• ३ जेठ २०८२, शनिबार

वाटरल्यान्ड पार्कमा झडप : दस जना पक्राउ, पाँच प्रहरी घाइते

blog

धनुषास्थित वाटरल्यान्ड अगाडि जम्मा भएका आक्रोशित विद्यार्थी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, जेठ ३ गते । 
धनुषाको छिरेश्वरनाथ नगरपालिका–१, स्थित रमदैयामा रहेको वाटरल्यान्ड झडप हुँदा दस जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार वाटरल्यान्ड पार्कले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै विशेष छुटको घोषणा गरेको थियो ।

सो अफरको फाइदा उठाउँदै शनिबार एकैपटक ठुलो सङ्ख्यामा विद्यार्थीहरू पार्क पुगेपछि अत्यधिक भीड बढेको थियो । स्थिति नियन्त्रण बाहिर जाने सङ्केत देखिएपछि पार्क प्रशासनले थप प्रवेशमा रोक लगाएको थियो । त्यही विषयलाई लिएर विद्यार्थी र व्यवस्थापनबिच विवाद चर्किएर झडपमा र तोडफोड भएको हो ।

उहाँले स्थितिलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् भने दस जनालाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन चार राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको उहाँले बताउनुभयो ।

आक्रोशित विद्यार्थीले सडक अवरुद्ध गरेर बाटोमा गुडिरहेका सवारीसाधनमो समेत तोडफोड गर्न थालेपछि १० जनालाई नियन्त्रणमा लिइएको हो । झडपको क्रममा विद्यार्थीले प्रहार गरेको ढुङ्गामुढाबाट पार्कको मुल गेट, छेउका संरचना र सजावटमा क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ । वाटरल्यान्ड पार्कका प्रबन्ध निर्देशक गुड्डु जैनसँग घटनाबारे प्रतिक्रिया लिन खोज्दा उहाँसँग सम्पर्क हुन सकेन ।