• १३ असोज २०८१, आइतबार

ढोलठाना दरबारमा पूर्वाधार निर्माण

blog

ऐतिहासिक स्थल ढोलठानामा निर्माण गरिएका पूर्वाधार । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  

म्याग्दी (बेनी), असार १२ गते । म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहासिक ढोलठाना दरबारमा पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । विसं १६३१ देखि १८४३ सम्म यहाँ पर्वत राज्यको राजधानी रहेको इतिहास छ । ऐतिहासिक महत्वको ढोलठानाको संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको हो । ढोलठाना दरबार बेनीको शिरमा पर्दछ । ढोलठाना दरबारको संरक्षण र पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत १० लाख र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीमार्फत १० लाख गरेर २० लाख रुपियाँको बजेटमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । 

पुरानो दरबार रहेको ठाउँमा मौलिक सिप, कला र स्रोतसाधनको प्रयोग गरेर विश्राम तथा दृश्यावलोकन स्थल, पदमार्ग र प्रवेशद्वार निर्माण गरिएको छ । दरबार प्रवेश गर्नका लागि ढुङ्गाको प्रयोग गरेर मौलिक सिपबाट आकर्षक किसिमको प्रवेशद्वार बनाइएको छ । उपभोक्ता समितिका सचिव याम विश्वकर्माले भन्नुभयो, “हामीले ढोलठाना दरबार क्षेत्रमा स्थानीय मौलिक सिप र कला प्रयोग गरेर पूर्वाधार निर्माण गरेका छौँ । दरबार क्षेत्रमा प्रवेशका लागि ढुङ्गाबाट निर्मित प्रवेशद्वार बनाएका छौँ । यो प्रवेशद्वार नयाँ मोडेलको भएकाले यहाँ आउने पर्यटक दङ्ङ परेर अवलोकन गर्ने गरेका छन् । अबको दुई हप्ताभित्र निर्माणको काम सक्ने तयारी गरेका छौँ ।” उहाँका अनुसार ढुङ्गा र माटोको प्रयोग गरेर दुई सय मिटर सिँढी चिनेको पदमार्गका साथै उद्यान र बसेर दृश्यावलोकन गर्न ढुङ्गाको सिँढीसहितको विश्रामस्थल बनाइएको छ । 

प्रदेश सरकारकै थप १० लाख बजेटबाट उद्यान परिसरलाई संरक्षण गर्न टेवा पर्खाल निर्माण गरिएको छ । ढोलठानालाई पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य अनुसार यसअघि ३० लाख बजेटबाट सडक, पदमार्ग, उद्यान, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण भएको बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्रबहादुर केसीले जानकारी दिनुभयो । ढोलठानामा थप पूर्वाधार निर्माणका लागि डिपिआर बनाएर अगाडि बढेको उहाँले बताउनुभयो । पुराना अभिलेख तथा चिनारीको संरक्षण गरेर राख्न सङ्ग्रहालय बनाउने योजना रहेको उहाँले बताउनुभयो । तत्कालीन राजा बम मल्लको समयमा विसं १६३१ देखि राजा हिउँदका चार महिना बेनी र अरू आठ महिना ढोलठानामा बसेर तत्कालीन पर्वत राज्य सञ्चालन गरेको इतिहास भएकाले संरक्षण गरेर पर्यटकीय स्थलका रूपमा विकास गर्ने उद्देश्य रहेको वडाध्यक्ष केसीले बताउनुभयो । 

ढोलठानालाई पर्यटकीय स्थलका रूपमा विकास गर्न पछिल्ला केही वर्षयता ५० लाख रुपियाँभन्दा बढीको पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाले गलेश्वरदेखि घतान हुँदै ढोलठाना जोड्ने पदमार्ग बनाउने योजना अघि सारेको उहाँको भनाइ छ । पर्वत राज्य नेपालमा विलय भएको विसं १८४३ सम्म ढोलठानामा सो राज्यको राजधानीका रूपमा रहेको तथ्य फेला परेका छन् । स्थानीयवासी रामचन्द्र परियारले भन्नुभयो, “उद्यान निर्माणका क्रममा भेटिएका प्राचीन सामग्री सुरक्षित रूपमा राखेका छौँ । तत्कालीन दरबार निर्माणमा प्रयोग भएका काठ, चटनी र नुन पिस्ने सिलौटो, झिँगटी, घरका पिल्लर र इँटा भेटिएका छन् ।”  

समुद्री सतहदेखि एक हजार ८८० मिटर उचाइमा अवस्थित ढोलठानाबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरिलगायत दर्जनौँ हिमाल, सूर्योदयको मनमोहक दृश्यको अवलोकन गर्न सकिन्छ । साथै कालीगण्डकी, म्याग्दी नदी र पर्वत, बागलुङका रमणीय भूभाग अवलोकन गर्न सकिन्छ । बेनीदेखि ढोलठानासम्मको सडक स्तरोन्नति गरी सहज बनाए यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने स्थानीयले आशा गरेका छन् ।