• २२ असार २०८१, शनिबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), असार २० गते । विद्यार्थीलाई पढाइका साथै व्यावहारिक सिप सिकाउने उद्देश्यले कपाल काट्ने तालिम प्रदान गरिएको छ । बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले पढाइका साथै विद्यार्थीको रोजाइ अनुसारको सिपमूलक तालिम दिन थालेको हो । 

बेनी नगरपालिकाले सञ्चालन गरेको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रम अन्तर्गत विद्यालयले कक्षा ७ देखि १० सम्मका ३० जना विद्यार्थीलाई कपाल काट्ने सिप सिकाएको हो । एक महिनासम्म सञ्चालन भएको तालिमबाट विद्यार्थी राम्रोसँग कपाल काट्न सक्ने भएका छन् । सुरुवातमा कैँची समाउन र चलाउनसमेत कठिन मान्ने विद्यार्थी बिस्तारै कपाल काट्न पोख्त भइसकेको तालिमका प्रशिक्षक अभिषेक श्रेष्ठले बताउनुभयो । 

भविष्यमा ब्युटिसियन बन्ने लक्ष्य रहेकाले आफूले कपाल काट्ने तालिममा सिप सिक्न थालेको कक्षा ८ का छात्रा सरुना पुनले बताउनुभयो । उहाँले कपाल काट्ने सिपले आफूलाई भविष्यमा व्यावसायिक बन्ने बाटो खोल्नेसमेत बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले नियमित पठनपाठनपश्चात् साँझको समयमा दैनिक दुई घण्टा कपाल काट्ने तालिम लिएका विद्यार्थीलाई अहिले विद्यालयमा अध्ययनरत विद्यार्थीको कपाल काटेर अभ्यस्त गराउन थालिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तालिम निकै उपयोगी भएको छ । सिप सिकेका विद्यार्थीले आफ्ना साथीको कपाल काट्न थालेका छन् ।” विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त उनीहरूका रुचि र क्षमताको पहिचान र दक्षता विकास गराउन विद्यालयले सिपमूलक कार्यक्रमलाई अघि बढाएको प्रअ हमालको भनाइ थियो ।  

विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई व्यावहारिक ज्ञान पनि आवश्यक पर्ने भएकाले नगरपालिकाले जीवनोपयोगी प्राविधिक ज्ञान, सिप प्रदान गर्न कार्यक्रम सञ्चालन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । नगरप्रमुख केसीले भन्नुभयो, “विद्यार्थीको रोजाइ अनुसारको क्षेत्र छनोट गरेको विद्यालयले नगरपालिकासँग कार्यक्रमको सम्झौता गर्दछ । कार्यक्रम सञ्चालन गर्न हामीले प्रतिविद्यालयलाई एक लाख रुपियाँ उपलब्ध गराएका छौँ ।” कक्षा १२ पास गरेर विद्यालयबाट बिदाइ हुँदा केही न केही सिकेर जाऊन् भनेर नगरपालिकाले सिपमूलक कार्यक्रम सञ्चालन गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उच्च शिक्षा पास गरेपछि केही न केही सिप सिकून् भनेर अभ्यास गरेका छौँ । कतिपय विद्यार्थी व्यावसायिक पनि बनेका उदाहरण छन् ।” 

दुई हप्ताको प्लम्बिङसम्बन्धी तालिम दिएको बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाले तालिमबाट सिकेको सिप विद्यार्थीले गाउँघरमा प्रयोगमा समेत ल्याउन थालेको बताउनुभयो । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाभित्र रहेका १६ वटा सामुदायिक माध्यमिक विद्यालयलाई नगरपालिकाले सिपमूलक तालिम सञ्चालन गर्नका लागि एक/एक लाखका दरले बजेट उपलब्ध गराएको छ । दुई वर्षको अवधिमा करिब दुई हजार विद्यार्थीले व्यावहारिक सिपमूलक तालिम लिएका छन् ।