• १७ असार २०८२, मङ्गलबार

कोषको अभावले खाद्य सहायतामा कटौती गर्न बाध्य तुल्यायो : डब्लुएफपी

blog

रोम, असार १७ गते । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले कोषको गम्भीर अभावले जीवन बचाउने खाद्य सहायतामा कडा कटौती गर्न बाध्य पारेको भन्दै छिमेकी देशहरूमा भागेका लाखौँ सुडानी शरणार्थीहरू भोकमरी र कुपोषणमा गहिरो डुब्ने जोखिम रहेको चेतावनी दिएको छ ।

डब्लुएफपीले अन्तर्राष्ट्रिय समुदायलाई सुडानका शरणार्थी र उनीहरूलाई समर्थन गर्ने आयोजक समुदायका लागि खाद्यान्न र पोषण सहायता कायम राख्न थप स्रोत परिचालन गर्न आग्रह गरेको छ । राष्ट्रसङ्घीय एजेन्सीले सात छिमेकी देशमा भागेका शरणार्थीहरूलाई आपत्कालीन सहायता प्रदान गर्न तुरुन्तै परिचालन गर्दा निरन्तर खाद्य सहायता चाँडै उपलब्ध कोषभन्दा बढी आवश्यक रहेको जनाएको छ ।

आगामी छ महिनासम्म छिमेकी देशहरूमा सुडानी शरणार्थीका लागि आपत्कालीन प्रतिक्रिया कायम राख्न डब्लुएफपीलाई २० करोड अमेरिकी डलरभन्दा बढी आवश्यक रहेको औँल्याउँदै एजेन्सीले स्रोत अभावका कारण सहयोग आगामी महिनामा रोक्न सक्ने चेतावनी दिएको छ । एजेन्सीका अनुसार सुडानभित्रका सबैभन्दा कमजोरका लागि जीवन बचाउने कार्यका लागि थप ५७ करोड ५० लाख डलर आवश्यक छ ।

“सुडानबाट भागेका लाखौँ मानिस पूर्णरूपमा डब्लुएफपीको समर्थनमा निर्भर छन्, तर थप कोषबिना हामी खाद्य सहायतामा थप कटौती गर्न बाध्य हुनेछौँ । यसले कमजोर परिवारहरू र विशेष गरी बच्चालाई भोकमरी र कुपोषणको बढ्दो गम्भीर जोखिममा छोड्ने छ”, सुडान क्षेत्रीय सङ्कटका लागि डब्लुएफपीका आपत्कालीन संयोजक शन ह्युजले भन्नुभयो, “अन्ततः, मानवीय सहयोगले मात्रै द्वन्द्व र जबरजस्ती विस्थापनको अन्त्य गर्न सक्दैन-राजनीतिक र विश्वव्यापी कूटनीतिक कार्य युद्धको अन्त्य गर्न तत्काल आवश्यक छ ताकि शान्ति र स्थिरता फिर्ता हुन सकोस् ।”

सन् २०२३ अप्रिल १५ मा सुडानी सशस्त्र बल र द्रुत समर्थन बलहरू बिच द्वन्द्व सुरु भएदेखि सुडानले ठुलो विस्थापन सङ्कटको अनुभव गरेको छ, लाखौँ मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् । यसलाई विश्वको सबैभन्दा खराब विस्थापन सङ्कट बनाएको संयुक्त राष्ट्रसङ्घको रिपोर्टले जनाएको छ । रासस/क्युएनए