• २४ असार २०८१, सोमबार

बालश्रम न्यूनीकरणका लागि सबैको साझा प्रयास आवश्यक

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, असार २१ गते। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले बालश्रम न्यूनीकरणका लागि सबैको साझा प्रयास आवश्यक भएको बताउनुभएको छ। 

मधेश प्रदेशको राजधानी जनकपुरधाममा लामो समयदेखि शिक्षा र बालश्रमको क्षेत्रमा काम गर्दै आएको आसमान नेपालले आयोजना गरेको मधेश प्रदेशमा बालश्रम र शिक्षा नीति सम्वाद कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले खास गरेर गरिबीका कारण बालश्रम हुने गरेको भन्दै राज्यले गरिबी अन्त्य हुने किसिमको नीति कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालय बाहिर रहेका विद्यार्थी नै प्राय बालश्रममा लाग्ने गरेको भन्दै बालश्रम गराउनु अपराध हो भन्ने कुराको प्रचारप्रसार हुनु आवश्यक भएको बताउनुभयो। 

बालश्रम नगराउनका लागि धेरै जसो कानुन निमार्ण भएपनि कार्यान्वयनको पाटो फितलो भएको कारण बालश्रम न्यूनीकरण एउटा चुनौतीको रुपमा अगाडि आएको बताउनुभयो। कार्यक्रममा मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री राजकुमार लेखीले विद्यालय बाहिर रहेका बालबालिका खास गरेर बालश्रममा लाग्ने गरेको भन्दै हरेक बालबालिकाको विद्यालयमा पहुँच हुने किसिमले प्रदेश सरकारले केही कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुभयो। 

उहाँले शिक्षाको समग्र सुधारका लागि मन्त्रालयले प्रदेश शिक्षा नीति ल्याउनका लागि ११ सदस्यीय निर्देशक समिति गठन गरी गृहकार्य सुरु गरिसकेको जानकारी गराउनुभयो। उहाँले विगतमा विद्यालयमा भौतिक संरचना निमार्ण मात्रै भएको भन्दै त्यसले शिक्षा क्षेत्र राम्रो हुननसक्ने बताउनुभयो। 

मन्त्री लेखीले सीमित श्रोत साधनका वाबजुद गरिब बिपन्न परिवारको बालबालिकालाई प्राथमिकतामा राखेर प्रदेश सरकारले कार्यक्रम ल्याउन लागेको बताउनुभयो। आसमान नेपालका अध्यक्ष राम प्रवेश यादवको अध्यक्षतामा भएको कार्यक्रममा आसमान नेपालका सुशासन सल्लाहकार गुरु सुवेदीले प्रदेश सरकारले समाजिक विकासको क्षेत्रमा कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो। 

कार्यक्रममा बालश्रमको अवस्था सन्दर्भमा आफ्नो प्रस्तुति गर्दै असमान नेपालका मणिराम अर्चायले प्रदेश भरीमा अझै पनि एक लाख ७२ हजार बालबालिका श्रममा रहेको त्यस मध्ये ५१ हजार उच्च जोखिममा रहेको बताउनुभयो। 

आसमान नेपालका दिपेन्द्र तिवारीले कामकाजको दौरान बालश्रममा लागेका ११६ जना बालबालिकासँग प्रत्यक्ष कुराकानी गरी के के कारण बालश्रम हुन्छ भनी यकिन गरी तिनै तहका सरकारलाई आसमानले सुझाव पाठाइ सकेको बताउनुभयो।