• २३ असार २०८१, आइतबार

अपराधका घटना बढे

blog

हेटौँडा समाचारदाता

हेटौँडा, असार २० गते । बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको देखिएको छ । सङ्गठित तथा आर्थिक अपराधका घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाको तथ्याङ्कले देखाएको छ । 

सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आर्थिक वर्ष २०७८÷७९ मा ५६३, आव २०७९/८० मा वृद्धि भई ९०४ पुगेकोमा चालु आवको साउनदेखि जेठ मसान्तसम्म एक हजार १८८ पुगेको छ । 

प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आवको जेठसम्म ज्यान सम्बन्धित ८७९, आत्महत्या सम्बन्धित ८८२, चोरी सम्बन्धित २४४, सामाजिक अपराध सम्बन्धित ७८०, सवारी सम्बन्धित २८६ र अन्य ४२८ अपराधसँग सम्बन्धित घटना भएका छन् । 

यस्तै आव २०७८/७९ मा चार हजार ४०५, आव २०७९/८० मा चार हजार ६७९ र चालु आवको जेठ मसान्तसम्म चार हजार ६८७ मुद्दा प्रहरी कार्यालयमा दर्ता भएको छ ।     

त्यस्तै चालु आवको जेठ मसान्तसम्म ३४१ लागुऔषध, ४४ कर्तव्य ज्यान, २५९ जबरजस्ती करणी, आठ मानव बेचबिखन तथा ओसारपसार, पाँच अपहरण तथा शरीर बन्धक, मादक पदार्थ बेचबिखन तथा ओसारपसार आठ, डाँका एक र अन्य २५ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चालु आवको जेठ मसान्तसम्म २५९ वटा जबरजस्ती करणी, ३८ बहुविवाह, ४९ जबरजस्ती करणी उद्योग, आठ वटा मानव बेचबिखन तथा ओसारपसार र दुई वटा बालविवाहसँग सम्बन्धित अपराधका घटना भएको तथ्याङ्क छ ।