• १७ असार २०८२, मङ्गलबार

क्यान्सरमा बहुऔषधी उपचार

blog

क्यान्सर रोगीको सङ्ख्या विश्वमा बढ्दो छ । थरी थरीका क्यान्सरले धेरैलाई सताइरहेको छ । क्यान्सर लाग्ने कतिपय कारण अझै पनि स्पष्ट छैन तर खराब जीवनशैली र खानपान नै धेरै खालको क्यान्सरको कारण बनिरहेको छ । 

क्यान्सर रोगीको सङ्ख्यामा वृद्धिसँगै क्यान्सरको उपचारबारे निरन्तर खोजी भइरहेको छ । नयाँ नयाँ उपचार प्रविधिको विकास पनि भइरहेको छ । क्यान्सरको उपचारमा प्रयोग हुने केमोथेरापी, रेडियोथेरापीका बारेमा त धेरैलाई थाहा छ तर क्यान्सरको उपचारका लागि अन्य विभिन्न औषधी र प्रविधिको विकास पनि भएका छन् । 

केमोथेरापी, हर्मोनल थेरापी, टार्गेटेड थेरापी, इम्युनोथेरापी, कार–टी सेल थेरापी र बोनम्यारो (हड्डीभित्र हुने मासी) प्रत्यारोपण सबै क्यान्सरको उपचारमा प्रयोग हुने प्रणालीगत थेरापी अन्तर्गत पर्छन् ।

केमोथेरापी : केमोथेरापी क्यान्सरको उपचारमा प्रयोग हुने सबैभन्दा सामान्य उपचार पद्धति हो । क्यान्सर कोषिकाहरू नष्ट गर्न केमोथेरापी प्रयोग गरिन्छ । केमोथेरापीले क्यान्सर कोषिकाहरू फैलिनबाट रोक्छ । केमोथेरापीले अन्य कोषलाई बनाउन, बढ्न र विभाजित गर्नबाट रोकेर काम गर्छ । किनभने क्यान्सरका कोष आमरूपमा सामान्य कोषको तुलनामा तीव्र रूपमा बढ्छ र विभाजित हुन्छ । 

टार्गेटेड थेरापी : उपचारको प्रभावकारिता बढाउने यस तरिकामा क्यान्सर कोषिकाका विशेष परिवर्तनलाई लक्षित गर्ने औषधीहरू प्रयोग गरिन्छ । टार्गेटेड थेरापीका औषधीले क्यान्सर कोषिकाको विकास प्रक्रियालाई लक्षित गरेर नियन्त्रण गर्छन् । यी औषधी क्रोनिक माइलो ल्युकेमिया (रक्त क्यान्सर), पाचन नलीका केही क्यान्सर र फोक्सोको क्यान्सरलगायतका क्यान्सरमा प्रभावकारी हुन्छन् । साथै ल्युकेमिया, स्तन क्यान्सर र मिर्गौलाको क्यान्सरसहित अन्य धेरै क्यान्सरको उपचारमा टार्गेटेड थेरापी उपयोगी हुन सक्छ ।

इम्युनोथेरापी : यी नवीनतम उपचार विधिमा क्यान्सर कोषलाई मार्न हाम्रो प्रतिरक्षा प्रणालीका कोषिका विशेष गरी टी–कोषिका (टी सेल) लाई प्रयोग गरिन्छ । टी–कोषिका सेता रक्तकोषिकामध्येको एक विशेष प्रतिरक्षा कोषिका हो । यसले क्यान्सर कोषिकालाई पहिचान गर्छ र मार्छ । क्यान्सर कोषिकाले सामान्य कोषिकाको तुलनामा कि उत्परिवर्तित (म्युटेटेड) प्रोटिन बनाउँछन् कि सामान्य प्रोटिन नै असामान्य मात्रामा बनाउँछन् । 

त्यस्ता प्रोटिनबाट नवप्रतिजिन बन्छन् र टी–कोषिकाले तिनै नवप्रतिजिनका आधारमा क्यान्सर कोषिकालाई सामान्य कोषिकाबाट छुट्याउन सक्छन् । त्यसपश्चात् टी–कोषिकाले क्यान्सर कोषविरुद्ध प्रतिरक्षा प्रतिक्रिया जनाउँछन् तर क्यान्सरको विकास तथा विस्तारसँगै टी–कोषिकाको क्यान्सर पहिचान गर्ने तथा नष्ट गर्ने क्षमतामा शिथिलता आउँछ । इम्युनोथेरापी विधिमा यसरी शिथिल भएका टी–कोषिकालाई पुनः जागृत बनाई क्यान्सरलाई परास्त गरिन्छ । 


हाल क्यान्सर उपचारमा विशेष गरी दुई प्रमुख इम्युनोथेरापी मोडालिटी स्वीकृत गरिएका छन् । पहिलो हो रोगीबाट प्रतिरक्षा प्रणालीका टी–कोषिका अलग्याएर प्रयोगशालामा क्रिस्पर प्रविधि प्रयोग गरी आनुवंशिक परिमार्जन गरिन्छ । जसले गर्दा टी– कोषिका क्यान्सर कोषिकालाई चिन्न मात्र हैन मार्न पनि सक्षम हुन्छन् । यसरी परिमार्जन गरिएका टी–कोषिकालाई पुनः बिरामीको रक्त सञ्चारमा समाहित गराइन्छ । ती क्यान्सरलाई नष्ट गर्न सक्षम हुन्छन् । यस प्रकारको उपचारलाई ‘कार–टी थेरापी’ भनिन्छ । जुन रक्त क्यान्सरमा निकै फाइदाजनक साबित भएको छ । 

अर्को हो क्यान्सर कोषिकालाई मार्न असमर्थ भएका हाम्रा शरीरका टी–कोषिकालाई बाहिरबाट एन्टिबडीमा आधारित औषधी पठाएर फेरि क्यान्सरलाई मार्न सक्ने बनाइन्छ । यस्तो प्रकारको इम्युनोथेरापीलाई ‘इम्युन चेकप्वाइन्ट ब्लकेड थेरापी’ भनिन्छ ।

जतिखेर पनि टी–कोषिका सक्रिय हुनु शरीरका लागि हानिकारक हुन्छ । यस्तो अवस्थामा प्रतिरक्षा प्रणालीले आफ्नै शरीरका सामान्य कोषिकाविरुद्ध स्वतः प्रतिक्रिया देखाएर तिनलाई मार्न थाल्छन् । प्रतिरक्षा प्रणालीको अधिक सक्रियता रोकी सन्तुलनमा राख्न हाम्रो शरीरले एक संयन्त्र विकास गरेको छ । क्यान्सर कोषले त्यो संयन्त्रलाई बसमा पारेर क्यान्सरको विस्तार र वृद्धिमा प्रयोग गर्छ । 

खासगरी क्यान्सर कोषको सतहमा पाइने पिडी वन प्रोटिनसँग टी–कोषिकाको सतहमा पाइने पिडी वन प्रोटिनले अन्तर्क्रिया गर्दा टी–कोषिकाले अवरोध सङ्केत पाउँछन् । जसले टी–कोषिकामा निष्क्रियता निम्त्याउँछ । ‘इम्युन चेकप्वाइन्ट ब्लकेड थेरापी’ मा टी–कोषिकाको सक्रियतामा अवरोध सङ्केत सिर्जना गर्ने प्रोटिनलाई बाह्य एन्टिबडीको सहयोगमा अन्तर्क्रिया गर्न दिइँदैन र टी–कोषिकाको क्यान्सर विरोधी कार्य  पुनः स्थापित गरिन्छ । 

कार–टी सेल थेरापी : कार–टी सेल एक विशेष उपचार पद्धति हो । जुन रक्तक्यान्सरका बिरामीमा निकै प्रभावकारी देखिएको छ । यसमध्ये ‘कार’ को विस्तृत रूप काइमेरिक एन्टिजेन रिसेप्टर हो भने ‘टी’ चाहिँ एक प्रकारको श्वेत रक्तकोषिका हो । 

रगतमा पाइने तीन प्रकारका कोषिका (रातो, श्वेत र प्लेटलेट्स) मध्ये श्वेत रक्तकोषिका शरीरको प्रतिरक्षा प्रणालीसँग सम्बन्धित छ । कार–टी सेल थेरापी बिरामीकै शरीरभित्र रहेको ‘टी’ नामक प्रतिरक्षक कोषको प्रयोग गरेर उपचार गरिने प्रविधि हो । 

शरीरभित्र खासगरी रक्त प्रणालीमा हुने ‘टी’ कोषलाई निकालेर प्रयोगशालामा जेनेटिक इन्जिनियरिङ गरी क्यान्सर चिनेर त्यसविरुद्ध क्रियाशील हुन सक्ने बनाएर बिरामीको शरीरभित्र पठाइन्छ र त्यसले क्यान्सरलाई मार्न सक्छ ।

हर्मोन थेरापी : केही क्यान्सर शरीरमा उत्पादन हुने हर्मोनमा भर पर्ने हुन्छन् । त्यस्ता प्रकारका क्यान्सरमा हर्मोनको प्रयोग गरिन्छ । जसले गर्दा ती क्यान्सरको वृद्धि रोकिन्छ । यो उपचारले शरीरमा हर्मोनको मात्रा बदल्छ ।

हर्मोन शरीरमा स्वाभाविक रूपले उत्पादन हुन्छ । यसले केही कोष वा अङ्गको गतिविधिलाई नियन्त्रण गर्नमा मद्दत गर्छ । हर्मोनको स्तरले कैयौँ प्रकारको क्यान्सरलाई नियन्त्रित गर्ने भएकाले चिकित्सकले हर्मोन थेरापी उपयोग गर्छन् । यसमा केही स्तन र प्रोस्टेट क्यान्सर समावेश छन् ।

बोनम्यारो प्रत्यारोपण : रोगको प्रकृति हेरी कुनै रोगलाई औषधी चलाउनु पर्छ भने कुनै रोगलाई बोनम्यारो प्रत्यारोपण नै गर्नु पर्छ । केमोथेरापीबाट निको नहुने रक्तक्यान्सरको उपचार बोनम्यारो (हड्डीभित्र हुने मासी) प्रत्यारोपणबाट गरिन्छ । शरीरमा भएको क्यान्सर आक्रान्त बोनम्यारोलाई नष्ट गरेर अर्को स्वस्थ बोनम्यारो राख्ने प्रक्रिया नै बोनम्यारो प्रत्यारोपण हो ।   

–युवामञ्च  

Author

प्राडा सुमनराज ताम्राकार