• ७ मंसिर २०८१, शुक्रबार

चिनियाँ दर्शनले उठाएको एक्षेए मार्ग

blog

एसियाली सभ्यतामा आधारित चिनियाँ दर्शनले उठाएको एक क्षेत्र एक मार्ग (एक्षेए मार्ग) पहलकदमी विश्वमाझ विरानो छैन । विश्वकै प्राचीन चिनियाँ दर्शनशास्त्र चौयीमा लाओत्सेको स्वर्ग, पृथ्वी र मानव मामिलाबीच ताओ (बाटो) ले सञ्चार गर्ने विश्वास प्रणाली स्थापित छ (हेइमिङ, वेन, सन् २०१७, चाइनिज फिलोसोफी, पेइचिङ : चाइना इन्टरनेसनल प्रेस, पृष्ठ ३७ र ४४) । ताओ त्यो मार्ग हो जहाँ मानिस हिँड्छ, जहाँ मानिसको जीवन–पद्धति बन्छ, त्यसका लागि मानिसलाई आध्यात्मिक–भौतिक बाटो चाहिन्छ, जहाँ मानिसले आफ्नो घर बनाउनु अगावै बाटो (सार्वजनिक शक्ति) बनाउँछ । ताओ जीवनको लक्ष्य हो, राज्यको लक्ष्य हो, चेतनास्तरको उन्नत अवस्थाको मार्ग हो ।

त्यसैगरी दार्शनिक कन्फुसियसको मानवतावाद (ऐजन,पृ. ३), दार्शनिक मोचीको विश्वव्यापी प्रेम ‘युनिभर्सल लभ’ (ऐ, पृ. ५३), दार्शनिक तोङ चोङसुको ‘स्वर्ग र मानवबीच वायु सञ्चारको सिद्धान्त’ (ऐ,पृ. ३८) उपयोगी दर्शन हुन् । दार्शनिक वाङ चोङको ‘संसारमा वायु (हावा) तत्त्व कसैको वसमा छैन’ (ऐ,पृ. ७०), चीन–नेपाल–भारत बौद्ध दर्शन ‘शून्यता’ (ऐ,पृ. ८३०, चान (ध्यान बुद्धिजम्) को दर्शन ‘दिमाग–मन (अक्सिजन) –वस्तु वा घटनाबीच कुनै न कुनै सम्बन्ध छ’ ऐ,पृ. ९३), दार्शनिक चाङ चाइको दर्शन ‘स्वर्ग र पृथ्वीबीच शुद्ध हावा (अक्सिजन) ले सञ्चार गर्छ’ (ऐ,पृ. १०८), दार्शनिक चु सीको दर्शन ‘मानव दिमाग (सोंच) र मनले ताओ (जीवन मार्ग, यसको भौतिक पद्धति वा राजमार्ग) सँग सङ्घर्ष गर्छ’ (ऐ, पृ. ११४) लगायतका चिनियाँ दर्शन सर्वकालिक बहुउपयोगी रहेका छन् । दार्शनिक चाङ थाइयानको ‘दुई–मार्ग विकासको सिद्धान्त (हरेकमा असल र खराब पक्ष हुन्छ’ ऐ,पृ . १३२), दार्शनिक चाङ चितोङको आधुनिक दर्शन ‘चाइनिज बडी, वेष्टर्न फङ्सन’ (ऐ, पृ. १३०), दार्शनिक सिओङ शिलीको ‘दिमाग र वस्तुबीच ताओ (मार्ग) ले निरन्तरता दिन्छ’ (ऐ,पृ. १३९) लगायतको दर्शन विश्वव्यापी ‘सजीव–सजीव’ र ‘सजीव–निर्जीव’ बीच व्यवहारमा उपयोगी छ । यसरी चिनियाँ दार्शनिक चरहरू पनि ‘विश्व एक घर, एक परिवारको सिद्धान्त’ वरिपरि घुमिरहेको मान्न सकिन्छ ।

चिनियाँ दर्शनले प्रत्येक सार्वभौम भू–परिवेष्टित जन–मनहरूमा स्वतन्त्र बाटो र राजमार्ग (ताओ) ले जोड्ने प्रयास गरिरहेको हुन सक्छ । ती भौतिक राजमार्गहरूले जनमनका सर्वाङ्गीण आवश्यकतालाई जोड्छ, आध्यात्मिक, भावनात्मक र मनोवैज्ञानिक सम्बन्धको एकतालाई जोड्छ । सबै छिमेकीहरूलाई जोड्छ । एसियाली समृद्धि, विश्वव्यापी समृद्धि र विश्वव्यवस्था सञ्चालनमा सहयोग गर्छ । यी सबै सहयोगहरूको ताओ (लक्ष्य मार्ग) विश्वशान्ति र एकता कायम गर्नु रहन्छ । उदाहरणका लागि चीनको सहयोगमा निर्मित कोदारी÷अरनिको राजमार्ग, काठमाडौँ–ललितपुर उपत्यका चक्रपथ आदि चिनियाँ दर्शनका ती निर्णायक सहयोगहरू हुन् जसले नेपालको सार्वभौमिकतामाथि प्रश्न चिह्न खडा गर्ने साहस गर्दैनन् । ती ताओले नेपालीका लागि स्वतन्त्रताको दोस्रो मार्ग निर्माण गरेका छन् । कसैलाई सहयोग गर्दा बदलामा त्योबाट केही पाउने आशा पर पञ्छाइ, उसलाई सहयोगद्वारा आत्मनिर्भर बनाउँ भन्ने चिनियाँ केन्द्रीय दर्शनमा लुकेको सैद्धान्तिक मूल्यप्रतिको बुझाइ आ–आफ्नो हुन सक्छ । यस पङ्क्तिकारले सार्वजनिक गरेको चीन (प्लस १) सँग नेपालसहित काजिकस्तान, कीर्गिजस्तान, ताजिकस्तान, अफगानिस्तान, मङ्गोलिया, लाओस र भुटान आठ भूपरिवेष्टित राष्ट्रहरू (प्लस ८) परस्परमा भौगोलिक सिमाना जोडिएका छन् जहाँ चिनियाँ नेतृत्वको दार्शनिक–भौतिक राजमार्ग सञ्जालको सहकार्यले एक देशबाट अर्को देश छिचोलेर प्रत्येक भू–परिवेष्टित जनआवश्यक्तालाई भू–जडित व्यवहारमा रूपान्तरण गर्नसक्ने १ जोड ८ क्षेत्रीय अवधारणा हो । १ जोड ८ क्षेत्रीय अवधारणाले एक्षेए मार्ग पहलकदमीसँग ‘सजीव–सजीव’, ‘सजीव–निर्जीव’ दर्शनको सम्बन्धसँग प्रेरणादायक सम्झौता गर्न सक्छ ।

नेपालको उत्तरी सँधीयार राष्ट्र चीनको ‘वान बेल्ट वान रोड’ अर्थात् एक्षेए मार्ग परियोजना आर्थिक दृष्टिकोणबाट मात्र नभई दीर्घकालीन रूपमा क्षेत्रीय र विश्वव्यापी आदेश सञ्चालनका लागि सहयोगार्थ आएको साझा एसियाली अवधारणा हुन सक्छ । त्यसकारण यसले प्राचीन सिल्क रोडको विशेषतालाई पुनर्जीवित गरी आधुनिक मानव र प्रकृतिबीच सन्तुलन कायम गर्दै मानवीय आवश्यकता परिपूर्तिका लागि सामूहिक दायित्व निर्वाह गर्ने दृष्टिगत मूल्यमाथि जोड दिँदै आएको छ । चीन सरकारले क्षेत्र र मार्ग (क्षेमा) पहलकदमीको निर्देशक सिद्धान्त ‘व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभ’ रहेको जनाउँदै ‘सन्तुलन, समावेशिता र समानता’ क्षेमा पहलकदमीको दर्शन रहेको स्पष्ट पारिसकेको छ (यिबेई वाङ, सन् २०१८ (नेपालमा प्रकाशन) : ‘दि बेल्ट एण्ड रोड इनिसिएटिव’, चीन : रेनमिन युनिभरसिटी प्रेस, उमेश कुमार ओझा (अनुवादक), के. पी. गौतम र किरण गौतम (सम्पादकद्वय) करेन्ट पब्लिकेसन प्रा. लि.(नेपाली प्रकाशक, पृ. १८७) । यसले मानवीय, सामुदायिक, सामाजिक आवश्यकता परिपूर्तिका लागि एक्षेए मार्ग नेतृत्वकर्ता समूह र निजी–सार्वजनिक साझेदारी (पीपीपी) कार्यमुखी संयन्त्रबीच समस्याको पहिचान, समाधानका उपाय र कार्यान्वयनमा केन्द्रित रहेको देखाउँछ ।

प्रारम्भ (आधुनिक एक्षेए मार्ग–क्षेमा पहलकदमी) :

चिनियाँ राष्ट्रपति सी चिनफिङले ७ सेप्टेम्बर २०१३ मा भूपरिवेष्टित राष्ट्र काजिकस्तान (कजकरखसस्थान) मा ‘सिल्क रोड इकोनोमिक वेल्ट’ सम्बन्धी पहिलो धारणा सार्वजनिक गर्नुभएको थियो । उहाँले इण्डोनेसियामा ३ अक्टोबर २०१३ मा ‘मेरिटाइम सिल्क रोड’ सम्बन्धी दोस्रो धारणा पनि सार्वजनिक गर्नुभयो । यसले छुट्टाछुट्टै अर्थ राख्न सक्छ । व्यापारिक राष्ट्र चीनले समुद्रसँग नजोडिएको मुलुक काजकस्तान र समुद्री मुलुक इण्डोनेसियासँग सहकार्य गरी प्रतिनिधिमूलक सुरुआतदेखि नै स्थलमार्ग (सिल्क रोड) र जलमार्ग (मेरिटाइम सिल्क रोड) को नेतृत्व गर्ने क्षेत्रीय भूराजनीतिक मत्वका स्थानहरू रोजेको हुन सक्छ । डिसेम्बर २०१३ मा आयोजित एक ‘केन्द्रीय आर्थिक–कार्य सम्मेलन’ आयोजनाले एक्षेए मार्गसम्बन्धी रणनीतिक योजनाको मस्यौदा तयार ग¥यो । चीन र रसियाबीच फेब्रुअरी २०१४ मा ट्रान्स–युरेसियन ट्रान्सपोर्टेसन सहितको एक्षेए मार्गलाई जोड्न सहमत भए । चिनियाँ प्रतिवेदन अनुरूप मार्च २०१४ मा एक्षेए मार्ग निर्माण कार्यसम्बन्धी निर्णय भयो । चीनले ‘सिल्क रोड फण्ड’ स्थापना गर्न नोभेम्बर २०१४ मा एसियाली–प्रशान्त आर्थिक सहयोगको बैठकमा ४० विलियन अमेरिकी डलर प्रक्षेपणको घोषणा ग¥यो । लगत्तै, यसको करिब दुई महिनापछि फेब्रुअरी २०१५ मा ‘एक्षेए मार्ग नेतृत्वकारी समूह’ स्थापना भयो । यसले मार्च २०१५ मा एक्षेए मार्गसम्बन्धी कार्ययोजना जारी ग¥यो । यसलाई लक्षित गरी डिसेम्बर २०१५ मा बेईजिङ ९चिनियाँ उच्चारण पेइचिङ० मा एसियाली पूर्वाधार लगानी बैङ्कको स्थापना भयो । चीनले मार्च २०१६ माएक्षेएमार्गलाई आफ्नो १३ औं पञ्चवर्षीय योजनामा समावेश गरी केन्द्रीय चिनियाँ नेतृत्व समूहद्वारा आयोजित १३ औँ बैठकमा प्रस्तुत एक्षेए मार्गसम्बन्धी व्यापक गहिरो सुधारका लागि नरम शक्ति (सफ्ट पावर) लाई महत्त्वपूर्ण उपलब्धि मानिन्छ । साथै, पेइचिङमा मे २०१७ मा आयोजित एक्षेए मार्गसम्बन्धी शिखर वार्तामा २९ राज्य प्रमुखहरू (हेड्स अफ स्टेट) सहभागी भएथे ।

साङ्गठनिक संरचना :

चिनियाँ राज्य परिषद् (चाइना स्टेट काउन्सिल) ले एक्षेए मार्ग नेतृत्वकारी (अग्रणी) संयन्त्रको भूमिका निर्वाह गर्दै आएको छ । यस संयन्त्र मातहतमा फष्ट–¥याङ्क भाइस प्रिमियरः झाङ गाओली )चाङ काओली) रहने व्यवस्था छ । यसअन्तर्गत चार भागमा कार्य विभाजन गरिएको छ – पहिलो, ‘कि पोलिसी एडभाइजर टु प्रेसिडेण्ट’ : वाङ हुनिङ दोस्रो, थर्ड–¥याङ्क भाइस प्रिमियर : वाङ याङ, तेस्रो, सेक्रेटरी–जनरल अफ दि स्टेट काउन्सिल : याङ चिङ । चौथो, स्टेट काउन्सिलर एण्ड करियर डिप्लोम्याट : याङ चिइची । यसरी वाङ हुनिङदेखि याङ चिइचीसम्मको ‘एकीकृत कार्य प्रणाली’ अन्तर्गत चिनियाँ विदेश मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग र वाणिज्य मन्त्रालयको एकीकृत कार्य संरचना बनेको छ । यसअन्तर्गत ‘दि इम्प्लिमेन्टेसन् अफिस फर एड्भान्सिङ दि ओविओआर चेयर’ः सु शाओशी रहने व्यवस्था छ । एक्षेए मार्गले कोर एरियाको रूपमा चीन, रसिया र मध्यएसियालाई केन्द्रित गरेको छ । यसले आफ्नो विस्तारित क्षेत्रका रूपमा एसियाका अन्य भागहरूलाई लक्षित गरेको छ । युरोप, अफ्रिका र अमेरिकी महादिपहरूलाई आफ्नो प्रभावित क्षेत्रका रूपमा लक्षित गरेको छ । चीनले आर्थिक, वैदेशिक नीति, सेना, घरेलु नीति र संस्कृति तथा पर्यटन गरी फरक फरक दृष्टिकोणबाट काम गर्ने उद्देश्य लिएको छ (कोण्डापाल्ली, श्रीकण्ठ र सिआओवेन, हु : सन् २०१७, ‘वान वेल्ट वान रोडः चाइना’ज ग्लोवल आउटरिच’, न्यु दिल्ली : पेण्टागन प्रेस, पृ. १–३,७ र १०) । सबै देशको आ–आफ्नै राष्ट्रिय स्वार्थ रहेजस्तै चीनले पनि आफ्नै राष्ट्रिय स्वार्थअनुरूप एक्षेए मार्गमाथि जोड दिँदै आएको छ । यसलाई चिनियाँ सपनाको रूपमा बुझ्न सकिन्छ । तर चीनले यो सपना आफ्नो मात्र नभएर अ रू देशको राष्ट्रिय सपना पूरा गर्न सहयोग गर्ने, सबैलाई अपनत्व महसुस गराई सदस्य राष्ट्रहरूको सम्प्रभूतामा कुनै आँच नआउने गरी सुरक्षा, समृद्धि र सुख (३ स) मा जोड दिँदै सदस्य राष्ट्रहरूलाई आत्मनिर्भर बनाउन प्रयत्नरत रहने जनाउँदै आएको छ । यसअनुरूप अ रू माथि चिनियाँ व्यवहार हेर्न वा यस महत्त्वाकाङ्क्षी योजनालाई उसका सहयात्री महाशक्ति राष्ट्रहरूले गरेका व्यवहारको परिणाम हेर्न बाँकी छ । यसरी यो चुनौती र अवसरका रूपमा आएको छ । चीनले आफैँ नेतृत्व चाहेको छैन, सर्जकका नाताले निर्माण प्रक्रियामा मात्र नेतृत्व गरेको जनाउँदै प्रस्तावित आर्थिक विकासका विभिन्न सिद्धान्तका लागि समान विशेषतासहितको खुलापन र समावेशितामाथि जोड दिने नीतिलाई बारम्बार दोहो¥याइरहेको छ । यद्यपि, नेपालले चिनियाँ सपनालाई कसरी आफ्नो राष्ट्रिय हितमा सदुपयोग गर्न सक्छ : त्यसमा भर पर्छ ।

पहिलो, ‘न्यू युरेसियन ल्याण्ड–ब्रिज’ –मध्यएसिया चीन–रसिया तथा युरोपः लियानयुङकाङबाट चियाङशु प्रान्त इकोनोमिक कोरिडोर हो । दोस्रो, ‘चाइना सेन्ट्रल एसिया–वेष्ट एसिया’ (सिन्जियाङ–पर्सियन गल्फ–मेडिटेरियन एण्ड अरेबियन पेनिनसुला) इकोनोमिक कोरिडोर हो । तेस्रो, ‘चाइना–पाकिस्तान’ (खसगरबाट पाकिस्तानको ग्वादर र वरपर : चीनको सिगकियाङ, काराकोरम राजमार्ग हुँदै ग्वादर) बन्दरगाह र वरपर इकोनोमिक कोरिडोर हो । यसको भूराजनीतिक लक्ष्य सियान्जिङ र पाकिस्तानलाई जोड्न भू–प्रणाली बनाउने र त्यसपछि हिन्द महासागरमा प्रवेश गर्ने रहेको छ । चाैँथो, ‘चाइना–मङ्गोलिया–रसिया’ (पेइचिङ–तियानचिन–हेइपेइ–उत्तर पूर्व–मङ्गोलिया) हो । मङ्गोलियालाई ‘घाँसे रेशम मार्ग’को रूपमा चिनिन्छ । पाँचौं, ‘चाइना–इण्डोनेसिया पेनिनसुला’ (युनान र क्वाङ्सीः दक्षिण पूर्वी चीनबाट सुरु भएर भियतनाम–लाओस–कम्बोडिया–म्यानमार–थाइल्याण्ड–मलेसिया–सिङ्गापुर द्रुतगति रेलमार्ग) इकोनोमिक कोरिडोर हो । छैठौं, परिधीय कूटनीतिमा जोड दिने यो कोरिडोर ‘बङ्गलादेश–चाइना–इण्डिया–म्यानमार’ (चीनको कुनमिनदेखि भारतको कलकत्तासम्म सडक र रेलबाट जोड्ने : चीनको दक्षिण–पश्चिमबाट म्यानमार र बङ्गलादेश हुँदै भारत र दक्षिण–पश्चिम एसिया ल्याण्ड–ब्रिज) इकोनोमिक कोरिडोर हो । यसले पूर्वी एसिाया, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियालाई जोडेको छ (पिलियाङ हु, सन् २०१८:‘ सी .पी. आइ. एफ. ए. दि चाइनिज पिपुलल्स इनिष्टिच्युट अफ फरेन एफेयर्स जर्नल दि १२७ औँ अङ्क स्प्रिङ २०१८ः बेल्ट एण्ड रोड इनिसिएटिब्स, ह्वाइ : ह्वाट : हाउ :’ पृ. ४४–४७) ।

साझेदारहरू र रणनीति :

क्षेमा पहलकदमीलाई विश्वव्यापी साझेदारी सञ्जालको रूपमा विकास गरी अगाडि बढाउने सन्दर्भमा चीनका साझेदार देशहरूको रणनीति यस्तो छ : चीन–अमेरिका ‘रचनात्मक रणनीतिक साझेदारीको सम्बन्ध’ छ । चीन–जापान ‘पारस्परिक लाभको रणनीतिक सम्बन्ध’ छ । चीन–रुस ‘समन्वयको विस्तृत रणनीतिक साझेदारी’ सम्बन्ध छ । चीन–पाकिस्तान ‘सबै अवस्थामा समन्वयको रणनीतिक सम्बन्ध’ छ । चीन–उत्तर कोरिया ‘परम्परागत मैत्री साझेदारी’ सम्बन्ध छ । चीन–(भियतनाम, कम्बोडिया, थाइल्यान्ड, म्यानमार, लाओस) ‘समन्वयको विस्तृत रणनीतिक साझेदारी’ सम्बन्ध छ । चीन– (बेलायत, फ्रान्स, इटाली, स्पेनलगायतका देशहरूसँग) ‘विस्तृत रणनीतिक साझेदारी’ सम्बन्ध छ । चीन–जर्मनी ‘रणनीतिक साझेदारी’ सम्बन्ध छ । चीन– (दक्षिण कोरिया, इजिप्ट, भारत, टर्की, श्रीलङ्का, अफगानिस्तान) ‘रणनीतिक सहयोगी साझेदारी’ सम्बन्ध छ ।

चीन–(पोल्यान्ड, कजाखस्तान, क्यानडा लगायतका देशहरूसँग) ‘रणनीतिक साझेदारी’ सम्बन्ध छ । चीन– (क्रोसिया, बङ्गलादेश, नेपाल, नेदरल्यान्डलगायतका देशहरूसँग) ‘विस्तृत साझेदारी’ सम्बन्ध छ (यिबेई वाङ,सन २०१८,पृ. ९७–९८) । प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा १७–१८ डिसेम्बर २०१४ मा नेपाल–चीन संयुक्त आर्थिक एवम् व्यापारिक कमिटीको ११औँ सत्रमा ‘सिल्करोड इकोनोमिक बेल्ट’ मा सम्झौता भयो । एक्षेएमार्गलक्षित एसियाली पूर्वाधार लगानी बैङ्कमा नेपाल संस्थापक सदस्य राष्ट्र बनेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ मे २०१७ मा ‘नेपाल–चीन एक्षेए मार्ग पहलकदमी’मा नेपाल सम्मिलित हुने सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । लगत्तै, तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले एक्षेए मार्ग शिखर सम्मेलनमा सहभागिता जनाउनु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले १९–२४ जुन २०१८ मा ‘नेपाल–चीन रेल्वे परियोजना’ सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले २४ अप्रिल–१ मे २०१९ मा सम्पन्न एक्षेए मार्ग पहलकदमीको दोस्रो सम्मेलनमा ‘केरुङ–काठमाडौँ रेलमार्ग’ निर्माणको काम सोही वर्षदेखि सुरु गर्नेगरी हस्ताक्षर गर्नु भएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ का लागि गरिएका यी साझा प्रयत्नहरू नेपाली सपनासँग जोडिएका छन् ।

निष्कर्षः

चिनियाँ दार्शनिक चाङ थाइयानले एउटा विश्वप्रसिद्ध सिद्धान्त प्रतिपादन गरेका छन् : ‘दुई–मार्ग विकासको सिद्धान्त’ । यस सिद्धान्तअनुसार हरेकको असल र खराब दुई पक्ष हुन्छ । हरेक महत्त्वाकाङ्क्षी योजना, आयोजनाहरूको असल र खराब पक्षलाई यो सिद्धान्तले पनि स्वीकार गर्छ ।एक्षेएमार्ग (क्षेमा पहलकदमी) जस्ता कुनै पनि अन्तर्राष्ट्रिय महत्त्वाकाङ्क्षी योजना, आयोजनाको सदुपयोग र दुरुपयोगका पाटाहरू हुन सक्छन् । दुरुपयोग, पारस्परिक निषेध, सामरिक खेल र राष्ट्रघातको व्यवहारबाट होसियार हुँदै, जोगिंँदै, जोगाउँंदै असलका अवसरहरूलाई मात्र छनोट गरी राष्ट्रिय हितमा सदुपयोग गर्नु नेपाली सार्वभौम आवश्यकताको घरेलु सवाल हो ।

                                                                                                          

                            (लेखकले त्रिभुवन विश्वविद्यालयबाट नेपाल–चीन सम्बन्धमा विद्यावारिधि शोध गरिरहनु भएको छ ।)