• १४ असार २०८२, शनिबार

पानीको उकुसमुकुस (निबन्ध)

blog

बर्खामा अविरल वर्षा हुनु अनौठो होइन तर बर्खा सकिने बेलामा अविरल वर्षा हुनु अनौठै हुन्छ । पोहोर साल यस्तै भयो । पोहोर साल असोज ११ र १२ गते दुई दिन अविरल वर्षा भयो । दायाँबायाँ दुवैतिरबाट चेप्टिएको, मेरो घर जाने बाटोमै सानोतिनो खोला बग्यो । बाटोका दायाँबायाँका घरहरूबाट बगेको पानी त्यही बाटो भएर बग्दा बाटो नै खोला बन्यो । 

बाटोमा हिँड्ने पाइन्ट, सारी र सुरुवाल माथि सारेर हिँड्न थाले । मलाई बाल्यकालको याद आयो । यही बाटोमा बर्खाका बेला पाइन्ट माथि सारेर हिँडिन्थ्यो । अहिले जस्तो पानीले भिज्ला भनेर चाहिँ होइन है, हिलो लाग्ला भनेर । त्यतिखेर बाटो कच्ची थियो र गोरेटो मात्रै थियो । हिलोमा चिप्लिएर कैयौँचोटि लडियो । वरपर घरका मान्छे खितित्त हाँस्थे र जिस्क्याउँदै भन्थे, “लौ फलानोले माछो मार्‍यो ।” 

हिलाम्मे भएर घर पुग्दा बाआमाले पनि उसै गरी भन्थे, “लौ, केटाले माछो मारेर आएछ ।” त्यतिखेर हाम्रो गाउँघरतिर लड्नुलाई जिस्किएर भन्नुपर्दा माछो मार्नु भन्थे । लड्दा पनि ज्यानलाई केही हुन्नथ्यो किनभने बाटोमा हिलो माटो मात्रै हुन्थ्यो । ढुङ्गा, इँटा, ढलान अथवा पिच भए पो टाउकै फुट्थ्यो अथवा हातखुट्टा भाँच्चिन्थ्यो । हिलोमा लड्दा माछो जस्तै चिप्लिएर दुई हात पर पुगिन्थ्यो । दुख्न चाहिँ दुख्थ्यो, ढाड र पुट्टोमा तर त्यो दुखाई धेरै बेर रहन्नथ्यो । अनि दुखाइलाई बिर्सेर माछो मारेको सम्झेर आफैँ हाँसिन्थ्यो । लड्नुमा पनि बेग्लै मजा थियो । अहिले त्यस्तो मजा कहाँ छ र !

पहिला पहिला जति पानी परे पनि अथवा जति दिन पानी परे पनि खोला घरसम्म आउँदैनथ्यो किनभने खोला घरदेखि निकै पर हुन्थ्यो । खोला पनि फराकिलो हुन्थ्यो । फराकिलो खोला बाढीले अझै फराकिलो बनेर खेतैखेत भएर पनि बग्थ्यो । हामी खेत अथवा बारीका डिलमा बसेर बाढी हेथ्र्यौं र रमाउँथ्यौँ । कहिले बाढीले खोलाकिनारको धान खेत खसाल्थ्यो बङलङ..बङलङ.. । हामी पर बसेर कराउँथ्यौँ, लौ लग्यो..लग्यो खेतै लग्यो भनेर । कहिले बारीमा थुपारेको मकैको ढोडको कुन्यु नै बगाएर लान्थ्यो । हामी उसै गरी रमाइलो मानेर कराउँथ्यौँ, ढोडको कुन्यु नै लग्यो भनेर । बाढीमा बगेको ढोडको कु्न्यु हेर्दा सललल डुङ्गा बगे जस्तै लाग्थ्यो । बाढीले खोलामा खेल्दै गरेका हाँस पनि बगाएर ल्याउँथ्यो । सुँगुर पनि बगाएर ल्याउँथ्यो । सरसामान पनि बगाएर ल्याउँथ्यो । दाउरा पनि बगाएर ल्याउँथ्यो । सुरा केटाहरू बाढीको भेलमा पसेर त्यस्तो दाउरा छोप्ने आँट गर्थे, छोप्थे पनि । तिनका बाआमाले बाढीमा किन पसेको भन्दै प्रेमपूर्वक गाली गर्थे र दाउरा छोपेकोमा स्याबासी पनि दिन्थे । कस्तो अचम्मको बाआमाको गाली र माया । गालीमा पनि माया । यस्तो गाली त बाआमाले मात्रै गर्छन् । 

हामीले बाल्यकालमा मनोहरा खोलामा नुहाउने र पौडी खेल्ने गथ्र्यौं । उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र हनुमन्ते खोलामा पनि सङ्लो बानी बग्थ्यो तर पछि जनसङ्ख्या बढ्दै गयो, बस्ती बाक्लिँदै गयो । देशभरिका मान्छेले यहीँ घर बनाएर बस्न थाले । यहाँका पहेँलपुर धान फल्ने खेतमा घर फल्न थाले । हरियाली जमिन कङ्क्रिटले ढाकिन थाले । खेत र बारीका डिलमा उभिएर हेर्दा देखिने नागबेली खोला घरको छतमा चढेर हेर्दा पनि नदेखिने भए । कञ्चन पानी बग्ने खोला आँखाबाट ओझेल परे जस्ता भए । खोलाको कर्णप्रिय कलकल आवाज पनि सुनिन छाडे । मान्छे र मान्छेले चढ्ने गाडीको कोलाहलले निल्यो खोलाको कर्णप्रिय कलकल आवाजलाई । बर्खामा आउने बाढीको हुँकारलाई पनि निल्यो त्यो कर्णकटु कोलाहलले । 

पोहोर असोज ११ र १२ गतेको अविरल वर्षाले खोलामा बाढी आयो । खोला छेउछाउका घरमा बाढी पस्यो । बस्ती नै डुबानमा पर्‍यो । मान्छेले भन्न थाले बस्तीमा खोला पस्यो । म अलमलिएँ, यथार्थ के हो ? बस्तीमा खोला पसेको हो कि खोलामा बस्ती पसेको हो ? यस्तो सोच्दै गर्दा मेरो मन बेग्गिएर विगतमा पुग्छ । बाल्यकालमा पौडी खेलेको त्यो फराकिलो मनोहरा खोला । अनि खोलाको छेउछाउमा उस्तै फराकिलो बगर । त्यो बगरमा हामी फुटबल खेल्थ्यौँ । कपर्दी खेल्थ्यौँ । चङ्गा उडाउँथ्यौँ । अनि त्यही बगरमा कपडा सुकाउँथ्यौँ । गाईभैँसी र भेडाबाख्रा पनि चराउँथ्यौँ । त्यही बगरमा हुटिट्याउँका बथान बस्थे । बेला बेलामा कराउँथे हुटिट्याउँ.. हुटिट्याउँ गर्दै । कहिलेकाहीँ उत्तानो परेर आकाश थामेझैँ गर्थे तिनै हुटिट्याउँहरू । कति ठुलो भ्रममा बाँचेका छन् ती साना हुटिट्याउँ । अहिले कहाँ गयो त्यो बालुवैबालुवाले भरिएको र हरियो दुबोदेखि अनेकथरी घाँस उम्रिएको बगर ? आफन्त मर्दा त्यही बगरमा जलाएको र किरिया बसेको दृश्य अहिले पनि मेरो आँखामा साक्षात्कार हुन आइरहन्छन् ।

मैले धेरै सोचेँ, धेरै विचार गरेँ । धेरै चोटी आफैँलाई प्रश्न गरेँ बस्तीमा खोला पसेको हो कि खोलामा बस्ती पसेको भनेर । अन्तिममा मेरो मनले खोलामा बस्ती पसेको ठहर गर्‍यो । 

खोलाले कहिल्यै मान्छेको भाग खोसेन । कहिल्यै मान्छेको अहित सोचेन तर मान्छेले खोलाको भाग खोस्यो । मान्छेले खोलाको अहित सोच्यो । अनि क्रूरतापूर्वक खोलाको बगर अतिक्रमण गर्‍यो । खोला नै मिचेर संरचना निर्माण र बस्ती बसाल्यो । यसरी बगर अतिक्रमण गर्न र खोला मिच्न भूमाफियाले सघाए । स्थानीय जग्गा दलालले सघाए । अनि कुस्त कमाए र धनी बने । हेर्दाहेर्दै खोलाको बगर पनि व्यक्तिको भयो । कसरी भयो त्यो भूमाफियालाई नै थाहा होला । जग्गा किन्नेले खोलाछेउमै घर बनाए । अनि घरको ढल खोलामै मिसाए । स्वस्थ खोलालाई रोगी बनाए । त्यो ढलको दुर्गन्धले कति निस्सासियो होला खोला र खोलाको पानी ? त्यतिखेरको त्यो खोला र खोलाको पानीको उकुसमुकुस र दिगमिग हामी कल्पना मात्रै गर्दा पनि आफैँलाई उकुसमुकुस हुन थाल्छ । त्यो उकुसमुकुसको कल्पना मात्रैले पनि आङ जिरिङ हुन्छ । हरे, त्यो खोलाको दुर्दशा ! हरे, त्यो पानीको दुःखी नियति ? 

मान्छेले खोलाका दुवै किनार मिच्दै घरसंरचना निर्माण गर्दा खोला साँघुरिएर कुलो बन्यो । त्यही कुलोमा घर घरका ढल मिसिए । पानी पर्दा ह्वारह्वार्ती बग्दै आउने भेल पनि त्यही कुलोमा मिसिन थाले । अनि दुई वा तीन दिनसम्म अविरल वर्षा हुँदा सबैतिरबाट बग्दै आउने पानी त्यही कुलो जस्तो खोलामा मिसिँदा निस्सासिएको खोलाले निकास खोज्दा बस्तीमा पसेको हो र घर घरमा पसेको हो । त्यसमा त्यो खोलाको के दोष ? झ्यालढोका नै थुनेर कुट्न थालेपछि बिरालोले अन्ततः मान्छेको घाँटी नै अँठ्याउने हो । खोलाले पनि त्यही मात्र गरेको हो । मुहानबाट हाम फाल्दै सुसाउँदै बग्ने खोला बाढीमा उर्लिएर बगरैबगर हुनहुनाउँदै बग्छ । खोलाको त्यो स्वतन्त्रतालाई कुण्ठित गर्दै र उसको अधिकार खोस्दै कुलोमा सीमित पारेपछि खोलालाई कति उकुसमुकुस हु्ँदो 

हो ? अनि त्यही उकुसमुकुसबाट मुक्ति खोज्दै खोला बस्तीमा नपसेर कहाँ जाओस् ? यस्तो सम्झिँदा त बस्तीमा खोला पस्यो भनेर रोइलो गर्नेलाई खुचिङ पो भन्न मन लाग्छ त । कर्मको फल त जोसुकैले भोग्नै पर्छ नि । 

खोलाको पक्षमा बोल्दै गर्दा मैले एक पटक फेरि बाल्यकालका दिन सम्झेँ । चैत वैशाखका बेला खोलामा पानी सुक्थ्यो । खोलामा जरुवा मात्रै बाँकी रहन्थ्यो । यता घर टोलका इनारमा पनि पानी घट्थ्यो । सबैलाई पानी पुग्दैनथ्यो । गाग्री थाप्न रातिदेखि नै लामो समय पालो कुर्नुपथ्र्यो । पाइपवाला धारा आएकै थिएन । त्यस्तो आपत्को बेलामा हामी त्यही मनोहरा खोलाको जरुवा पानी पिउँथ्यौँ ।

पानी सुकेको खोलामा बालुवा खोतल्दै ठिक्क ठिक्कको खाल्डो बनाउँथ्यौँ । त्यसमा पानी रसाउँथ्यो तर धमिलो हुन्थ्यो । पाँगो माटो र बालुवा मिसिएको हुन्थ्यो । त्यसलाई सानो कुलेसो बनाएर तल बग्न दिन्थ्यौँ । त्यसरी बग्दा पाँगो माटो र बालुवा सँगसँगै गे्रगरहरू पनि थिग्रिँदै जान्थे । त्यसै गरी दुई/तीन वटा खाल्डो र कुलेसो बनाएर बग्न दिएपछि अन्तिम खाल्डोमा सफा र कञ्चन पानी जम्मा हुन्थ्यो । त्यही पानी बटुकाले उभाएर गाग्री भरेर घर लान्थ्यौँ र पिउँथ्यौँ ।

कहिलेकाहीँ खेल्दाखेल्दै तिर्खाले आकुलव्याकुल हुँदा त्यस्तो खाल्डोमा यत्तिकै मुख जोतेर तनतनी चिसो पानी पिउँथ्यौँ । हामी केटाकेटी एउटै खाल्डोमा पालैपालो थुतुनो गाडेर पानी पिउँथ्यौँ । त्यसैबेला हामीलाई ज्ञान भयो कि पानी कहिल्यै जुठो हुँदैन । माया पनि त्यस्तै हो, कहिल्यै जुठो हुँदैन । 

विगत सम्झिँदा अहिले पनि मेरो अधबैँसे मन त्यसै त्यसै रोमाञ्चित हुन्छ । तिर्खाले आकुलब्याकुल भएर मैले चिसो बालुवामा घुँडा धसेर, घोप्टो परेर त्यो कञ्चन, निर्मल र चिसो पानीमा मुख जोत्दा पानीलाई कति उकुस मुकुस हुँदो हो ? कति निस्सासिँदी हो पानी ? मैले त्यसरी निर्धक्कसँग म्वाइ खाएकोमा पानी लजाएर कति पानीपानी हुँदी हो ? अनि निसासिएर कति छटपटाउँदी हो ? म यतिखेर सोचिरहेछु, मैले त्यसरी मुखै जोतेर पानी पिउँदाखेरिको मिठो तरङ्ग र छचल्काइ त पानीको उकुसमुकुसको प्रकटीकरण पो रहेछ । निकासका लागि उसले गरेको मिठो विद्रोहको सुमधुर आवाज पो रहेछ त्यो तरङ्ग र छचल्काइ । 

बर्खामा बस्तीमा खोला पस्नु पनि खोलाको त्यही उकुसमुकुस र त्यही विद्रोह नै त हो । मान्छेले नबुझेको मात्रै हो अथवा बुझेर पनि बुझ पचाएको मात्रै हो ।