• २२ असार २०८१, शनिबार

कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

blog

काठमाडौँ असार १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ । 

पार्टी केन्द्रीय कार्यालयमा आज भएको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको छ । बैठकले कांग्रेस र एमालेबिच भएको सहमतिअनुरूप गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मङ्गलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिनुभएको थियो । सचेतक चौधरीले विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने बताउनुभयो । रासस