँच सकिएको छ। जग्गा नापजाँच गर्दा १८४.७.१८.५ बिगाहा किटान भएको आयोजनाले जनाएको। अब रुख कटानको काम सुरु हुने बताइएको छ। त्यसका लागि डिभिजन वन कार्यालयले अनुमतिका लागि वन विभागमा जानकारी गराएको जनाएको छ। 

विभागले मन्त्रालयमा प्रस्ताव लगेर स्वीकृत भए रुख कटानको काम अघि बढ्ने डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार ५ सय ५२ वटा रुख कटान गर्नु पर्नेछ।

यसैबिच प्रतिनिधि सभाका पूर्व सदस्य एवं एमाले नेता तिलक महतले सदरमुकाम निर्माणका लागि कावासोतीमै सम्पर्क कार्यालय खोल्नु पर्ने बताउनु भएको छ। भरतपुरमा मुख्य कार्यालय हुँदा समस्या भएको भन्दै निर्माणस्थल कावासोतीमै सम्पर्क कार्यालय खोल्नु पर्ने उहाँको भनाइ छ। 

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले सम्पर्क कार्यालयका लागि आफू आफ्नै कार्यालयका कोठा दिन तयार रहेको र तत्काल बोर्ड राखेर काम गरेपनि हुने बताउनुभयो।