• २२ असार २०८१, शनिबार

गोरखामा ११ विद्यालयको नतिजा शून्य

blog

गुणबहादुर रोका
सुलीकोट, असार १९ गते ।
 गोरखामा ११ वटा सामुदायिक विद्यालयको माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा शून्य आएको छ । पालिकाहरूबाट प्राप्त जानकारी अनुसार धार्चे गाउँपालिकाका सामुदायिक विद्यालयका सबैभन्दा बढी चार वटा विद्यालय, सिरानचोक गाउँपालिकाको तीन वटा सामुदायिक विद्यालय, आरुघाट गाउँपालिका दुई वटा विद्यालय, गोरखा नगरपालिका र सहिद लखन गाउँपालिका एक–एक विद्यालय शून्य प्रतिशत उत्तीर्ण भएका हुन् ।

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ गुम्बास्थित सूर्योदय मावि, वडा न ७ स्थित कालरात्रि मावि, बडा न ६ स्थित काशीगाउँको मञ्जुश्रीमाबि, वडा न ७ लापुवेशीस्थित प्रभातकिरण माविको एसइईको नतिजा शून्य प्रतिशत रहेको छ । त्यस्तै आरुघाट गाउँपालिकाको गणेश मावि र अलैचे माविको उत्तीर्ण सङ्ख्या पनि शून्य रहेको छ ।

गोरखा नगरपालिका–८ स्थित रत्नलक्ष्मी मावि डुम्रीडाडा र सहिद लखन गाउँपालिका १ स्थित महेन्द्र शक्ति मावि बक्राङका सहभागी परीक्षार्थीहरू कोही पनि उत्तीर्ण हुन नसकेको हुन् । यस्तैगरी, सिरानचोक गाउँपालिकाका २ वटा सामुदायिक विद्यालय नेपाने मावि केराबारी र हिमाली मावि गाँखुले कुनै पनि विद्यार्थी उत्तीर्ण गर्न नसकेका हुन् ।

गोरखा जिल्लामा तीन हजार ६२८ जनाले परीक्षा दिएकोमा एक हजार १६३ जनाले मात्र एसइई उत्तीर्ण गरे । त्यसमध्ये दुई हजार ४६५ जना परीक्षार्थीहरूको अबर्गीकृत एनजी भएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्रमुख रमेश प्रसाद मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा धेरै परीक्षार्थी भएको गोरखा नगरपालिकामा ७५८ जनामध्ये ३२४ जना परीक्षार्थी उत्तीर्ण भएका छन् भने पालुङटार नगरपालिकाबाट ५४७ जनाले परीक्षा दिएकोमा २३५ जना उत्तीर्ण भएका छन् । सहिद लखन गाउँपालिकाबाट २३९ ले परीक्षा दिएकोमा जम्मा ५१ जना उत्तीर्ण हुन सफल भएका छन् भने गण्डकी गाउँपालिकाबाट ३०४ जनाले परीक्षा दिएकोमा ९८ जना मात्र उत्तीर्ण भएका छन् ।

यसैगरी, चुमनुब्री गाउँपालिकाबाट ५५ जना परीक्षार्थी सहभागी भएकोमा १६ जना,  सिरानचोक गाउँपालिकाबाट २७१ जनाले परीक्षा दिएकोमा ७३ जना र आरुघाट गाउँपालिकाबाट ३१४ जना परीक्षार्थी सहभागी भएकोमा ९९ जना उत्तीर्ण भएका छन् ।

यस्तै, भीमसेन थापा गाउँपालिकाबाट २८६ जनाले परीक्षा दिएकोमा १०२ जना, अजिरकोट गाउँपालिकाबाट २०६ जनाले परीक्षा दिएकोमा ३६ जना,  बारपाक सुलिकोट गाउँपालिकाका २९७ जनाले परीक्षा दिएकोमा ६४ जना र धार्चे गाउँपालिकाबाट २०४ जना सहभागी भएकोमा १६ जना मात्र उत्तीर्ण  भएका शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ । 

विगतकाल वर्षहरूमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने संस्थागत विद्यालयहरू समेत नतिजा कमजोर देखिएको छ । यस वर्ष सामुदायिक विद्यालयअन्तर्गत पालुङटार नगरपालिका– ४ स्थित अमरज्योत माविले समेत उत्कृष्ट नतिजा दिन नसकेको हो ।

अहिले जिल्ला भरिका स्थानीय तहहरूले शिक्षा क्षेत्रमा लगानी बढाएता पनि नतिजा कमजोर आएको शिक्षाविद् तथा प्राध्यापक यदु अधिकारीले बताउनुभयो । उहाँका अनुसार शिक्षक अभिभावक र विद्यार्थीलाई परिचालन गरी शिक्षाको गुणस्तर बढाउनुपर्नेमा जोड दिनुभयो । गत वर्षको एसइईमा गोरखा जिल्लाबाट ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा अहिले भने ३३ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।