• १८ असार २०८१, मङ्गलबार

प्रविधिमैत्री बन्दै पहाडका किसान

blog

दिपायल समाचारदाता

दिपायल, असार १६ गते । शिखर नगरपालिका–८, तिल्तालीका दिनेश बलायरले दुई वर्षअघि गोरु जोतेर रोपाइँ गर्नुभएको थियो । खेतीपातीका लागि उहाँले घरमा हलगोरु पाल्नै पर्ने अवस्था थियो । यस वर्ष दिनेशले हाते ट्याक्टर जोतेर रोपाइँ गर्नुभएको छ । शिखर नगरपालिकाको कृषि शाखाले उहाँको खेतमा धान दिवससँग रोपाइँको आयोजना गरेको थियो जहाँ रोपाइँमा गोरुको सट्टा हाते ट्याक्टर प्रयोग गरियो । 

त्यस्तै आदर्श गाउँपालिका–१, सालगाउँका किसान शेरबहादुर खड्काको खेतमा पनि गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा धान दिवस मनाइयो । गत वर्षसम्म रोपाइँमा गोरुको प्रयोग गरिएकोमा यस वर्ष हाते ट्याक्टर र गोरु दुुवैको प्रयोग गरिएको छ ।

कृषक बलायर र खड्काको रोपाइँ गरिएको खेतमा गोरु जोतेर रोपाइँ गर्न गत वर्षहरूमा पूरै एक दिन समय लाग्थ्यो भने यस वर्ष चार घण्टाको अवधिमा रोपाइँ सकियो । हाते ट्याक्टरको प्रयोगले समय बचत हुनुका साथै गोरु पाल्नुुपर्ने झन्झट हटेको कृषक बलायरले बताउनुुभयो । “हाते ट्याक्टरको प्रयोगले हामी किसानलाई धेरै सजिलो भएको छ, उहाँले भन्नुुभयो, “समयको बचत भएको छ । गोरु पाल्नुुपर्ने झन्झट हटेको छ । उत्पादन पनि राम्रो हुने अपेक्षा गरेका छौँ ।”

पहाडमा पनि सजिलै हाते ट्याक्टरको प्रयोग गर्न सकिने कृषक खड्काले बताउनुभयो । “ट्याक्टर सानो भएका कारण पहाडका साँघुरा गरामा पनि जोत्न सकिन्छ । यसको प्रयोग रोपाइँमा मात्र नभएर हरेक समय खेत जोत्न सकिन्छ,” उहाँले थप्नुभयो ।

पछिल्लो समय जिल्लाका २५० भन्दा बढी किसानले हाते ट्याक्टरको प्रयोग गरी खेती गर्दै आएको कृषि ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले बताउनुभयो । प्रदेश, स्थानीय सरकार तथा गैरसरकारी सङ्घ संस्थाले अनुदानमा ट्याक्टर उपलब्ध गराउन थालेपछि हाते ट्याक्टर प्रयोग गर्ने किसानको 

सङ्ख्यामा वृद्धि भएको हो । हाते ट्याक्टरसँगै अन्य प्रविधि र कृषिसम्बन्धी ज्ञानको प्रयोग गर्दै प्रविधिमैत्री कृषि खेती गर्ने किसानको सङ्ख्या वृद्धि हुँदै भएको अवस्थीले बताउनुभयो । ज्ञान केन्द्रले धान रोप्ने मेसिन, धान, गहुँ चुट्ने थ्रेसरलगायत अन्य प्रविधिको पनि सफल परीक्षण गरिसकेको बताउनुुभयो ।

हाते ट्याक्टर वितरण

दुई वर्षमा २५० जना कृषकलाई हाते ट्याक्टर वितरण गरिएको छ । चालु आर्थिक वर्षमा सहकारी मन्त्रालयले डोटीका १५० जना कृषकलाई हाते 

ट्याक्टर वितरण गरेको कृषि विकास निर्देशनालय दिपायलका निमित्त प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो । 

यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय दिपायलले जिल्लाका ९० जना कृषकलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको छ । 

त्यस्तै कृषि ज्ञान केन्द्र र स्थानीय सरकारको ५० प्रतिशत अनुदानमा ६० वटा ट्याक्टर वितरण गरिएको छ । गत वर्ष कृषि विकास निर्देशनालयले ६० वटा ट्याक्टर, कृषि ज्ञान केन्द्रले ६० वटा ट्याक्टर ५० प्रतिशत अनुदानमा वितरण गरेको थियो । गत वर्ष साइन नेपाल नामक गैरसरकारी संस्थाले ४० वटा हाते ट्याक्टर र केही थान थ्रेसर निःशुल्क रूपमा कृषि समूहलाई उपलब्ध गराएको थियो ।

ट्याक्टरको माग बढ्यो

जिल्लामा हाते ट्याक्टर, धान रोप्ने मेसिन, थ्रेसर, पोलीहाउसलगायतका सामग्रीको माग बढेको कृषि विकास निर्देशनालय निमित्त प्रमुख पनेरुले बताउनुभयो । हाते ट्याक्टर पहाडमा सञ्चालन गर्न सहज र महिलामैत्री भएका कारण पनि माग बढ्दो हो ।

“यस वर्ष पाँच सयभन्दा बढी कृषकले हाते ट्याक्टरको माग गरेका थिए, उहाँले भन्नुभयो, “त्यसका लागि बजेटले भ्याएन । अर्को वर्ष पनि निरन्तरता दिने तयारीमा छौँ । युवा र महिला कृषकले ट्याक्टर खुबै रुचाएका छन् यसले कृषिमा युवा र महिलामा आकर्षण बढाएको छ ।” “गत वर्ष देखिएको ‘लम्पी स्किन,’ खोरेत रोगको महामारी फैलिएपछि धेरै गाईगोरुको मृत्यु भयो त्यस कारण पनि हाते ट्याक्टरको माग बढ्दै गएको हो,’’ कृषि विकास निर्देशनालय दिपायलका निमित्त प्रमुख पनेरुले भन्नुभयो ।

रोपाइँ गरेर मनाइयो धान दिवस

अमरगढी समाचारदाताका अनुसार किसानको खेतमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइएको छ । ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ विभिन्न स्थानमा २१ औँ राष्ट्रिय धान दिवस मनाइएको हो । बृहत् खाद्यान्न उत्पादन क्षेत्र तोकिएको गन्यापधुरा गाउँपालिका–३, सकायलफाँटका खेतमा रोपाइँ गरेर धान दिवस मनाएको कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख खेमराज पनेरुले जानकारी दिनुभयो । 

रोपाइँ गर्ने परम्परागत सांस्कृतिक कार्यक्रमको आयोजना गरी धान दिवस मनाइएको उहाँले बताउनुभयो । खेतमा ढोल, झ्याली बाजा बजाउँदै देउडा र चैत गीतको भाकामा पाँगो बनाउने चलन रहिआएको छ । पछिल्ला वर्षहरूमा यो सांस्कृतिक परम्परा हराउँदै गएपछि यस वर्ष गाउँका बुढापाका, जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका उपाध्यक्ष, प्रहरी नायब उपरीक्षकलगायत प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ, रिड कार्यालयका प्रमुखहरूको सहभागितामा सांस्कृतिक कार्यक्रमसहित धान दिवस मनाइएको हो । कृषि ज्ञान केन्द्रले सकायलका खेतमा रोपाइँ गर्न धानको मूल बिउ अनुदानमा वितरण गरेको थियो । केन्द्रका प्रमुख पनेरुले भन्नुभयो, “यहाँका करिब अढाई सय स्थानीयले १२ क्विन्टल धानको बेर्ना राख्नुभएको थियो । जलवायुमैत्री बढी वर्षा वा सुक्खा सहन सक्ने प्रविधियुक्त बिउ रोपेर उत्पादन बढाउने उद्देश्यले यस वर्ष यहाँ धान दिवस मनाएका छौँ ।” 

धानको बिउ उत्पादन गर्न ५० प्रतिशत अनुदान रकममा किसानलाई बिउ उपलब्ध गराइएको उहाँले बताउनुभयो । उहाँका अनुसार अनुदानमा बिउका साथै त्रिपाल, मिनी ट्रेलर, सिडबिन किसानलाई वितरण गरिएका छन् । यस जिल्लाको कुल खेतीयोग्य जमिनको छ हजार १२० हेक्टर क्षेत्रफलमा धान रोपिन्छ । यस वर्ष पर्याप्त वर्षा नहुँदा करिब ३५ प्रतिशत मात्रै रोपाइँ भएको उहाँले बताउनुभयो ।

बाजुरामा मनाइयो धान दिवस

बाजुरा समाचारदाताका अनुसार नौ वटै स्थानीय तहले भव्य रूपमा धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन् । ‘जलवायुमैत्री कृषि धान उत्पादनमा बृद्धि’ भन्ने मूल नाराका साथ स्थानीय तहले यो वर्षको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका हुन् । बुढीनन्दा, बडीमालिका, बुढीगङ्गा, त्रिवेणी नगरपालिका र हिमाली, स्वामीकार्तिक, जगनाथ, खप्तड छेडेदह तथा गौमूल गाउँपालिकाले धान दिवस मनाएका छन् । 

पालिकाकै आयोजनामा जनप्रतिनिधि, कर्मचारीलगायत किसानको खेतमा पुगेर धान दिवसलाई हर्ष र उल्लासका साथ मनाएको स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्षको धान दिवसमा प्रायः स्थानीय धानलाई बढी प्राथमिकता दिने गरी धान दिवस मनाएको छ ।” मानव स्वास्थ्यका लागि निकै फाइदाजनक रहेकाले यहाँका स्थानीयलाई यो वर्षको धान दिवसमा स्थानीय धान उत्पादनमा बढी उत्प्रेरित गर्दै आएको सो गाउँपालिकाका कृषि  प्राविधिक सहायक तीर्थबहादुर बुढाले बताउनुभयो ।

अधिकाशं ठाउँमा आकासे पानीको भरमा रोपाइँ हुने गर्दछ । यो वर्ष लामो खडेरीका कारण यहाँका धेरै ठाउँमा रोपाइँ हुन सकेको छैन । गत वर्षमा अहिलेसम्म ७० प्रतिशत धान रोपाइँ गरेको भए पनि यो वर्षमा पानी नपरेकाले ५० प्रतिशत मात्र धान रोपाइँ भएको अनुमान गरिएको छ  । बाजुरामा छ हजार ९१५ हेक्टर धान फल्छ भने १३ हजार १४० हेक्टर जमिनमा विभिन्न खालका उत्पादन गर्ने गरिएको कृषि ज्ञान केन्द्र बाजुराको तथ्याङ्क छ । 

कैलालीका खेत बाँझै     

अत्तरिया समाचारदाताका अनुसार असार १५ धान रोपाइँ दिवसमा कैलालीका किसानले बोरिङको भरमा रोपाइँ गरिरहेका छन्  । पश्चिम नेपालमा मनसुन भित्रिए पनि पर्याप्त वर्षा नभएपछि बोरिङबाट तानेको पानीकै भरमा रोपाइँ गर्नु परेको किसानले बताएका छन् । असार महिनाको मध्य  हुनै लाग्दा पनि खेतीपातीका लागि यहाँ पर्याप्त पानी परेको छैन ।  धेरै जसो खेत अहिले पनि बाँझै रहेका छन् । रोपाइँ  गरिसक्ने बेला वर्षा नभएपछि बोरिङको पानीको भरमा रोपाइँ गर्न थालेको धनगढी उपमहानगरपालिका–२  का कृषक श्यामराज भट्टले बताउनुभयो । 

“आकासे पानी पर्ला भनेर धेरै दिनसम्म धान रोपाइँ गरेनौँ,” आज पर्छ भोलि पर्छ भन्दैमा असारसमेत जान लागिसक्यो  तर अहिलेसम्म पानी परेन । बोरिङले सिँचाइ गरेर रोपाइँ गरिरहेका छौं,” उहाँले भन्नुभयो ।

पूर्वी  नेपालमा भने बाढीले वितण्डा मच्चाइरहेका बेला  पश्चिममा पानीको पर्खाइमा किसानले खेती लगाउनसमेत पाएका छैनन् । कैलाली  र कञ्चनपुर क्षेत्रका किसान बोरिङकै भरमा धमाधम रोपाइँ गरिरहेका छन्  ।  तीन महिना लामो खडेरीका कारण जमिनमुनिको पानीको सतह सुकेपछि केही स्थानमा बोरिङको पानीसमेत आउन छाडेको किसान चिल्लु चौधरी बताउनुहुन्छ । धान रोपेको खेतमा सुक्खा धाँजा फाट्न थालेको छ । 

उहाँले बोरिङकै भरमा यस वर्षको आधा रोपाइँ सकिसकेको जानकारी दिनुभयो । “पानी परेपछि रोापाइँ गर्ने आसमा बसेका हामी किसानलाई प्रकृतिले नै ठगेको छ,’’ उहाँले भन्नुभयो । कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीका अनुसार अहिलेसम्म बोरिङको भरमा मात्रै रोपाइँ भइरहेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस जिल्लामा कुल ८९ हजार ९३५ हेक्टर कृषियोग्य जमिनमध्ये ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती गर्ने गरिएको छ । कहिले वर्षा कम भएर कहिले वर्षा धेरै भएर किसानले धान तथा गहुँ खेतीमा क्षति बेहार्नु परेको छ । 

जल, मल र बिउको अभाव

दार्चुला समाचारदाताका अनुसार दार्चुलाका किसानले जल, मल र बिउको अभावमा धान खेती फस्टाउन नसकेको गुनासो गरेका छन् । २१ औँ राष्ट्रिय धान दिवस २०८१ को अवसरमा मालिकार्जुन गाउँपालिका–६, सलेतीमा आयोजित रोपाइँमा सहभागी किसानले सिँचाइका लागि पर्याप्त पानी नहुँदा धान रोप्न ढिलो भएको गुनासो गरेका हुन् । “छेउमै महाकाली बगेको छ तर हामीलाई रोपाइँ गर्न पानी छैन,” रोपाइँमा सहभागी किसान भागरथी अवस्थीले भन्नुभयो । उन्नत बिउ, जल, मलका साथै रोग किराबाट बचाउन समयमै औषधी नपाउँदा किसानले बर्सेनि ठुलो क्षति बेहोर्नु परेको उहाँको भनाइ छ । दार्चुलामा चार हजार ४८० हेक्टर जमिनमा धान खेती हुने गरेको र हालसम्म ५५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्रका प्रमुख सिद्धराज उपाध्यायले बताउनुभयो ।