नेपाली भाषामा ‘धरहरा’ संस्कृतबाट आएको शब्द हो । संस्कृतमा सेतो घरलाई ‘धवल गृह’ भनिन्छ । नेपाली भाषाको बोलीचालीमा अग्लो घरलाई धररा, धलरा, धजरा, धलहरा, धहरा वा धरहरा पनि भन्ने गरिन्छ । सरला मानन्धरले संशोधन मण्डलको ‘अभिलेख सङ्ग्रह अङ्क १२’लाई उद्धृत गर्दै ‘धरहरा (भीमसेन स्तम्भ) सङ्क्षिप्त परिचय’मा यो अर्थ खुलाउनुभएको छ । मुगल भाषामा मस्जिदको ‘मिनार’ शब्दको अर्थ पनि अग्लो स्तम्भ भन्ने बुझिन्छ । माइकल हटले नेपालका तत्कालीन धरहराहरू आग्रामा रहेको ताजमहलको चार कुनामा उभिएका मिनारहरू वा दिल्लीमा रहेको (दिल्लीका सुल्तानद्वारा वि.सं. १२५६ ताका निर्मित) कुतुब मिनारको नमुनाअनुसार निर्माण गरेको लेख्नुभएको छ (क्याम्ब्रिज युनिभर्सिटी प्रेसद्वारा प्रकाशित ‘जर्नल अफ एसियन स्टडिज’ : ६,७) । प्रा. डा. गोपाल शिवाकोटीद्वारा लिखित ‘राजनीतिक शब्दकोश’अनुसार परम्परागत रूपमा सैनिक प्रयोजनका लागि अग्लो स्तम्भ खडा गरेकोलाई ‘धरहरा’ भनिन्छ ।
नेपालमा मुख्तियार जनरल भीमसेन थापाले सैनिक गतिविधि निरीक्षण गर्ने, बिगुल बजाएर सैनिक एकत्रित गर्नेजस्ता कार्यका लागि धरहरा निर्माण गराउनुभएको थियो । भित्रबाटै माथिसम्म जाने सिँढी भएको अग्लो, डोलो संरचना, कीर्तिस्तम्भ र मिनार धरहरा हो भनी लेखिएको छ (शिवाकोटी, २०७६ काठमाडौँ : पैरवी प्रकाशन : ४८२) । भीमसेन थापाको जन्म वि.सं. १८३२ साउन ९ गते जनरल अमरसिंह थापा (सानाकाजी) र सत्यरूपातर्फका पाँच छोरामध्ये ज्येष्ठ पुत्रका रूपमा गोरखाको पीपलथोकमा भएको थियो । उहाँले तत्कालीन नेपाल राष्ट्र निर्माणका लागि नेपाली सेनाको पुनर्संरचनासँगै समाज सुधारसम्बन्धी विकास निर्माणका कार्य गर्दा राष्ट्रिय प्रतिरक्षाको अवधारणा मनन गर्नुभएथ्यो । त्यो पृष्ठभूमिमा टेकेर जनरल भीमसेन थापाले धरहरा बनाउनुको मुख्य उद्देश्य यस्तो छ :
“अंगरेजले हरिहरपुरमा र मकवानपुरमा लस्कर चढाउँदा चु-या (चुरे)को सरहदभया पनि ढेरै हो भनी सब भारा ५ ले सल्लाह ठहराउँदा चु-याका सरहदको अह्द भै घा भये छ तरि (तराई) छुट्न जाँदा ढेरै (धेरै) नोक्सान भयाको देषी त्यो तरिमा हाम्रा ढेरइ भारदारका षानगी (खानकी) छ त्यो छुट्यो भन्या ढेर नोकसान हुनगयो भनी अंगरेजसँग उजूरगर्दा तरीको बदला २ लाषा (लाख) रुपैया लारडशाहेवको दस्षतले कम्पनीका घरबाट आउल्ला भन्या अहद भै आउँदा तेसमा दुइ लाष रुपैया लिन्न भनी तिमिले अडी पछि गाडनशाहेवसित जवाप सवाल जुक्ति सिपारस (सिफारिस) गरी तरी छुटाइ आफ्ना इलाका गरी फेरि सिवाना बाधि मिनार स्मेत (धरहरा) षडाभयाको रहेछ ।”
काठमाडौँको सुन्धारा क्षेत्र परिसरमा उभिएको ऐतिहासिक पुरातात्विक धरहरा र अन्य टावर, भ्युटावरको आ–आफ्नै महत्व र विशिष्टता छन्, जुन एकअर्कामा तुलना हुन सक्दैनन् ।
तसर्थ तराई फिर्ता लिएको प्रतीकस्वरूप धरहरा निर्माण गरिएको थियो । यसलाई विस्तृत उपोद्घातका रचयिता नयराज पन्त, धनवज्र वज्राचार्यद्वारा सम्पादित, नेपाल–सांस्कृतिक परिषदद्धारा वि.सं. २०१९ मा प्रकाशित ऐतिहासिक ‘पण्डित सुन्दरानन्दविरचित त्रिरत्न–सौन्दर्य–गाथा’को पृ. ३०९–३११ मा पनि छापिएको छ । ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ पृ. १८३ चित्तरञ्जन नेपाली तेस्रो संस्करण २०३५ र त्यसपछिका संस्करणमा समेत यो ऐतिहासिक विवरणको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालयबाट हालसाल प्राप्त अभिलेखमा भएका यससम्बन्धी लालमोहरसमेत समावेश भएको छ । नेपाल–अङ्ग्रेज युद्ध वि.सं. १८७१–१८७३ दौरान अङ्ग्रेज सेनाको अत्याधुनिक शक्तिशाली डफ्फा १८७२ साल फागुन २० मा बागमती तरेर जुरजुरे पुगेपछि हरिहरपुर र मकवानपुर क्षेत्रका नेपाली पक्षसँग भएको अन्तिम प्रत्याक्रमण युद्धको परिणामले नेपाल र अङ्ग्रेज दुवै पक्षका लागि सुगौली सन्धि गर्न बाध्य हुनुपरेको थियो (थापा, टेकबहादुर ‘मदन’ र थापा शैलेन्द्रबहादुर/२०७८ । ‘एकीकरणका बडाकाजी भाग २’, काठमाडौँ : इन्द्रदेवी थापा र अस्मिता थापा : पृष्ठ ११५, ११६) । उपरोक्त मितिको चार दिनको अन्तराल १८७२ साल फागुन २४ मा ‘सुगौली सन्धि’ भयो । त्यसको नौ वर्षपछि मुख्तियार भीमसेन थापाले १८८१ साउनमा आफ्नो नाममा रहेको निजी निवास ‘जनरल बागदरबार’को बगैँचा परिसरमा १२४ हात उचाइको ११ तला भएको पहिलो धरहरा निर्माण गर्नुभयो । पहिलो धरहरा निर्माण भएको एक वर्षपछि राजा रणबहादुर शाहकी रानी राजमाता ललितत्रिपुरसुन्दरीदेवीले पहिलो धरहरासँग जोडी बाँधिदिने इच्छा राख्नुभएअनुरूप वि.सं. १८८२ मा मुख्तियार जनरल भीमसेन थापामार्फत अर्को तत्कालीन ९० हात उचाइको ११ तले धरहरा निर्माण गराउनुभएको हो ।
कतिपय स्रोतमा पहिलो वि.सं. १८८१ र दोस्रो वि.सं. १८८२ मा निर्मित धरहराको मिति नै अन्यथा उल्लेख भई फरक फरक लेखिएको पाइएकाले त्यसबाट भ्रम उत्पन्न नहोस् भनेर बगाले थापा कल्याणकारी परिषदद्धारा वि.सं. २०५४ मा प्रकाशित ‘अमरगाथा स्मारिका’ पृ. ३ मा ‘धरहराको निर्माण’ उपशीर्षक तथा त्यसमा छापिएका पाद टिप्पणी नं. ३ र ४ का तथ्यलाई हेरौँ :
‘भीमसेन थापाको नामसँग जोडिएको अर्को महत्त्वपूर्ण कृति धरहरा हो । भीमसेन थापाको हातबाट दुईवटा धरहरा बनेको देखिन्छ । भीमसेन थापाले पहिलो धरहरा आफ्नो दरबार (बागदरबार)नजिकै (क) वि.सं. १८८१ साल श्रावण कृष्ण सप्रम्यांमा बनाएको हो । त्यसमा (ख) तिथौ रेवती नक्षत्र शुक्रम (सुकर्म ?) योग रविवासरे श्री जनरल भीम । (ग) ‘अमरगाथा’मा ‘सेन थापाले बनायाको धरहरा शुभम् ..’ वाक्यांश छन् । दोस्रो धरहरा निर्माणबारे यस्तो छ : ‘(क) स्वस्ति श्री संवत् १८८२ साल मिति सुदि १२ रोज (ख) ४ वैशाख महिनाका दिन जादा (ग) श्री मन्ममहाराजाधिराजपट्टराज्ञी श्री श्री मल्ललि (घ) ललितत्रिपुरसुन्दरीदेवीले यो धरहरा बनाउनु भै (ङ) तयार गरी गजूर च-हाउनु भयाको हो .. शुभम्।’
वि.सं. १८८१ मा बनेको पहिलो धरहरालाई वि.सं. १८९० को भूकम्पले भत्कायो, त्यसपछि पहिलो धरहराको पुनर्निर्माण भएन । वि.सं. १८८२ मा बनेको दोस्रो धरहरालाई १०८ वर्षपछि वि.सं. १९९० को भूकम्पले भत्काइदियो । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा भूकम्पबाट क्षतिग्रस्त काठमाडौँ सहरको पुनर्निर्माण गर्ने क्रममा दोस्रो धरहराको दुई तला घटाई बार्दलीसमेत हालेर पुनः पुनर्निर्माण गरियो ।
‘देवमाला वंशावली’मा लेखिएको अर्को तथ्य हेरौँ : “श्री कमाण्डर इन चिफ जनरल भीमसेन थापाबाट देशी अंग्रेजहरू आउँदा इजजत खातिर र दुष्टजन लाग्दा हेर्न निमित्त विकुल लगाउना कोसमेत ठूलो परिश्रमले बडो मजबुतसंग जग राखी वि.सं. १८८२ सालमा अति उच्चो धरहरा बनाई तयार गरी धन्य कहलाया ।” त्यसैगरी डङ्कन फोब्र्समा (सङ्कलक र अनुवादक टेकबहादुर कार्कीलाई उद्धृत गर्दै) लेखिएको अर्को ऐतिहासिक तथ्य पनि हेरौँ :
“ब्रिटिश सँग भएको यस युद्धको बखत नेपालमा कार्यपालिकाको अधिकार भीमसेन थापाको हातमा थियो जो प्रसिद्ध नेता थिए । जसले गोर्खालीहरूले गरेको विजय अभियानबाट नेपाल राष्ट्रलाई अघि बढाएका थिए । उनले धरहरा बनाए जसलाई नेपालीहरू त्यो स्नेहले हेर्दछन् जसरी लण्डनवासीहरू मार्वल आर्चलाई हेर्दछन् ।” यसरी राष्ट्र निर्माणका लागि तत्कालीन राजमाता, राजा, मुख्तियार जनरल र सम्बद्ध भारदारको काम गर्ने एउटा अधिकारसम्पन्न कार्यसमूह थियो । सोही कार्यसमूहका राजमाता ललितत्रिपुरसुन्दरीदेवी र मुख्तियार जनरल भीमसेन थापा मिलेर राष्ट्रिय रणनीतिक महत्त्वको सैनिक प्रयोजनार्थ जोर धरहरा निर्माण गरिएको थियो ।
तत्कालीन राजा राजेन्द्रविक्रम शाहबाट जनरल भीमसेन थापालाई १८९२ साल असोज २८ मा लालमोहरद्वारा ‘कमान्डर–इन–चिफ’ पद प्रदान गरिएको थियो । नेपालमा कमान्डर–इन–चिफको पद पाउने पहिलो व्यक्ति भीमसेन थापा हुनुहुन्छ । त्यसै लालमोहरमा राजा राजेन्द्रले ‘म मरि मुलुक डुब्न्या छैन भीमसेन म-यो भन्या मुलुक डुब्न्याछ’ लेख्नुभएको वाक्यांश परेको छ । उनै कमान्डर–इन–चिफ भीमसेन थापाद्वारा निर्मित धरहराको माथिल्लो भित्री भागमा बसेर कोतपर्वअघिसम्म पनि सैनिक विगुल फुक्ने परम्परा थियो । यसरी पुरातात्त्विक ‘भीमसेन स्तम्भ (धरहरा)’ राष्ट्रिय गौरवको प्रतीकका रूपमा उभिई सार्वभौम राष्ट्र नेपाललाई अक्षुण्ण राख्दै आउनु नेपाली इतिहास निर्माण प्रक्रियाको एउटा अभिन्न गतिशील चरण हो । यो आन्तरिक तथा बाह्य पर्यटकको छनोटको केन्द्रमा रहेको राष्ट्रिय पुरातात्त्विक सम्पदा पनि हो । यस्ताखाले परम्परागत जगमा उभ्याइएका आधुनिक पुनर्निर्माणहरू रणनीतिक–सामरिक दृष्टिकोणबाट पनि महत्त्वपूर्ण मानिन्छन् । यस्तो ऐतिहासिक मानवनिर्मित संरचना काठमाडौँवासीका लागि मात्र नभई सिङ्गो मुलुकवासी र अन्तर्राष्ट्रिय जगतका लागि पनि शोभायमान छ ।
राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानद्वारा २०५८ साल चैत ८ मा एक कार्यक्रम आयोजना गरियो । मुख्तियार भीमसेन थापाले आत्म बलिदान गर्नुभएको १६३ वर्षपछि यो कार्यक्रम भीमसेन स्तम्भ परिसरमा आयोजना गरिएको थियो । कार्यक्रममा काठमाडौँको भीमसेन स्तम्भ परिसरमा भीमसेन थापाको सालिक निर्माणका लागि शिलान्यास गरिएको थियो । तत्कालीन राजपरिषद् स्थायी समितिका सभापति डा. केशरजङ्ग रायमाझी तथा काठमाडौँ महानगरप्रमुख केशव स्थापितको पनि यस कार्यक्रममा उपस्थिति थियो । भीमसेन थापाको २२८औँ जन्मजयन्तीको अवसरमा अर्थात् २०५९ साउनसम्म यो सालिक निर्माण गरी अनावरण गरिने योजनासमेत रहेको भनी शिलान्यासको समाचार २०५८ साल चैत २९ गतेको गोरखापत्रमा प्रकाशित छ । यसको कार्यान्वयन अझै हुन सकेको छैन ।
पुरानै यथावत् भौगोलिक बिन्दुभित्र पुनर्निर्माण भइरहेको हालको धरहरामा पनि ऐतिहासिक धरहराको अवशेष गजुर र शिवलिङ्ग रहने हुँदा त्यसको नाम पनि ‘भीमसेन स्तम्भ’ नै राख्नु देशको पुरातात्विक सम्पदा र राष्ट्रिय विभूति भीमसेन थापाप्रति कदर हुनेछ ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले नेपालको इतिहास लेखाउन बोलाएको भनिएका अङ्ग्रेज इतिहासकार पर्सिभल ल्यान्डनले भीमसेन थापाको धरहरालाई ‘भीमसेन स्तम्भ’ लेख्नुभएको सरला मानन्धरको आलेखमा उल्लेख छ । नेपाल सरकारबाट राष्ट्रिय विभूतिको नाममा राष्ट्रिय धरोहरको नामकरण गर्ने क्रममा धरहरालाई ‘भीमसेन स्तम्भ’ नामकरण गरिएको पाइन्छ । पुरानै यथावत् भौगोलिक बिन्दुभित्र पुनर्निर्माण भइरहेको हालको धरहरामा पनि क्रमशः राजमाता र भीमसेन थापाको ऐतिहासिक धरहराको अवशेष (गजुर र शिवलिङ्ग) रहने हुँदा त्यसको नाम पनि ‘भीमसेन स्तम्भ’ नै राख्नु देशको पुरातात्त्विक सम्पदा र राष्ट्रिय विभूति भीमसेन थापाप्रति कदर हुनेछ । ऐतिहासिक पुरातात्त्विक सिद्धान्त, व्यवहार, अभ्यासबमोजिम पुरानो धरहराको पुनर्निर्माण गरिएका कारण यसको पुरानै पुरातात्त्विक नाम ‘भीमसेन स्तम्भ (धरहरा)’ रहनुपर्ने स्वतः सिद्ध छ ।
हालको नयाँ संरचनामा परम्परागत निर्माण सामग्रीको सट्टा आधुनिक सिमेन्ट, कङ्क्रिट, आल्मुनियम लगायतका सामग्रीको प्रयोग भए पनि भीमसेन थापाद्वारा निर्मित पुरानो धरहराको १९ फिटको गजुरमा छ फिट थपी २५ फिटको गजुर राखिएको छ । मुख्तियार कमान्डर–इन–चिफ भीमसेन थापाले नेपाली धर्म संस्कृतिको मूल्य मान्यतासमेतलाई ध्यान दिई दैवीप्रकोप रक्षार्थ धरहराको माथिल्लो भित्री भागमा शिवलिङ्ग स्थापना गर्नुभएकाले ऐतिहासिक पुरातात्त्विक सम्पदा संरक्षणार्थ हाल पुनर्निर्माण भइरहेको धरहरामा पनि शिवलिङ्ग रहने नै छ ।
काठमाडौँको सुन्धारा क्षेत्र परिसरमा उभिएको ऐतिहासिक पुरातात्त्विक धरहरा र अन्य टावर, भ्युटावरको आ–आफ्नै महत्त्व र विशिष्टता छन्, जुन एकअर्कामा तुलना हुन सक्दैनन् । बरु राष्ट्रमा ओझेल परेर रहेका, पाताल धसिएका हाम्रा यस्ता अन्य धेरै ऐतिहासिक पुरातात्त्विक धरोहरसम्बन्धी राष्ट्रिय अध्ययन अनुसन्धानको दायरा बढाई तिनीहरूको पुनर्निर्माणमा जोड दिँदै जाँदा राष्ट्र निर्माणको ऐतिहासिक जग बलियो हुनेछ । राष्ट्रको इतिहास जति बलियो हुन्छ, उति त्यो राष्ट्रको पहिचान र अस्तित्व उँचो हुन्छ । यसबाट राष्ट्रिय हितमा थप सहयोग पुग्नेछ ।