• २३ असार २०८१, आइतबार

अविवाहितलाई निर्वाह भत्ता

blog

तम्घास समाचारदाता 

तम्घास, असार २० गते । गुल्मी दरबार गाउँपालिकाले पालिकाभित्रका ३४ जना अविवाहित महिला र पुरुषलाई निर्वाह भत्ता प्रदान गरेको छ । पालिकाको नीति तथा कार्यक्रम अनुसार चालु आर्थिक वर्षमा ४० वर्ष उमेर कटेका महिला र ४५ वर्ष उमेर कटेका अविवाहित पुरुषलाई मासिक एक हजार रुपियाँका दरले निर्वाह भत्ता प्रदान गरेको सूचना अधिकारी नवराज घिमिरेले जानकारी दिनुभयो । निर्वाह भत्ता प्राप्त गर्नेमा महिला १६ र पुरुष १८ जना छन् । सोही कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिने नीति तथा कार्यक्रम रहेको उहाँको भनाइ छ । 

पालिका अध्यक्ष सरोजकुमार थापाले अविवाहित महिला पुरुषलाई एकल भएको अनुभूति हुन नदिन यस्तो कार्यक्रम ल्याइएको जानकारी दिनुभयो । इस्मा गाउँपालिकाले पनि ५५ वर्ष उमेर कटेका एकल पुरुष र ५५ वर्षमाथिका अविवाहित महिलाका लागि मासिक एक हजार प्रदान गर्दै आएको पालिकाका प्रवक्ता तथा उपाध्यक्ष पार्वती कुँवरले जानकारी दिनुभयो । मदाने गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी अविवाहित महिला र पुरुषलाई मासिक भत्ता दिने कार्यक्रम ल्याएको छ । ४० वर्ष उमेर कटेका महिला र ४५ वर्ष उमेर कटेका अविवाहित पुरुषलाई मासिक पाँच सय रुपियाँका दरले जीवन निर्वाह भत्ता दिने व्यवस्था गरेको मदानेका उपाध्यक्ष सरिता खड्काले जानकारी दिनुभयो ।