• २४ असार २०८१, सोमबार

गोटिहवास्थित अशोक स्तम्भ डुबानमा

blog

पानी परेपछि डुबानमा परेको ऐतिहासिक महत्त्व बोकेकोे गोटिहवास्थित अशोक स्तम्भ । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलवस्तु), असार २१ गते। कपिलवस्तुको गोटिहवामा अवस्थित क्रकुछन्द बुद्धको जन्मस्थल वर्षातको समयमा सधै डुबनमा पर्ने गरेको छ। अशोक स्तम्भ भएको ठाउँमा पानी निस्कने निकास नभएपछि हरेक वर्ष डुबान हुने गरेको हो। 

क्रकुछन्द बुद्धको जन्म स्थलको प्रमाण स्वरुप ऐतिहासिक महत्त्व बोकेकोे गोटिहवास्थित अशोक स्तम्भ अलपत्र अवस्थामा छ। अशोक स्तम्भ यसरी अलपत्र हुँदै जाँदा यो क्षेत्रको पुरातात्विक महत्त्व समेत संकटमा पर्दै गएको छ।

कपिलवस्तुको यो गोटिहवा गाउँमा क्रकुछन्द बुद्धको जन्म भएको प्रमाणित आधार यो अशोक स्तम्भ हो। यस क्षेत्रमा ईसापूर्वदेखि चौथो शताब्दीसम्म मानववस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन् गरिएका अवशेषबाट प्रमाणित भएको पुरातत्वविद् बताउँछन्।

स्थानीय अब्दुल मुसलमानका अनुसार यो अशोक स्तम्भमा कम्तिमा ५ फिट पानी जमेको र पानीले स्तम्भलाई नोक्सान पर्ने भएको हुँदा पनि सम्बन्धित निकायले व्यवस्था गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘कम्तिमा त्यस वरीपरी पिल्लर उठाएर टिनको छानो लगाइदिएको भए वर्षातको पानी त्यसमा खस्दैन् थियो होला।’ 

स्तम्भ गहिराइमा भएकोले वर्षाको समयमा सधै डुबानमा पर्नेको लुम्बिनी विकास कोष कपिलवस्तु सम्पर्क कार्यालयका प्रमुख मधवप्रसाद आचार्यले बताउनुभयो। 

संरक्षणको अभावमा स्तम्भको अस्तित्व खतरामा पर्दै गएको छ। करिब ११ फुट लामो स्तम्भको माथिको एक फुट भाग मात्र बाहिर देखिएको छ। त्यस्तै डेढ बाई डेढ मिटरको वर्गाकार भागको बीचमा स्तम्भ छ। दिनप्रति दिन यो क्षेत्र झन उजाड र संरक्षण बिहीन बन्दै गएको छ।