• २० असार २०८१, बिहिबार

शान्ति स्थापनामा ‘संवाद’ महत्वपूर्ण

blog

काठमाडौँ, असार १८ गते । समाजको विकास, स्थायित्व र रूपान्तरणका लागि ‘संवाद’ महत्वपूर्ण औजार रहेको एक कार्यक्रमका सहभागीले बताउनुभएको छ । 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल तथा दक्षिण एसियाली अध्ययन केन्द्र (सिनास) ले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँहरूले यस्तो बताउनुभएको हो ।  

‘संवाद एज अ डायलजिकल एप्रोच : अ पिस बिल्डिङ पर्स्पेक्टिभ’ नाम दिइएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अतिथि प्राध्यापक डा. कौशिकीले नेपाल मात्रै नभएर दक्षिण एसियाली मुलुक मौलिकता, भाषा, दर्शन र सभ्यताको मूल स्रोत समाज विकासका लागि संवाद शक्तिशाली औजार रहेको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको निरन्तरताका लागि पनि संवाद महत्वपूर्ण रहेको बताउनुभयो । 

पश्चिमी मुलुकमा द्वन्द्व र अशान्ति भयो भने मात्रै संवाद हुने गरेको भए पनि नेपाल तथा एसियाली मुलुकको दर्शन, सिद्धान्त, पद्धतिमा संवाद मिसिने गरेको कार्यक्रमका सहभागीले बताउनुभएको थियो । कार्यक्रममा सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीले समाजसँग जोडिएका हरेक पक्षमा संवाद महत्वपूर्ण आवश्यक रहेको बताउनुभयो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सिनाससँग भएको सम्झौताबमोजिम आइतबारको ‘पब्लिक स्पिकिङ’ कार्यक्रमको आयोजना गरिएको हो । सोही सम्झौताबमोजिम कौशिकीले विगत एक वर्षदेखि त्रिविमा द्वन्द्व, विकास र शान्तिसम्बन्धी विषयको प्राध्यापन गरिरहनुभएको छ ।