• ७ मंसिर २०८१, शुक्रबार

स्वस्थ्य रहन नुन कति खाने

blog

एसियाली सभ्यतालाई समुन्नत तरिकाले हेर्ने चिनियाँ दर्शनका किरण विश्व सभ्यतामाझ प्रक्षेपण हुनु अनौठो थिएन । चिनियाँ औषधी विज्ञानको अभिलेख अनुसार चीनमा आकाशमुनिका मानव समुदाय, प्राणीको सुस्वास्थ्यका लागि ईसापूर्व ३६०० वर्ष अगाडिदेखि समुद्री शैवाल (सी विड), जलेको समुद्री स्पोन्जलाई अवशोषित गर्ने प्रक्रियाबाट शरीरमा गलगाँडका आकार घटाइरहेकै थिए । यस्तो लाभदायक प्रविधिको सुरुवाती चरणले संसारमा पहिलो पटक गलगाँडको आकार घटाउने जग बसालिसकेको थियो ।

एसियाली (पूर्वेली) सभ्यताको उर्वर भूमियुक्त चिनियाँ परम्परागत समुद्री आयुर्वेदिक प्रणालीको पदचिह्न पछ्याउँदै ग्रिसेली फिजिसियन हिप्पोक्रेट्स (जन्मः ई.पू. ४६०) ले पनि गलगाँडको आकार घटाउने मेडिसिनलाई अनुसरण नगरी सुखै पाएनन् । पश्चिमा सभ्यताको उर्वर भूमियुक्त ग्रिसेली हिप्पोक्रेटिक पदचाप पछ्याउँदै जे.एफ. कोइन्डेटलगायतका वैज्ञानिकले पनि यसअघि गलगाँडको उपचारका लागि जलेको स्पन्ज, समुद्री शैवालको प्रयोग नगरेका होइनन् । बर्नाड कुर्टोइस, कोइन्डेट, गे–लुस्साकलगायतका वैज्ञानिकको सन् १८११ देखि सन् १८१३ सम्मको अनुसन्धानका बाबजुद चातुर्यतापूर्वक आयोडिनलाई नयाँ तत्वका रूपमा परिभाषित गरेकै हुन् । उनीहरूले समुद्री आयोडिनबाट गलगाँडलगायतका स्वास्थ्य समस्या निदान गर्न सकिने लाभदायक निष्कर्ष निकाले । यस्तो समस्या देखेपछि सन् १८३० मा जिन बापटिस्टलगायतका वैज्ञानिक, चिकित्सकले सोडियम र क्लोराइडको कम्पोजिसनमा आयोडिनको आवश्यक मात्रा मिसाएर दैनिक खाद्य वस्तुमार्फत मानिसलाई आयोडिनयुक्त नुन वितरण गर्न सिफारिस गरे । जोसेफ ब्रानलीले सन् १८३२ मा गलगाँडको उपचारमा आयोडिनको प्रयोग गर्न सकिने उपाय सुझाए । नुनमा आयोडिन हालेर हाम्रो देशको तराई क्षेत्रका कतिपय बासिन्दाको शरीरमा देखिएको आयोडिन डिफिसेन्सी डिसअर्डरको उपचार गर्न सुरु पनि गरियो ।

संयुक्त राज्य अमेरिकाको उत्तर–पश्चिम क्षेत्रमा पनि गलगाँड (गोइटर) बेल्ट रहेको तथ्य सन् १९२० मा बाहिरियो । चीन, भारतलगायतका देशमा बसोबास गर्ने कतिपय मानिसमा पनि गलगाँडलगायतका स्वास्थ्य समस्या देखिएको थियो । डेभिड कोभीले सन् १९२२ मा नुनमा आयोडिन हालेर आयोडिन डिफिसेन्सी डिसअर्डर हटाउन सकिने अमेरिकी सरकारसमक्ष प्रस्ताव राखे । प्रस्ताव पारित भयो । त्यसपछि अमेरिकालगायत विश्वका धेरै देशले यसलाई लागु गरे । 

नेपालको हिमालय सीमा वारिपारिका भेगमा प्राप्त रकसाल्टको खानीबाट प्रशोधित नुन अथवा प्राचीन समुद्री बेल्टबाट प्रशोधित नुन नेपालीले सेवन गर्दै आइरहेका थिए । त्यो समयमा ढिके नुनमा भएको आयोडिन नष्ट हुन नदिने अहिलेको जस्तो वैज्ञानिक उपाय भएनन् । लामो समयदेखि खुला बोरामा नुन ल्याउने परम्परागत शैलीले निरन्तरता पाउँदै आयो । नुनले भरिएको बोराको मुखलाई खुला राखिन्थ्यो । त्यसो हुँदा घाम आदिले नुनमा रहेको आयोडिन उडेर जान्थ्यो । परिणामतः आयोडिनको अभावले कतिपय नेपालीलाई गलगाँड, सुस्त मनस्थिति, लठेब्रोपनालगायतका स्वास्थ्य समस्या भए । नेपाल जस्तै पाकिस्तान, भारतको उत्तरी भाग, भुटान जस्ता हिमाली देशमा आयोडिनको कमी हुने भएकाले यस क्षेत्रका मानिसको स्वास्थ्यमा ‘आयोडिन डिफिसेन्सी डिसअर्डर’ भएको भनी हिमाली क्षेत्रलाई ‘हिमालयन गोइटर बेल्ट’ टर्मिनोलोजीबाट सम्बोधन गर्ने मौका पाए ।

आयोडिनयुक्त नुन धेरै खाँदा समस्या 

नेपाल सरकारको पहिलो पब्लिक प्राइभेट पार्टनरसिप मोडेल संस्थाका रूपमा ‘आयोडाइज्ड कमन साल्ट’ उपलब्ध गराउने उद्देश्यले १३ सेप्टेम्बर १९६३ मा भारतबाट आयोडिनयुक्त नुन आपूर्ति गर्ने गरी साल्ट ट्रेडिङ कर्पोरेसनको स्थापना भयो । यसले नियमित रूपमा भारतमा आयोडिन हालिएको नुनलाई प्याकेजिङ गरी नेपालमा आपूर्ति गर्दै आइरहेको छ । अहिले नेपाल सरकारले नुनमा ५० पार्टस परमिलियन (पिपिएम) आयोडिनको मात्रा हालेर आयोनुन उपलब्ध गराइरहेको छ । 

हाम्रो सरकारले सन् १९७० मा देशमा आयोडिन डिफिसेन्सी डिसअर्डर रहेको तथ्य सार्वजनिक गर्दै सन् १९७३ मा पहिलो नेसनल आयोडिन डिफिसेन्सी डिसअर्डर कन्ट्रोल प्रोग्राम चलायो । सरकारले सन् १९७९ मा युनिसियफको सहयोगमा आयोडाइज्ड इन्जेक्सन दिन सुरु गर्‍यो । 

भारत सरकारले सन् १९८४ देखि दिल्लीमा आयोडिनरहित नुन बिक्रीमा प्रतिबन्ध लगाउने अधिसूचना जारी गर्‍यो । सन् १९९३ मा आयोडिनको कमीबाट हुने स्वास्थ्य समस्या रोक्न नुनमा आयोडिन हाल्नुपर्ने सरकारी आदेश जारी भयो । चीन सरकारले पनि सन् १९९५ मा आयोडिनयुक्त नुनको प्रयोगलाई अनिवार्य गर्‍यो । नेपालमा सन् १९९८ मा लागु भएको ‘आयोडाइज्ड साल्ट एयक्ट’ ले खाने नुनमा अनिवार्य आयोडिन हालेको हुनुपर्ने व्यवस्था गर्‍यो । यो समयमा ढिके नुन खाँदा गलगाँड आउँछ भनी गलत प्रचारबाजी गरिएको कतिपय सरोकारवालाको बुझाइ छ । 

राज्य संयन्त्रले यो बुझाउन चाहेन वा सकेन कि ढिके नुन खाएकै कारणले गलगाँड आउने होइन, गलगाँड आउनुभन्दा अगाडि नै खुला ढिके नुनमा भएको आयोडिन नष्ट नहुने गरी वा ढिके नुनमा आयोडिनको आवश्यक मात्रा हालेर सेवन गर्दा गलगाँडलगायतका समस्या समाधान हुन्छ भन्ने बोध नेपाली उपभोक्तालाई नगराइएको हुन सक्छ । वर्षा, हिउँ, भिरालो जमिनी भूभाग आदिका कारणले नेपालमा अक्सर पहाडी तथा तराई भूभागको माटो रहेको आयोडिन पखालिन्छ, त्यस्तो खाले माटोमा आयोडिन उपलब्ध हुन नसक्ने विज्ञहरू बताउँछन् । 

देशको भौगोलिक बनोट, वातावरणीय कारणले खाद्यवस्तुमा आयोडिन पर्याप्त नहुने पोषणविद् बताउँछन् । सन् १९९० को दशकमा नेपालका लागि उच्च आयोडिन स्तर अनिवार्य गरेको थियो । किनकि त्यो समयमा नुनको ढुवानी र भण्डारण गर्दा लामो समय लाग्दथ्यो । नुनलाई मानिस र जनावारको पिठिउँमा बोक्दा त्यो समयसम्म आयोडिनको केही मात्रा घट्न सक्थ्यो । मूलतः देशका दुर्गम क्षेत्रका बजारमा नुन त पुग्यो तर अहिले देशका कुनाकाप्चासम्म सडक पुगेपछि ढुवानीको समय निकै कम लाग्न गई आयोडिन पनि छिट्टै नष्ट हुन नपाउने हुँदा नुनमा त्यस्तो उच्च मात्रामा आयोडिनको आवश्यकता नरहन सक्छ भनी कतिपय चिकित्सक बताउँछन् । 

हाम्रो एक सरकारी सर्वेक्षण, २०१६ को प्रतिवेदनले नेपालको ६७.५ प्रतिशत हाउसहोल्डमा चाहिने सङ्ख्याभन्दा धेरै आयोडिन खाइरहेको तथ्य बाहिरियो । यसबाट त्यो जनसङ्ख्यालाई थाइराइड डिसअर्डरको समस्या बढ्न थालेको आशङ्का थियो । त्यसो त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको अर्को एक अध्ययनमा पनि नेपालीले खाने गरेको नुनको मात्रा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेभन्दा बढी रहेको देखिएको चर्चा चलेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले प्रतिव्यक्ति पाँच ग्राम (लगभग दुई ग्राम सोडियम) भन्दा कम नुन सेवन गर्न सिफारिस गरेको कतिपय विज्ञ बताउँछन् । यसले आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा १५ पिपिएमदेखि ४० पिपिएमसम्मको मापदण्ड तोकेको उनीहरू सम्झिन्छन् । हाम्रो देशको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड, २०८० ले आयोडिनयुक्त आयोडिनको मात्रा उत्पादन स्तरमा ५०.० मिलिग्राम प्रतिकिलोग्राममा नघटेको तथा खुद्रा बिक्री स्तरमा ३०.० मिलिग्राम प्रतिकिलोग्राममा नघटेको (जलांशरहित आधारमा गणना गर्दा) आयोडिन हुनुपर्ने निर्धारित मापदण्ड रहेको पोषणविद् सम्झिन्छन् । 

भारतमा सरदर ३० मिलिग्राम प्रतिकिलोग्राम आयोडिन राख्ने गरेको बुझिन्छ । हाम्रो देशमा पहिले पहिले शरीरका लागि चाहिने आयोडिनको मात्रा कम भएर गलगाँडलगायतका स्वास्थ्य समस्या देखा परे । अहिले नेपाली शरीरका लागि चाहिने आयोडिनयुक्त नुन आवश्यकताभन्दा बढी सेवन गरियो भने पनि थाइराइडलगायतका स्वास्थ्य समस्या हुँदोरहेछ । यो ग्यापमा नेपाली विधि–विधातामाझ मानवीय संवेदनामा आधारित एउटा यस्तो गम्भीर सामाजिक प्रश्न खडा हुँदै आएको छ : हामीले अहिले खाइरहेको आयोडिनयुक्त नुनमा आयोडिनको मात्रा बढीमा कति मिलिग्राम प्रतिकिलोग्राम हुनुपर्ने हो ? आयोडिनयुक्त नुनको अनिवार्य गुणस्तर मापदण्डमा तोकिएको देखिँदैन । त्यस कारण शरीरमा आयोडिनयुक्त नुनजन्य जैविक–रासायनिक सन्तुलनको उपयुक्त मात्रामा गडबडी आउँदा स्वास्थ्य समस्या पैदा हुने गरेको नेपाली समाजले महसुस गर्दै आएको छ । अतः वैज्ञानिक एवं चिकित्सकीय जैविक–रासायनिक खाद्यवस्तुको उपयुक्त मात्रात्मक सन्तुलन मिलाइ आहार, विहार, विचार, व्यवहारमा ध्यान नदिई नहुने रहेछ । 

वैज्ञानिकका अनुसार आयोडिन समुद्र र जमिनबाट प्राप्त हुन्छ । समुद्री नुनमा आयोडिन हुन्छ । समुद्री आयोडिनका आयोनहरू बाफ बनेर आकाशमा उड्छन् । आकाशबाट पानीसँगै पुनः त्यो आयोडाइज्ड जमिनमा झर्छ । आयोडिन चव्रmबाट जमिनमा पनि आयोडिन मिसिन्छ । यसरी आयोडिन मिसिएको जमिनमा उत्पादित अन्नमा पनि केही परिमाणमा आयोडिन हुन्छ । समुद्री राष्ट्रमा बस्ने मानिसले केही आयोडिन नुनबाट, केही आयोडिन जमिनमा उत्पादित खाद्य वस्तुबाट प्राप्त गर्छन् । भूपरिवेष्ठित राष्ट्र एवं भिरालो भूगोलवासी नेपालीका लागि त्यसरी प्राकृतिक रूपमा प्रत्यक्ष आयोडिन प्राप्त गर्न कठिन छ । 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित ओलाङ्चुङ्गोलादेखि दार्चुलाको व्यास गाउँपालिकासम्मको उत्तरी हिमाली सभ्यतालाई नेपालको ‘हिमाली रिमल्यान्ड’ मानिन्छ । हिमालीवासी वालुङ, तोप्केगोला, ल्होमी, भोटे, शेर्पा, निस्याङ्वा, ल्होवा, डोल्पो, न्यिन्वा, मुगाली, कर्मारोङ, व्यासीसौकालगायतका नेपालीले हिमालय सीमापार गरी देशबाट अन्न, मसला, कपडा, हस्तकलाका सामान, चक्कु आदि तिब्बत लाने गर्थे । सोको सट्टामा तिब्बतबाट ढिके नुन, उन, सुन, घोडा, याक लिएर नेपाल आउँथे । यसरी हिमालय सीमा वारिपारिका क्षेत्रमा बार्टर प्रणालीबाट व्यापार व्यवसाय चल्ने गरेको थियो । 

हिमालवासी नेपालीले तिब्बतबाट नेपालमा ल्याएको त्यो नुनलाई हिमाली भेगको तल्लो भिराला बस्ती, पहाडी भेग, समथर तराई भेगका बजारसम्म लगेर बिक्रीवितरण गरिन्थ्यो । यो क्रम सन् १८५० भन्दा अगाडिसम्म चल्यो । यसरी भोट तिब्बत क्षेत्र, जडान क्षेत्र, खसान क्षेत्रका समुदायबिच नुनसँग जोडिएको ‘तराली मगर’ लगायतका इष्टमित्रको स्थानीय साइनो सम्बन्ध ‘नेहचाङ’ प्रणालीले तत्कालीन नेपाली हिमालय नुन सभ्यतालाई बलियो बनाएको मानवशास्त्रीको धारणा छ । त्योबेला हिमालवासीले तिब्बतमा लगेर आफ्नो खाद्यवस्तुसँग नुन साट्नुपर्ने भएकाले नेपालमा खाद्यवस्तुको अभाव हुँदा नुन सटही गर्न समस्या रहेको तत्कालीन सरकारी प्रतिवेदन सार्वजनिक भएथे । नेपाल–चीन (तिब्बत)– भारत त्रिदेशीय त्रिपक्षीय आन्तरिक तथा बाह्य राजनीतिक, कूटनीतिक, प्राविधिक आदिका कारण नेपालबाट तिब्बती नुन विस्थापित भयो । त्यसमाथि मुद्रा विनिमय प्रणालीले सन् १८५० भन्दापछि वस्तु विनिमय (बार्टर) प्रणालीलाई बिस्तारै विस्थापित गर्दै लग्यो । यद्यपि वस्तु विनिमय प्रणालीले कम मात्रामा भए पनि स्थानीय रूपमा निरन्तरता पाई नै रह्यो । नेपालमा स्थानीय भोट (तिब्बत) नाकाबाट व्यावहारिक रूपमा धेरथोर परिणाममा नुन आउन रोकिएन । यस्तो हिमाली नुन–चक्रमा आबद्ध हिमालवासी, पहाडवासी, तराईवासी नेपाली नेपालीबिचको आन्तरिक सम्बन्धबाट विकास भएको पवित्र ‘हिमाली सभ्यता’ थियो । 

नेपालमा नुन खानी 

मुस्ताङ जिल्लाको बाह्रगाउँ मुक्ति क्षेत्र गाउँपालिका–३ स्थित नर्सिङखोलामा करिब दुई वर्गकिलोमिटर क्षेत्रफलमा रहेको नुनखानी प्रसिद्ध छ । प्राचीनकालमा यो नुन देशका प्रायः अधिकांश भागमा पुग्ने गरेको नुनसँग सम्बद्ध कतिपय विज्ञ बताउँछन् । म्याग्दी जिल्लाको तातोपानी कुण्ड आसपासमा पनि नुनखानी छ । त्यसै गरी देशका अन्य ठाउँमा पनि हुन सक्छन् । स्वदेश तथा विदेशबाट उपलब्ध नुनमा मानव स्वास्थ्यमैत्री आयोडिनको सन्तुलित मात्रा र नियमित खाद्यवस्तुमा सन्तुलन मिलाएर आयोनुनको सेवन गर्नु सुस्वास्थ्य रहने उपाय हुन सक्छ ।