• १७ असार २०८१, सोमबार

जर्मनीलाई नकआउटको डर

blog

डर्टमन्ड (जर्मनी), असार १५ गते । युरोपेली च्याम्पियनसिप–२०२४ अन्तर्गत शनिबारदेखि नकआउट चरण सुरु हुने छ । नकआउट चरणको पहिलो दिन आयोजक जर्मनी र डेनमार्कबिच तथा इटाली र स्विट्जरल्यान्डबिच भिडन्त हुने छ ।

नकआउट चरणमा जर्मनी र डेनमार्कबिचको खेल दुई अपराजित टिमबिचको एक मात्र भिडन्त हो । स्कटल्यान्ड र हङ्गेरीलाई हराउनुका साथै स्विट्जरल्यान्डविरुद्ध बराबरीमा खेली जर्मनी समूह ‘ए’ विजेता बनेको थियो । डेनमार्क भने स्लोभेनिया, इङ्ग्ल्यान्ड र सर्भियासँग बराबरीमा खेलेर नकआउटमा पुगेको हो ।

समूह चरणमा गरेको प्रदर्शनले जर्मनी क्वाटरफाइनलको हकदार देखिन्छ । यी दुईबिचका पछिल्ला खेल नियाल्दा पनि जर्मनी नै बलियो देखिन्छ । सन् २००७ पछि जर्मनीले डेनमार्कलाई हराएको छैन । यी दुई टिमबिच भएका पछिल्ला चारमध्ये तीन खेल बराबरीमा सकिएको थियो । यद्यपि डेनमार्कविरुद्ध खेल्दा जर्मनीसमक्ष नकआउट चरणमा आफ्नो कमजोर प्रदर्शनको डर हुने छ । पछिल्लो युरोमा जर्मनी अन्तिम १६ मै इङ्ग्ल्यान्डसँग पराजित भएको थियो । युरो २०१६ पछि जर्मनीले विश्वकप र युरो कपमा नकआउट खेल जित्न सकेको छैन । त्यसैले पनि जर्मनी सचेत छ । डेनमार्कले भने पछिल्लो युरो च्याम्पियनसिपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

युलियन नागेल्समानको प्रशिक्षकत्वमा रहेको जर्मनीले समूह चरणमा आठ गोल ग¥यो भने दुई गोल बेहोरेको थियो । यद्यपि प्रशिक्षक नागेल्समानसमक्ष डेनमार्कविरुद्धको खेलमा डिफेन्समा केही परिवर्तन गर्नुपर्ने बाध्यता भएको छ । सेन्टरब्याक जोनाथन ताह प्रतिबन्धित हुनुहुन्छ । अर्का सेन्टर ब्याक एन्टोनियो रुडिगरलाई तिघ्रामा चोट लागेको छ । डेनमार्कलाई पनि मिडफिल्डर मोर्टेन हुलमान्डको सेवा प्राप्त हुने छैन । उहाँ दुई पहेँलो कार्डको दर्शनपछि एकखेलको कारबाहीमा हुनुहुन्छ ।

स्विट्जरल्यान्ड–इटाली

गत विजेता इटालीले पहिलो प्रिक्वाटरफाइनलमा स्विट्रल्यान्डविरुद्धको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै युरो–२०२४ को अन्तिम आठमा पुग्ने प्रयास गर्ने छ । स्विट्जरल्यान्डले इटालीलाई हराउन नसकेको ३१ वर्ष भइसकेको छ । इटालीसँग ६१ पटक आमनेसामने हुँदा स्विट्जरल्यान्डले मात्र आठ खेल जितेको छ । यद्यपि स्विट्जरल्यान्डले शनिबार इटालीसँगको हारको व्रmमलाई भङ्ग गरेमा आश्चर्य हुने छैन । यस वर्ष स्विट्जरल्यान्ड अपराजित छ । सन् २०२३ मा पनि स्विट्जरल्यान्डले एक खेल मात्र हारेको थियो ।उपाधि रक्षा अभियानमा इटालीले अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन । अल्बानियालाई २–१ ले हराएको पहिलो खेलमा २३ सेकेन्डमै गोल बेहोरेको इटाली दोस्रो खेलमा स्पेनसँग १–० ले पराजित भएको थियो । क्राेएसियाविरुद्ध अन्तिम सेकेन्डमा गोल गरेर १–१ को बराबरी नतिजासहित इटाली बल्लतल्ल नकआउट चरणमा पुगेको हो । चालु प्रतियोगितामा स्विट्जरल्यान्ड अपराजित छ । पहिलो खेलमा हङ्गेरीलाई ३–१ ले हराएपछि स्विट्जरल्यान्डले स्कटल्यान्ड र जर्मनीसँग बराबरीमा खेलेको थियो ।

स्विट्जरल्यान्डका खेलाडी इटालीको फुटबल खेल्ने शैलीसँग परिचित छन् । गोलरक्षक यान सोमार, रिकार्डो रोड्रिगेज, रेमो फ्रुलर, नोह ओकाफर, मिचेल एबिस्चर, डान नोए, डेनिस जाकारिया, सिल्भन विडमर र जार्दान साकिरीसँग इटालियन सिरी एमा खेलेको अनुभव छ । इटाली र स्विट्जरल्यान्डबिच बर्लिनको रङ्गशालामा खेल हुने छ; जुन रङ्गशालामा इटालीका मिठा सम्झनाहरू छन् । सोही रङ्गशालामा इटालीले सन् २००६ मा फ्रान्सलाई टाइब्रेकरमा हराएर विश्वकप र सन् १९३६ मा अस्ट्रियालाई २–१ ले पराजित गरी ओलम्पिक फुटबलको उपाधि जितेको थियो । एपी